दरबार हत्याकाण्ड ‘उधिन्ने’ गृहमन्त्री गुरुङको घोषणाबारे के भन्छन् दलका नेताहरू ?
सारांश
- गृहमन्त्री सुधन गुरुङले २५ वर्ष पुरानो नारायणहिटी राजदरबार हत्याकाण्डसहितका विभिन्न काण्डको पुनः अनुसन्धान र छानबिन प्रक्रिया अघि बढाउने घोषणा गरेका छन् ।
- मन्त्री गुरुङको यस घोषणालाई कतिपयले 'स्टन्टबाजी' का रूपमा अर्थ्याएका छन् भने कतिपयले रहस्यमय घटनाको पुनः अनुसन्धान हुनु सकारात्मक भएको टिप्पणी गरेका छन् ।
- कांग्रेस र एमालेले यसलाई 'स्टन्ट' भन्दै प्रश्न उठाएका छन् भने राप्रपाले स्वागत गरेको छ ।
काठमाडौँ । गृह मन्त्रालयको जिम्मेवारीमा फर्केलगत्तै मन्त्री सुधन गुरुङले चार वटा निर्णय सुनाए । जेठ २६ गते मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदवहाली गरेलगत्तै गृहमन्त्री गुरुङले २५ वर्ष पुरानो नारायणहिटी राजदरबार हत्याकाण्डसहितका विभिन्न काण्डको पुनः अनुसन्धान र छानबिन प्रक्रिया अघि बढाउने घोषणा गरेका हुन् । यद्यपि मन्त्री गुरुङले छानबिन प्रक्रिया कस्तो हुने र कहिलेबाट सुरु गर्ने भन्ने खुलाएका छैनन् ।
मन्त्री गुरुङको यो घोषणासँगै राजनीतिक वृत्तमा विभिन्न किसिमका टिप्पणी भइरहेका छन् । कतिपयले मन्त्री गुरुङको यो घोषणालाई ‘स्टन्टबाजी’का रूपमा अर्थ्याएका छन् भने कतिपयले अहिलेसम्म रहस्यमै रहेको घटनाको पुनः अनुसन्धान वा छानबिन हुनु सकारात्मक भएको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेस प्रवक्ता देवराज चालिसेले २५ वर्षअघिको दरबार हत्याकाण्डबारे कुन मन्त्रीले के बोल्छन्, त्यसमा कुनै टिप्पणी गर्न जरुरी नभएको बताए ।

‘कुन–कुन मन्त्रीले के के बोल्दै हिँड्छन्, त्यसको प्रतिक्रिया दिँदै हिँड्न आवश्यक हुन्न’, प्रवक्ता चालिसेले भने, ‘यसबारे पार्टीको धारणा पनि सार्वजनिक हुँदैन ।’
नेकपा एमालेका प्रचार तथा प्रचार विभाग प्रमुख निरज आचार्यले दरबार हत्याकाण्डको न्यायिक र निष्पक्ष छानबिन प्रक्रिया अघि बढाउनुभन्दा पनि ‘स्टन्ट’ भइरहेको बताए ।
‘न्यायिक र निष्पक्ष छानबिनभन्दा पनि स्टन्टमात्र होजस्तो लाग्छ’, प्रचार विभाग प्रमुख आचार्यले भने, ‘उद्देश्य प्रेरित, कसलाई के गर्ने ? स्क्रिप्ट तयार गरेर नाटक मञ्चनकला बनाइने आयोगबारे अहिले नै टिप्पणी गरिरहनु परेन ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्रप्रसाद पाण्डे उक्त घटनाको छानबिन हुन्छ र गर्छु भन्नु राम्रो सुनिए पनि वर्तमान सरकारले त्यति पुरानो घटनाको सत्यतथ्य पत्ता लगाउन प्रमाण पाउनै कठिन हुनसक्ने बताउँछन् ।
‘त्यसबेला उक्त हत्याकाण्डको एक किसिमको छानबिन त भयो नै’, पाण्डेले भने, ‘त्यो छानबिनले केही कुरा सङ्केत ग¥यो तर अघि बढाउने आँट गरेन ।’
पाण्डेले प्रतिवेदनले भनेझै होस नै नभएका दीपेन्द्रले २५ केजी तौलको मेसिनगन बोकेर गोली चलाए भनेर पत्याउन नसकिने बताए । ‘यहाँ शङ्का गर्ने ठाउँ छ । शङ्का गरिएको कुरालाई ध्यानमा राखेर उक्त हत्याको प्रमाण खोज्न सक्ने हिम्मत कसरी हुन्छ ?’, प्रश्न गर्दै उनले भने, ‘एक हजारभन्दा धेरै सेनाको सुरक्षामा बसेको राजपरिवार मारिएको छ । त्यो कसले ग¥यो होला त ? त्यसमा पनि होस नै नभएका युवराजले हत्या गरे भनेर कति पत्याउने ?’
पाण्डेले हत्याकाण्डमा दीपेद्रको मुखुण्डो लगाएका पाँचसात जना मानिस नै थिए भन्नेसमेत सुनिएको भन्दै दोष दिपेन्द्रलाई लगाइएको तथा मरिसकेपछि पनि श्रीपेच लगाएर राजा बनाउने काम गरेको लगायतका घटनाले शङ्कास्पद हुन पुगेकोे बताए ।
_y1sNDarUay.jpg)
‘त्यो घटना र रिपोर्टले केही न केही छाडेको छ, तर दोषी को हो भनेर खोज्दै जाँदा सुरक्षा गरेर बस्नेहरू नै दोषी हुनसक्छ’, पाण्डेले प्रश्न गर्दै भने, ‘जसले सुरक्षा गर्थ्यो र गर्न सकेन, त्यही हो दोषी । तर त्यहाँसम्म पुग्ने यो सरकारको हिम्मत रहन्छ ?’
यद्यपि पूर्वमन्त्रीसमेत रहेका पाण्डेले छानबिन गरे राम्रै हुने बताए । ‘तर मलाई यो स्टन्टबाजी हो भन्ने लाग्छ’, पाण्डेले दरबार हत्याकाण्ड, मदन भण्डारी हत्याकाण्ड लगायतका केही घटना लामो समयसम्म रहस्यमै रहेको भन्दै अन्य देशमा समेत त्यस्ता केही घटना रहस्यमै रहने गरेको बताए ।
राप्रपाका नेता ज्ञानेन्द्र शाहीले भने गृहमन्त्री गुरुङको दरबार हत्याकाण्ड छानबिन गर्ने घोषणालाई स्वागत गरेका छन् । उनले मंगलबार नै सामाजिक सञ्जालमा लेखेका छन्, ‘दरबार हत्याकाण्डको निष्पक्ष र गहन छानबिन गर्ने प्रतिबद्धताको हार्दिक स्वागत गर्दछु ।’

राप्रपा संसदीय दलका नेतासमेत रहेका शाहीले सत्यतथ्य उजागर गर्न घटनाकालमा जिम्मेवार पदमा रहेका सबै सरोकारवालाहरू, विशेषगरी तत्कालीन गृहमन्त्री तथा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल लगायतलाई अनुसन्धानको दायरामा ल्याई निष्पक्ष छानबिन गर्न हार्दिक अपिलसमेत गरेका छन् ।
०५८ जेठ १९ गते नारायणहिटी दरबारमा भएको उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशविनाश भएको थियो, तर अहिलेसम्म पनि उक्त रहस्यमय घटनाको चित्तबुझ्दो सत्यतथ्य सार्वजनिक नभएको भन्दै नागरिकस्तरमा गुनासो कायमै छ । यद्यपि बेलाबेला यो घटनाबारे पुनः छानबिन गर्ने चर्चा हुँदै आएका छन् । अघिल्ला सरकारहरूले पनि यो घटनाको पुनः अनुसन्धान गर्ने भनेर प्रचारबजी गरे पनि अनुसन्धान प्रक्रिया अघि बढाउन सकेका थिएनन् ।
घटनाको छानबिनका लागि तत्कालीन समयमा प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय, तत्कालीन सभामुख तारानाथ रानाभाट र एमाले नेता माधव नेपाल सम्मिलित छानबिन समिति गठन भएको थियो, तर नेता नेपाल उक्त समितिमा बस्न मानेनन् । नेपाल नमानेपछि उपाध्याय र रानाभाट नेतृत्वको समितिले घटनामा तत्कालीन युवाराजधिराज दिपेन्द्र शाह मदिराको नसामा लठ्ठिएर गोली चलाउँदा उक्त घटना हुन पुगेको निष्कर्ष निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनमा हट्यो संसद् अवरोध , विपक्षीले फेरे विरोधका कार्यक्रम
-
अबदेखि विपन्न नागरिकलाई १० प्रतिशत शैया र सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउनुपर्ने
-
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने
-
कर्मचारी ट्रेड युनियन खारेज गर्नेसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
-
‘सर्वोच्चको आदेश पालना गर, उद्योगीलाई त्रसित नबनाऊ’ : उद्योग सङ्घ मकवानपुर
-
पहिराले कर्णाली करिडोर अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण