शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

काठमाडौँ महानगरले गर्‍यो अस्पताललाई ५० हजार जरिवाना

बिहीबार, २५ वैशाख २०८२, १८ : ०८
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । अस्पतालबाट उत्पादन भएको हानिकारक फोहोर व्यवस्थापनमा लापरबाही गरेपछि काठमाडौँ महानगरपालिकाले वसुन्धरामा रहेको बिपी स्मृति अस्पताललाई  ५० हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिकाले सो अस्पतालको फोहोर रोक्का गरेर ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र पठाएको हो । 

अस्पतालले फोहोर निर्मलीकरण नगरी हानिकारक फोहोर सामान्य फोहोरमा मिसाउने, अस्पताल परिसरमा दुर्गन्ध हुन्जेल फोहोर राख्ने जस्ता लापरबाही गरेको पाइएपछि जरिवानाका लागि पत्र पठाइएको जनाइएको छ । 

स्थानीयवासीले महानगरपालिकाको कल सेन्टरमा फोन गरेर अस्पतालले फोहोर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउन्डमा राखेर दुर्गन्ध फैलाएकोले नियन्त्रण गर्न अनुरोध गरेका थिए । सेन्टरले केस नम्बर ३४, १३५ मा गुनासो टिपेर कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभागका पठाएको थियो । गुनासोकर्ताले गत सोमबार गुनासो दर्ता गराएका थिए । त्यसलगत्तै विभागका वरिष्ठ अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी बलका प्रतिनिधिसहित अनुगमन गरिएको थियो । 

अस्पतालको फोहोर टोखाबाट सञ्चालित हिमालयन प्रालिले सङ्कलन गर्ने गरेको छ ।  ऐन बमोजिम रासायनिक फोहोरमैला, औद्योगिक फोहोर मैला, स्वास्थ्य संस्थाजन्य फोहोर मैला, जोखिमपूर्ण फोहोर मैला वा हानिकारक फोहोर मैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप