एकैदिन उच्च अङ्कले किन बढ्यो शेयर बजार ? यस्ता छन् चार कारण

काठमाडौँ । शेयर बजार परिसूचक एकैदिन ६२.२५ अङ्कले बढेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक नेप्से उच्च अङ्कले बढ्दा कुल परिसूचक २ हजार ६ सय ७३.६९ अङ्कमा पुगेको हो । आज बजारमा १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
बजारमा आज सबै क्षेत्रका परिसूचक बढेका छन् । फाइनान्स समूह ५.४७ प्रतिशत, हाइड्रोपावर समूह ३.१३ प्रतिशत बढ्दा थप पाँच वटा समूहको परिसूचक ३ प्रतिशत भन्दा धेरैले बढेको देखिन्छ ।
बैङ्किङ समूह २.९७ प्रतिशत, निर्जीवन बीमा २.६७ प्रतिशत, जीवन बीमा २.४४ प्रतिशत, अन्य समूह २.४३ प्रतिशत विकास बैङ्क २.४० प्रतिशत र लघुवित्त क्षेत्र २.२४ प्रतिशतले बढेका छन् । आज बजारमा पाँच वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको देखिएको छ ।
किन बढ्यो शेयर बजार ?
शेयर लगानीकर्ता सङ्घका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलका अनुसार आज बजार बढ्नुको मुख्य कारण लामो समयदेखि बजार घटेको बजारको रिकभरी नै हो ।
शेयर बजार परिसूचक विगत तीन सातादेखि नकारात्मक रहँदै आएको थियो । यो अवधिमा बजार करिब ११० अङ्कले घटेको थियो । अध्यक्ष फुल्लेल भन्छन्, ‘लामो समय घटेको बजार रिकभरीको पर्खाइमा थियो, आज यो बढ्यो ।’
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष पनि अहिलेको बजार वृद्धिलाई रिकभरीकै रूपमा अर्थ्याउँछन् । केही दिनअघिदेखि क्षेत्रगत रूपमा बढेको बजार आज समग्रमै बढेको उनको भनाइ छ ।
तर, आजकै दिन बजार बढ्नुमा भने दुई कारण रहेको उनीहरूको भनाइ छ । पहिलो, सरकारको स्थायित्वबारे देखिएका भ्रम निवारण र दोस्रो, राष्ट्र बैङ्कको नेतृत्व चयन प्रक्रिया अघि बढ्ने सङ्केत ।
मङ्गलवार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक सार्वजनिक अभिव्यक्तिमार्फत सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका थिए, यसले लामो समयदेखि सरकार परिवर्तनको हल्ला मत्थर भएको छ । अर्कोतिर आगामी मन्त्रिपरिषद् बैठकमा गभर्नर (शुक्रबार) नियुक्ति हुने भन्ने चर्चा चल्दै आएको छ ।
त्यसो त, सरकारले ल्याएको नीति तथा कार्यक्रममा पनि बजारका लगानीकर्ताको अनुकूल हुने कार्यक्रम आएकोले समेत यसले बजारलाई बढ्न मद्दत गरेको फुल्लेल बताउँछन् ।