‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आफ्नो सरकारी निवासमा प्रहरी प्रवेश गरेको घटनाबारे मंगलबारको प्रदेशसभा बैठकलाई जानकारी दिएका छन् । उनले घटनाको विवरण प्रस्तुत गर्दै यस कार्यमा संलग्न प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी गराएका हुन् ।
आफू विपद् व्यवस्थापन सम्बन्धी पूर्वतयारी बैठकका लागि जिल्ला बाहिर रहेका बेला विराटनगर–१, पुष्पलाल चोकस्थित आफ्नो भाडाको आवासमा प्रहरीले छापा मारेको बताए । ‘म सङ्खुवासभा र तेह्रथुममा मनसुनजन्य विपद् प्रतिकार्य योजना र पूर्वतयारी सम्बन्धमा जिल्लाहरूले आयोजना गरेको बैठकमा सहभागी हुन असार ४ गते दिउँसो ४ बजे नै विराटनगरबाट धनकुटा प्रस्थान गरेको थिएँ । म धनकुटामै रहेको समयमा असार ४ गते राति ८ः४५ बजेको समयमा यो घटना भएको हो,’ उनले भने ।
मन्त्री पराजुलीले राति १० बजेपछि मात्र आफ्नो सचिवालयमार्फत घटनाबारे जानकारी पाएको बताए । उनका अनुसार सो समयमा उनका सहयोगी र पीएसओ खाना खान बाहिर गएका थिए भने निवासको गेट लगाइएको थियो ।
‘राति १० बजेर १० मिनेट जाँदा मलाई निजी सचिव लीलबहादुर थापाले फोन गर्नुभयो । उहाँले हामी बसेको मन्त्रालयको क्वार्टरमा अपरिचित मान्छेहरू छिरेको र दौडधुप गरिरहेको सूचना छिमेकीले दिएको कुरा सुनाउनुभयो । त्यसपछि छिमेकीहरूले सोधपुछ गर्दा उनीहरूले आफूलाई सुरक्षाकर्मी बताएका थिए । छिमेकीहरूले यो त मन्त्रीको निवास हो, तपाईंहरू के गर्दै हुनुहुन्छ ? भनी सोधेपछि अन्य युनिफर्म लगाएका प्रहरीहरू पनि त्यहाँ आइपुगे र उनीहरू त्यहाँबाट निस्किए,’ पराजुलीले भने ।
घटना सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी प्रमुख (एसपी) आफैँ घटनास्थल पुगेको र राति नै आफूसँग सम्पर्क गरी माफी मागेको मन्त्री पराजुलीले संसद्लाई जानकारी गराए । ‘राति लगभग ११ बजे जिल्लाका एसपीले मलाई फोन गर्नुभयो । उहाँले कुनै पनि जानकारी नदिई प्रहरी टोली मन्त्री निवासमा प्रवेश गर्नु गम्भीर त्रुटि भएको भन्दै क्षमायाचना गर्नुभयो । उहाँले मेरो मान्छेहरूबाट गल्ती भयो, म क्षमा चाहन्छु, यसको छानबिन गर्छु भन्नुभयो,’ पराजुलीले भने ।
मन्त्री पराजुलीले आफू विराटनगर फर्केपछि असार ८ गते मुख्यमन्त्री, प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख सहितको बैठक बसी यस विषयमा गम्भीर छलफल भएको बताए ।
‘हामीबीचको छलफलमा प्रहरी प्रमुखहरूले यो विषयलाई कारबाहीको दायरामा ल्याइसकेको र छानबिन अगाडि बढिरहेको स्पष्ट पार्नुभयो । साथै, प्रहरी कार्यालयले असार ९ गते मन्त्रालयलाई यस घटनाबारे लिखित रूपमा समेत स्पष्टीकरण र जानकारी गराएको छ,’ उनले भने ।
मन्त्री पराजुलीले यसलाई प्रहरीको कार्यशैलीगत कमजोरीका रूपमा मात्र लिन आग्रह गरे । ‘मिडियामा अनेकौँ कोणबाट मन्त्रीको निवासमा राति छापा मारिएको र मन्त्रीलाई नै आशङ्काको घेरामा राख्ने गरी समाचारहरू आए । कतिपय ठाउँमा प्रहरीले प्रदेश सरकारलाई नै कमजोर आँकेर वा त्रास फैलाउन मन्त्रीको क्वाटरमा प्रवेश गरेको हो कि भन्ने आशङ्का पनि गरियो । तर, यो कुनै नियोजित घटना नभई अपराधी खोज्ने क्रममा प्रहरीबाट भएको कार्यशैलीगत त्रुटि र समन्वयको अभाव मात्र हो,’ उनले भने ।
मन्त्री पराजुलीले संसद्लाई आश्वस्त पार्दै प्रहरीले आफ्नो गल्ती स्वीकार गरी आन्तरिक कारबाही सुरु गरिसकेकाले यस विषयलाई थप राजनीतिकरण नगर्न र सुरक्षा निकायको अनुसन्धानलाई सहयोग गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण