मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा

मङ्गलबार, ०९ असार २०८३, १७ : २२
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • इजरायलका पूर्व प्रधानमन्त्री नफ्ताली बेनेटले इरानभित्र हजारौँ स्टारलिङ्क इन्टरनेट रिसिभर तस्करी गरेको स्वीकार गरेका छन् ।
  • बेनेटका अनुसार ती उपकरणहरू इरानी प्रदर्शनकारीहरूलाई इन्टरनेट पहुँच उपलब्ध गराउन र उनीहरूलाई संगठित हुन सहयोग पुर्याउनका लागि पठाइएको थियो ।
  • उनले वर्तमान इजरायली सरकारले उक्त अभियानलाई निरन्तरता नदिएको भन्दै आलोचना गरेका छन् ।

जेरुसलेम । इजरायलका पूर्व प्रधानमन्त्री नफ्ताली बेनेटले इजरायलले इरानभित्र गोप्य रूपमा हजारौँ स्टारलिङ्क इन्टरनेट रिसिभर तस्करी गरेर पठाएको स्वीकार गरेका छन् । उनका अनुसार ती उपकरणहरू इरानी सरकारविरुद्धका प्रदर्शनकारीहरूलाई इन्टरनेट पहुँच उपलब्ध गराउन र उनीहरूलाई संगठित हुन सहयोग पु‍र्‍याउनका लागि पठाइएको थियो । 

जेरुसलेममा आयोजित जेएनएस अन्तर्राष्ट्रिय नीति सम्मेलनमा बोल्दै बेनेटले आफू प्रधानमन्त्री रहँदा उक्त योजना सुरु गरिएको बताए ।

उनले भनेका छन्, ‘मैले इरानभित्र हजारौँ स्टारलिङ्क रिसिभर खरिद गरेर तस्करीमार्फत पु‍र्याउने प्रक्रिया सुरु गरेको थिएँ, जसले इन्टरनेट र सामाजिक सञ्जालको निरन्तर पहुँच सुनिश्चित गर्ने थियो,’ । बेनेटका अनुसार ती उपकरणहरूको उद्देश्य इरानी प्रदर्शनकारीहरूलाई आपसमा सम्पर्कमा रहन, गतिविधि समन्वय गर्न तथा अन्ततः वर्तमान शासनविरुद्ध आन्दोलनलाई बलियो बनाउनु थियो । ‘दुर्भाग्यवश, अहिलेको अयोग्य इजरायली सरकारले त्यो अभियानलाई निरन्तरता दिएन । त्यसैले जब आन्दोलन सुरु भयो, आवश्यक पूर्वाधार तयार अवस्थामा थिएन,’ उनले वर्तमान इजरायली सरकारको आलोचना गर्दै भने ।

स्टारलिङ्क अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी स्पेशएक्सद्वारा सञ्चालित उपग्रह इन्टरनेट सेवा हो । इरानले विगतमा इजरायल र अमेरिकामाथि आफ्नो राष्ट्रिय सुरक्षामा हस्तक्षेप गर्न स्टारलिङ्क उपकरणहरू देशभित्र भित्रयाएको आरोप लगाउँदै आएको छ । स्टारलिङ्कलाई इरानमा आधिकारिक सञ्चालन अनुमति प्राप्त छैन । मस्कले यसअघि उक्त सेवा इरानमा प्रयोग भइरहेको बताएका थिए ।

इरानी सरकारले विगतका विभिन्न राजनीतिक संकट र विरोध प्रदर्शनका क्रममा बारम्बार इन्टरनेट पहुँच बन्द गर्दै आएको छ । यस वर्ष जनवरीमा भएको देशव्यापी विरोध प्रदर्शन तथा फेब्रुअरी अन्त्यबाट सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धका क्रममा पनि सर्वसाधारणको इन्टरनेट पहुँचमा व्यापक प्रतिबन्ध लगाइएको थियो । यस्ता अवस्थाहरूमा केही इरानी नागरिकहरूले स्टारलिङ्कमार्फत इन्टरनेट प्रयोग गरेको विवरण विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका थिए ।

दक्षिणपन्थी दलका नेता बेनेट आगामी अक्टोबरसम्म हुने अपेक्षा गरिएको चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू लाई प्रतिस्थापन गर्न खोजिरहेका प्रमुख विपक्षी नेतामध्ये एक हुन् । उनले आफू पुनः सत्तामा आए इरानी शासनलाई कमजोर पार्ने अभियानलाई तीव्र बनाउने बताएका छन् ।  ‘यदि म पुनः सरकारमा फर्किएँ भने इरानी शासनलाई कमजोर पार्ने र अन्ततः त्यसलाई पतन गराउने दिशामा काम गर्नेछु,’ बेनेटले भने । उनका अनुसार त्यसका लागि प्रत्यक्ष सैन्य आक्रमण मात्र होइन, आर्थिक तथा औद्योगिक क्षेत्रमा हुने गोप्य अवरोध र दबाबका उपायहरू पनि प्रयोग गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप