बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट

क्रिएटिभ विद्यालयसँग ७१ रनले हार्‍यो नेक्सस इन्टरनेशनल

बिहीबार, २५ वैशाख २०८२, १५ : ५६
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा क्रिएटिभ स्कुलले नेक्सस इन्टरनेशनल एकेडेमीलाई ७१ रनले पराजित गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वकप विद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको समूह ‘ए’ अन्तर्गतको खेलमा पहिले ब्याटिङ गरेको क्रिएटिभले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेक्सस १५.२ ओभरमै केवल ७१ रन बनाउँदे अलआउट भयो ।  

टस जिती पहिले ब्याटिङ गरेको क्रिएटिभका लागि ओपनर ब्याट्सम्यान अश्लेष डीसीले सर्वाधिक ३७ रनको योगदान गरे । उनले ३२ बलको सामना गरी दुई चौका पनि हिर्काए ।

मध्यक्रमका ब्याट्सम्यान सौगात धामीले पनि टोलीको खातामा २० रन थपे । उनले २४ बलमा दुई चौका प्रहार गरे । जयन्द्र बिष्ट र सुलभ न्यौपानले पनि ११–११ रन बनाए । क्रिएटिभका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । क्रिएटिभले अतिरिक्त रुपमा पनि ४८ रन पायो । क्रिएटिभका कुनै पनि ब्याट्सम्यानले बनाएभन्दा यो बढी रन हो । 

नेक्ससका बलर विवेक भण्डारीले दुई विकेट लिए । सागर शाही, लोकेश साउद, रोहित धामी, विवेक यादव र शिवम शाहले पनि एक–एक विकेट हात पारे । जवाफी ब्याटिङ गरेको नेक्ससका लागि विवेक यादवले सर्वाधिक २० रन बनाए । उनले २५ बलमा तीन चौका पनि प्रहार गरे ।

ओपनर समुन्द्र शाहीले १५ र केविन कँडेलले १० रन बटुले । नेक्ससका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेक्ससले अतिरिक्त रुपमा १३ रन पायो । क्रिएटिभका बलर ईशान अली र सुलभ न्यौपानेले तीन–तीन विकेट लिए । जयन्द्र बिष्टले पनि दुई विकेट हात पारे । 

सौगात धामीले एक विकेट कुम्ल्याए । सुलभ न्यौपाने प्लेयर अफ दि म्याच घोषित भए । काठमाडौँ जिल्ला क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको यो दोस्रो संस्करण हो । नेपाल क्किेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको सम्झनामा काठमाडौँ जिल्ला क्रिकेट संघले २०८१ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । 

प्रतियोगिताको दोस्रो संस्करण वैशाख २९ गतेसम्म चल्नेछ । यो प्रतियोगितालाई आगामी एसीसी मेन्स यू–१६ ईष्ट जोन कप–२०२५ को छनोट प्रतियोगिताका रूपमा समेत लिइएको छ । 

यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौँ जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू–१६ टोलीको छनोटका लागि अवसर प्रदान गरिने आयोजक संघले जनाएको छ । 

गत वर्षको प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय विजेता बनेको थियो । अघिल्लो संस्करणको फाइनलमा सैनिक महाविद्यालयले मोक्षदा स्कुललाई हराएको थियो । यसपटक टोलीको संख्यामा पनि थप गरिएको छ । पहिलो संस्करणमा १६ स्कुलले भाग लिएका थिए । यसपटक भने २१ वटा स्कुलको सहभागिता रहेको छ । 

प्रतियोगितामा पहिलो हुने टोलीले एक लाख ५० हजार रुपैयाँ र दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । 

सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । सर्वोत्कृष्ट बलर, सर्वोत्कृष्ट ब्याट्सम्यान र इमर्जिङ खेलाडीले पनि जनही पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप