बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट

जोय थापाको अलराउन्ड प्रदर्शनमा एन्जल्स हार्टले विसडमलाई हरायो

शुक्रबार, २६ वैशाख २०८२, १३ : ४५
शुक्रबार, २६ वैशाख २०८२

काठमाडौँ । काठमाडौँमा जारी जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा एन्जल्स हार्ट नेशनल स्कुलले विसडम इङ्लिस स्कुललाई ६२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको समूह ‘जी’ अन्तर्गतको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको एन्जल्स हार्टले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको विसडम स्कुलले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको एन्जल्स हार्टका लागि ओपनर जोय थापाले ४५ रनको योगदान गरे । टोलीका कप्तानसमेत रहेका जोयले केवल ३८ बलमा पाँच चौका पनि हिर्काए ।

अर्का ओपनर सन्दीप साउदले पनि टोलीका लागि २८ रनको योगदान गरे । उनले ३० बलमा तीन चौका हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका ईन्साब बोहोराले २२ बलमा चार चौकाको मद्दतले २७ रन बनाए । एन्जल्स हार्टले अतिरिक्त रुपमा पनि ४४ रन पाएको थियो । विसडम स्कुलका बलर सौरभ अधिकारीले तीन विकेट लिए । उनले चार ओभरमा २१ रन खर्चिएका थिए । कुशल थापाले पनि दुई विकेट हात पारे । 

जवाफी ब्याटिङ गरेको विसडमका लागि निरज पटेलले अविजित ३७ रन बनाए । उनले ३२ बलमा एक छक्का र तीन चौका पनि प्रहार गरे । अन्य ब्याट्सम्यानको प्रदर्शन भने निराशाजन रह्यो । ओपनर अवदेश पाण्डेले १३ र कुशल थापाले १२ रन बटुले । विसडमका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विसडम स्कुलले अतिरिक्त रुपमा पनि २१ रन पायो । एन्जल्स हार्टका बलर जोय थापा, ईन्साफ बोहोरा र सन्दीप साउदले दुई–दुई विकेट लिए । उक्त खेलमा विजयी टोलीका जोय थापा प्लेयर अफ दि म्याच घोषित भए ।

काठमाडौँ जिल्ला क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको यो दोस्रो संस्करण हो । नेपाल क्किेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको सम्झनामा काठमाडौँ जिल्ला क्रिकेट संघले २०८१ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । 

प्रतियोगिताको दोस्रो संस्करण वैशाख २९ गतेसम्म चल्नेछ । यो प्रतियोगितालाई आगामी एसीसी मेन्स यू–१६ ईष्ट जोन कप–२०२५ को छनोट प्रतियोगिताका रूपमा समेत लिइएको छ । यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौँ जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू–१६ टोलीको छनोटका लागि अवसर प्रदान गरिने आयोजक संघले जनाएको छ । 

गत वर्षको प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय विजेता बनेको थियो । अघिल्लो संस्करणको फाइनलमा सैनिक महाविद्यालयले मोक्षदा स्कुललाई हराएको थियो । यसपटक टोलीको संख्यामा पनि थप गरिएको छ । पहिलो संस्करणमा १६ स्कुलले भाग लिएका थिए । यसपटक भने २१ वटा स्कुलको सहभागिता रहेको छ । 

प्रतियोगितामा पहिलो हुने टोलीले एक लाख ५० हजार रुपैयाँ र दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । सर्वोत्कृष्ट बलर, सर्वोत्कृष्ट ब्याट्सम्यान र इमर्जिङ खेलाडीले पनि जनही पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप