सागर एक्लैले पाँच विकेट लिएपछि पुलिस स्कुलले सजिलै हरायो रत्नराज्यलाई

काठमाडौँ । काठमाडौँमा जारी जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न अन्तिम खेलमा नेपाल पुलिस स्कुलले रत्नराज्य स्कुललाई ८८ रनको फराकिलो अन्तरले हराएको छ ।
काठमाडौँस्थित तल्लो मुलपानी क्रिकेट रंगशालामा खेलिएको समूह ‘डी’ अन्तर्गतको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस स्कुलले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको रत्नराज्य स्कुलले भने १२.३ ओभरमै अलआउट हुनुअघि ६४ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको पुलिस स्कुलका लागि सुनिल ठाकुरले ३३ रनको योगदान गरे । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनले केवल २२ बलमा एक छक्का र तीन चौका पनि हिर्काए ।
राकेशप्रसाद कलवारले पनि टोलीको खातामा अविजत २४ रन थपे । पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका उनले २४ बलमा दुई चौका पनि हिर्काए । ओपनर श्यामबाबु ठाकुरले पनि २२ बलमा तीन चौकाको मद्दतले २० रन बनाए । अर्का ओपनर आर्यन शाहले १८ रन जोडे । पुलिस स्कुलले अतिरिक्त रुपमा पनि ३० रन पायो । रत्नराज्य स्कुलका बलर आयुष महतोले दुई तथा दीपेश थापा, आशिक चन्द र अतित न्यौपानेले एक–एक विकेट लिए ।
जवाफी ब्याटिङ गरेको रत्नराज्य स्कुलका लागि ओपनर गौतम यादवले १३ र रवीरोशन सिंह १० रन बनाए । आयुष महतोले पनि टोलीको खातामा १० रन थपे । रत्नराज्य स्कुलका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
रत्नराज्य स्कुलले अतिरिक्त रुपमा केवल ६ रन पायो । पुलिस स्कुलका बलर सागर सिंह एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा १७ रन खर्चिए । उनी प्लेयर अफ दि म्याच घोषित भए । सुनिल ठाकुरले दुई विकेट हात पारे । आदित्यकुमार यादव र प्रिन्सराज यादवले एक–एक विकेट कुम्ल्याए ।
काठमाडौँ जिल्ला क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको यो दोस्रो संस्करण हो । नेपाल क्किेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको सम्झनामा काठमाडौँ जिल्ला क्रिकेट संघले २०८१ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतियोगिताको दोस्रो संस्करण वैशाख २९ गतेसम्म चल्नेछ । यो प्रतियोगितालाई आगामी एसीसी मेन्स यू–१६ ईष्ट जोन कप–२०२५ को छनोट प्रतियोगिताका रूपमा समेत लिइएको छ । यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौँ जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू–१६ टोलीको छनोटका लागि अवसर प्रदान गरिने आयोजक संघले जनाएको छ ।
गत वर्षको प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय विजेता बनेको थियो । अघिल्लो संस्करणको फाइनलमा सैनिक महाविद्यालयले मोक्षदा स्कुललाई हराएको थियो । यसपटक टोलीको संख्यामा पनि थप गरिएको छ । पहिलो संस्करणमा १६ स्कुलले भाग लिएका थिए । यसपटक भने २१ वटा स्कुलको सहभागिता रहेको छ ।
प्रतियोगितामा पहिलो हुने टोलीले एक लाख ५० हजार रुपैयाँ र दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । सर्वोत्कृष्ट बलर, सर्वोत्कृष्ट ब्याट्सम्यान र इमर्जिङ खेलाडीले पनि जनही पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापान भ्रमण उपलब्धिमूलक भयो : परराष्ट्रमन्त्री राणा
-
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आव्हान
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् राशिफल
-
यसरी फिर्ता हुँदै छ लिच्छविकालीन इखा पुखु (तस्बिरहरू)
-
रुपन्देहीमा पेस्तोलसहित दुई युवा पक्राउ