सुदूरपश्चिमकै ‘सान’ हुनुपर्ने बसपार्कको दुरवस्था

धनगढी । कैलालीको अत्तरियालाई सुदूरपश्चिम प्रदेशकै मुटु भन्दा फरक पर्दैन । नेपालका अन्य प्रदेशबाट स्थलमार्ग हुँदै सुदूरपश्चिमका जिल्लाहरूमा जानका लागि अत्तरिया नै मुख्य केन्द्र हो ।
प्रदेशका ९ जिल्लामध्ये कैलाली र कञ्चनपुर तराई भेगमा पर्दछन् । यी दुवै जिल्ला हुँदै सुदूरपश्चिमबाट मासिक हजारौँ युवा रोजगारी लगायतका लागि भारत आउजाउ गर्दछन् । प्रदेशका बाँकी ७ जिल्लाका लागि यी दुई नाकाबाट भारत जान–आउन र देशकै अन्य प्रदेशमा जान–आउन अत्तरिया हुँदै यात्रा गर्नुपर्ने बाध्यता छ । यस अर्थमा अत्तरिया सुदूरपश्चिम प्रदेशकै मुख्य द्वार पनि हो ।
भौगोलिक रूपमा प्रदेशकै यति महत्त्वपूर्ण अत्तरियामा एउटा सुविधासम्पन्न बसपार्कसमेत छैन । प्रदेशवासीकै लागि सान हुने खालको बसपार्क निर्माण गर्नुपर्ने ठाउँमा सामान्य सुविधायुक्त बसपार्कसमेत नहुनु दुर्भाग्यपूर्ण परिस्थिति रहेको स्थानीय बताउँछन् । अत्तरियास्थित बसपार्कले प्रदेशका भौतिक संरचनाको दुरावस्थालाई झल्काउने गरेको छ ।
गोदावरी नगरपालिकामा रहेको अत्तरिया बसपार्क केही वर्षदेखि विवाद, दुरावस्था र उपेक्षाको चपेटामा परेको छ । यात्रीका गुनासा, सरोकारवाला निकायबिचको तिक्तता, नेपाली सेना र नगरपालिकाबिचको भूमिसम्बन्धी विवाद र विकास योजना कार्यान्वयनमा देखिएको ढिलाइले गर्दा बसपार्कको कन्तबिजोग भएको हो ।
यो बसपार्क प्रदेशको पहिचान र प्रतिष्ठा होइन, लाजको विषय बनेको छ । सुदूरपश्चिम यातायात प्रालिका अत्तरिया शाखा इन्चार्ज शिवराज भट्टराईका अनुसार बसपार्क नभएका बेला अत्तरियाका विभिन्न चोक–चोकमा गाडी रोकिन्थे । चोकमा गाडीको भिड हुँदा बजार नै अस्तव्यस्त हुनका साथै पैदलयात्रीलाई समेत सास्ती हुने गर्दथ्यो ।
अव्यवस्थित भिडभाडका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै बजार अस्तव्यस्त भएकाले सबैतिरबाट अत्तरियामा बसपार्कको महसुस गरिएको थियो । यहाँको ठुलो यातायात व्यवसायी संस्था सुन्दर सुदूरपश्चिम यातायात व्यवसाय समितिका गाडी संख्या त्यो बेलामा अन्यको तुलनामा धेरै हुन्थ्यो । इन्चार्ज भट्टराईका अनुसार अत्तरियामा बसपार्क बन्नु समयको माग पनि थियो । त्यही कारण स्थानीयबाट बसपार्क बनाउने काम सुरू भयो ।
भट्टराई यो बसपार्कसँग जोडिएको एक दशकभन्दा बढी समय भयो । करिब १०–१२ वर्ष अगाडि अत्तरियाका स्थानीय नेतासमेत रहेका गोकर्ण भट्टको नेतृत्वमा गठित युवाको टोलीले बसपार्क निर्माणको काम सुरु गर्यो । उनीहरूको काममा सुन्दर सुदूरपश्चिम यातायात व्यवसायी समितिले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।
त्यतिबेला खाली र खाल्डो भएको जमिनमा बसपार्क बनाउने कुरा भयो । जमिनको खाल्डो पुरियो । सार्वजनिक प्रयोगका लागि बसपार्क निर्माण गर्ने काम स्थानीयस्तरबाटै भयो । त्यसबेला जग्गासम्बन्धी कुनै विवाद थिएन ।
उक्त बसपार्क २०७५ सालमा गोदावरी नगरपालिकाको मातहतमा गयो । नेपाली सेनाले त्यो जमिन आफूले २०६१ सालदेखि भोगचलन गर्दै आएको दाबी गर्दै आपत्ति जनाउँदै आएको छ ।
स्थानीय सरोकारवालाको भनाइमा त्यतिबेला जमिन सार्वजनिक उपयोगका लागि प्रयोगमा ल्याइएको थियो । सेनाको दाबी आएपछि मात्र विवाद सुरू भएको हो । गोदावरी नगरपालिका र नेपाली सेनाबिच भूमिसम्बन्धी द्वन्द्वले बसपार्कको विकास योजनामा बारम्बार अवरोध ल्याउँदै आएको छ ।
‘त्यतिबेला अहिले बसपार्क भएको जमिन सम्बन्धी केही विवाद थिएन । खाल्डो भएको खाली जमिनमा लगानी गरेर स्थानीयबाटै बसपार्क निर्माणको काम भएको थियो,’ भट्टराईले भने, ‘नगरपालिका मातहतमा गएपछि नेपाली सेनाले हाम्रो भोगाधिकारको जग्गा भन्दै आपत्ति जनाउँदा त्यहाँ थप व्यवस्थित गर्न नसकिएको अवस्था छ ।’
अत्तरिया बसपार्कमा अहिलेसम्म पिच भएको छैन । बस पार्किङको वैज्ञानिक र व्यवस्थित प्रबन्ध छैन । यहाँ यात्रीका लागि प्रतीक्षालय लगायत अन्य सुविधा पनि छैनन् । चारैतिर हिलो, फोहोरको थुप्रो, पानीका खाल्डा, अव्यवस्थित पार्किङ र सेवा सुविधा नहुँदा यो बसपार्क सुदूरपश्चिमको अनुहार होइन, समस्याको प्रतीक बनेको छ ।
बसपार्कमा भेटिएकी एक महिला यात्री पहाडतिर जाने बस कुर्दै थिइन् । रमा नाम बताउने ती महिलाले भनिन्, ‘बसका लागि दुई घण्टा पर्खनुपर्छ तर बस्ने ठाउँ छैन । चारैतिर दुर्गन्ध छ । यति प्रमुख ठाउँमा यस्तो दुर्दशा देख्दा लाज लाग्छ ।’
अर्का यात्री गणेश विष्ट अत्तरिया सुदूरपश्चिमको अनुहार भएको तर्क गर्छन् । ‘तर अनुहारमै हिलो छ,’ उनले भने, ‘बाँकी अङ्गको अब के कुरा गर्नु ?’
स्थानीय व्यापारी भीम साउदको गुनासो छ, ‘सफा ठाउँ नभएकाले ग्राहक आउँदैनन् । बसपार्कको दुर्गन्ध र अव्यवस्थाले व्यापारसमेत प्रभावित छ ।’
बसपार्कमा भेटिएका यी यात्रीले भनेजस्तै अत्तरिया बजारमा रहेको यो थोत्रो बसपार्कले बजारको सौन्दर्यता नै हराएको छ । बसपार्कमा व्यवस्थित शौचालय छैन । खानेपानी, वेटिङ स्पेस, सङ्केत बोर्ड, सूचना केन्द्र, पार्किङको उचित व्यवस्था छैन । सुक्खामा धुलोले र बर्खामा हिलोले बसपार्क अस्तव्यस्त हुन्छ ।
यात्री कला साउद बसपार्कको अवस्था देख्दा विरक्त लाग्ने बताउँछिन् । केहीबेर बस कुर्नुपर्दा विश्राम गरौँ भन्ने स्थान नभएको, केही खानका लागि पनि फोहोरका कारण घिन लाग्ने अवस्था रहेको उनको भनाइ छ ।
बसपार्क नजिकै रहेको वनमा समेत फोहोरको थुप्रो देखिन्छ । यिनै अव्यवस्थाका बिच बसपार्क क्षेत्रमा ठेला राखेर व्यापार गरिरहेका समेत भेटिन्छन् । नाक थुनेर त्यही ठेलाको नास्ता, पानी उठी–उठी खानुपर्ने अवस्था रहेको त्यहाँ भेटिएकाहरूको गुनासो छ ।
अछामतर्फ जान लागेकी मीना बोगटी भन्छिन्, ‘बस्ने ठाउँ नभएर खुट्टाको चप्पल फुकालेर ओछ्याएँ । यत्रो राजधानी तोकिएको ठाउँको बसपार्कको अवस्था यस्तो छ । उता कोहलपुरको बसपार्क कति राम्रो छ ! यताका नेतालाई लाज पनि लाग्दैन होला कि ?’
यहाँबाट प्रत्येक दिन तीनदेखि चार सय बस आवागमन हुने गर्दछ । त्यसैगरी अन्य सानातिना गाडी पनि यही बसपार्क हुँदै आउने–जाने गर्छन् । यातायात व्यवसायीहरूका अनुसार यो बसपार्क हुँदै दैनिक डेढदेखि दुई हजार यात्री ओहोर–दोहोर गर्छन् । यति धेरै व्यस्त हुने भए पनि यात्रीका लागि कुनै सुविधा छैन । चालक र सहचालकहरूका लागि समेत यहाँ विश्राम गर्ने ठाउँ छैन ।
गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टका अनुसार अहिले बसपार्क नगरपालिकाको मातहतमै छ । नगरपालिकाले नै बर्सेनि ठेक्का लगाइरहेको अवस्था छ । यसको सुरक्षा पनि नगरपालिकाले नै गरिरहेको छ । यो वर्ष मात्रै १ करोड ४४ लाखमा ठेक्का लागेर बसपार्क चलिरहेको उनले बताए ।
नगर प्रमुख भट्टका अनुसार व्यवस्थित कम्प्लेक्सहित बसपार्क बनाउने नगरपालिकाले मुख्य योजना हो । अत्तरियाको बसपार्क व्यवस्थापनका लागि करिब २५ करोड रुपैयाँको गुरुयोजना सहितको डीपीआर तयार भइसकेको उनले जानकारी दिए । चार हेक्टर क्षेत्रफलमा बसपार्क विस्तार गर्न ६१ घरधुरीलाई व्यवस्थापन गर्ने योजना रहेको उनले बताए । तर मुख्य बाधक नेपाली सेना भएको भन्दै उनले गुनासो गरे ।
‘हामीले नेपाली सेनासँग बारम्बार समन्वय ग¥यौँ । छलफलमा मिठा कुरा गर्छन् तर, व्यवहारमा सहयोग गर्दैनन् । सेनाले कब्जा गरेको जमिन कानुनअनुसार खारेज भइसकेको हो,’ नगर प्रमुख भट्टले भने ।
२०३४ सालदेखि नगरपालिकामा बसोबास गर्दै आएका ६१ घरधुरी परिवारलाई लालपुर्जा दिन खोज्दा पनि सेना तगारो बनेको भट्टको आरोप छ । ‘एक वर्षको बजेट सेनाको कारण खेर गयो । सङ्घीय सांसद, प्रधानमन्त्रीसँग पनि कुरा ग¥यौँ तर ठोस परिणाम देखिएको छैन,’ उनले भने ।
नगर प्रमुख भट्टले स्थानीयस्तरमा विकासको अधिकार प्रदेश र स्थानीय तहसँग हुँदाहुँदै पनि सङ्घीय निकायले हस्तक्षेप गर्नु दुःखद् भएको बताए । गोदावरी नगरपालिकाको तेघरीमा नेपाली सेनाको ब्यारेक छ ।
नगरपालिकासँग आम्दानी नभएका कारण आफ्नै पहलमा व्यवस्थित बसपार्क बनाउन नसकिने अवस्था रहेको नगर प्रमुख भट्टले खुलाए । ‘हाम्रो तीन तहको सरकारसँग समन्वय, सहअस्तित्व र सहकार्य हुनुपर्ने हो । एउटा सरकार अर्काेको दुश्मन जस्तो रहेको भान भएको छ,’ उनले भने, ‘हामीले संविधानमा रहेका अधिकार अनुसार काम गर्नुपर्ने हुन्छ । न्यून स्रोतमा काम गर्नुपरेको छ । काम गर्न पनि गाह्रो छ ।’
ऋण लिएरै भए पनि बसपार्क बनाउने योजनालाई प्राथमिकताका साथ अगाडि बढाउन खोजे पनि असफल हुँदै आएको नगर प्रमुख भट्टको भनाइ छ ।
चालु आर्थिक वर्ष बसपार्क व्यवस्थित बनाउने हिसाबले उपलब्धिविना नै बित्ने भए पनि नयाँ आर्थिक वर्षको बजेटमा बसपार्कको योजना राख्ने र नेपाली सेनासँग फाइनल कुरा गरेर काम अघि बढाउने नगर प्रमुख भट्टले बताए ।
सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अत्तरिया शाखा इन्चार्ज शिवराज भट्टराईका अनुसार अहिले बसपार्कको संरचना भत्किन थालेको छ । ‘पहिले बनेका संरचना बिग्रिसकेका छन् । यात्री, चालक, व्यवसायी सबैलाई समस्यै समस्या छ,’ उनले भने ।
भट्टराईका अनुसार सुदूरपश्चिम यातायात प्रालिसँग ६–७ सय बस छन् । ती बस यही बसपार्कबाट छुट्छन् । अहिले अन्य यातायात व्यवसायीले पनि बसको सङ्ख्या बढाउँदै लगेका छन् ।
भट्टराईले भने, ‘अब बसपार्क अन्यत्र सार्ने कुरा छैन । सेनालाई अर्को ठाउँमा भोगचलन दिन सकिन्छ । बसपार्कको यही अवस्थाले यात्री, व्यवसायीमात्र नभएर तीनै तहका सरकारलाई लाजमर्दाे बनाएको छ ।’
गोदावरीको तेघरीस्थित नेपाली सेनाले बसपार्कमा ‘नेपाली सेनाको नाममा भोगाधिकार प्राप्त जमिन’ लेखिएको बोर्ड समेत टाँसेको थियो । सेनाले बसपार्क मात्रै हैन, बजारको पूर्व रोड, पहाड रोड र उत्तरी भेगभित्रको साढे १७ हेक्टर जमिनमा दाबी गरेको छ । हाल उक्त जग्गा नगरपालिका र स्थानीयले भोगचलन गर्दै आएका छन् ।
नेपाली सेना र गोदावरी नगरपालिकाबिच आवश्यक समन्वय नहुँदा अत्तरिया बसपार्क निर्माणको काम अलपत्र परेको स्थानीयको आरोप छ । विविध समस्या देखाउँदै बसपार्क निर्माण अलपत्र पार्न नहुने स्थानीयवासीको भनाइ छ । बसपार्क निर्माण गर्नु स्थानीय सरकारको मुख्य जिम्मेवारी रहेको अत्तरियावासी बताउँछन् ।
त्यसो त अहिलेको स्थानबाट बसपार्क सर्ने चर्चा पनि चलेको हो । अहिले बसपार्क रहेको ठाउँभन्दा उत्तरतर्फ ट्राफिक बिटको पछाडि वनको खाली जग्गामा बसपार्क विस्तार गर्ने तयारी भएको थियो । यद्यपि त्यहाँ काम भने सुरु भएको छैन ।
नगरपालिकाले न सेनासँग समन्वय गरेर अहिले भएको ठाउँमै व्यवस्थित बसपार्क बनाउने काम गर्न सकेको छ, न त अन्य ठाउँमा सार्नै सकेको अवस्था छ ।
स्थानीय व्यवसायीहरू अबको प्राथमिकता भनेको स्थायी संरचना निर्माण, सवारीको व्यवस्थापन, टिकट प्रणालीमा एकरूपता र सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताउँछन् । उनीहरूको माग छ, ‘हामी कर तिर्छाैं, सरकारले सेवा दियोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन गर्नुपर्छ : अध्यक्ष सिंह
-
यूएईको सम्पूर्ण टोली ‘रिटायर आउट’
-
बागमतीमा आइतबारबाट युवा सम्मेलन
-
भारत–पाकिस्तान संघर्ष चीनका लागि कसरी अवसर बन्दै थियो ?
-
भारत र पाकिस्तानबिचको सैन्य कारबाही रोक्ने निर्णय आपसी सहमतिकै आधारमा भएको दाबी