सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय
कला

क्यानभासमा तान्त्रिक मिलारेपाको कथा

शनिबार, २७ वैशाख २०८२, २० : ००
शनिबार, २७ वैशाख २०८२

तारागाउँ म्युजियममा भर्खरै (मार्च १७–२६, २०२५) मुकेश श्रेष्ठको अलि अलग्ग र अनौठो प्रकारको सोलो कला प्रदर्शनी भयो । अलग्ग र अनौठो यसर्थ कि ठुलो कक्षमा एउटै मात्र चित्र राखिएको थियो, तिब्बतीयन तान्त्रिक तथा सद्गुरु मिलारेपा (सन् १०४०–११२३)को चित्र, जसको साइज ९ बाई ६ फुटको छ । 

प्रदर्शनीमा खासै भीडभाड देखिएन । तापनि एउटै मात्र चित्र प्रदर्शन हुनुले यो एउटा ऐतिहासिक कला प्रदर्शनी बन्न पुगेको छ । 

विदेशमा ठुल्ठुला मास्टर आर्टिस्टका एउटा वा दुईवटा यस्ता कला विशेष उत्सवका साथ प्रदर्शन गरेको देखिन्छ । हामीकहाँ धर्मकर्मको सन्दर्भसहित चाडबाड वा जात्रा आदिमा देवी–देवताका मूर्ति वा चित्रलाई यसरी प्रदर्शन गर्ने चलन छ, तर एउटै मात्र समसामयिक कलालाई प्रदर्शन गर्ने प्रचलन त्यति छैन । समसामयिक कला अवधारणासहित एउटा मात्रै चित्र प्रदर्शन हुनु हामीकहाँ नितान्त नौलो कुरा हो । यसर्थ मुकेशको यो कला प्रदर्शनीले खास महत्त्व राखेको छ । 

कलाको स्वरूप 

चित्रपटभरि आध्यात्मिक बौद्धिस्ट गुरु मिलारेपाको जीवनीका दर्जनौँ खण्ड संयोजन गरिएको छ । मिलारेपाको आध्यात्मिक यात्रालाई सविस्तारमा चित्रण गरिएको यो चित्र स्वयंमा एउटा कथात्मक ग्रन्थ बन्न पुगेको छ । चित्रपटको बिचोबिच मिलारेपालाई विशेष पोजमा राखिएको छ । मिलारेपाको पहिचानलाई दर्शाउन हस्तमुद्रा (कानमा हातको पञ्जा राखेको), आसन (खुट्टालाई क्रस गरेको वा एउटा घुँडालाई अलि उठाएर सजिलो पाराले बसेको पोस्चर), पहिरन (पातलो सेतो कपडा एकापट्टिको काँध खुला देखिने गरी पहिरिएको) अनि आफ्नै प्रकारका आयुध (देब्रे हातले स्कुल कप समातेको) लाई समेटिएको छ । 

मिलारेपाको ठुलो चित्र, त्यसको अगाडि राखिएको चकटी, सोकेसमा राखिएका स्केच— सबै एउटै कलाका विभिन्न रूप थिए । अवलोकन गर्न आउने भावकले पहिले स्केचलाई अवलोकन गरी बुझ्नुपर्ने हुन्थ्यो । 

चित्रमा मूल पात्रको वरिपरि मिलारेपाका गुरुहरूदेखि शिष्य समेतलाई समेटिएको छ । हरेक पात्रको अलग्गै लघुगाथा छन् । यस्तै स–साना लघुकथालाई निर्माण गर्दै अन्त्यमा कथाकथैले भरिएको ठुलो ग्रन्थको निर्माण भएको देखिन्छ । 

1000000590

हरियो र निलो कोमल रङहरू केन्द्रबिन्दुमा पार्दै हल्का पहेँलो र सेता रङहरूले सम्पूर्ण चित्रपट ढाँकिदा शान्त वातावरणको अनुभूति हुन्छ । अनकन्टार हिमालमा साह्रै दुःख गरी टिचिङ प्राक्टिस गर्दा मिलारेपाले जंगली झारपात तथा जडीबुटी मात्र सेवन गरेका थिए । जसले गर्दा उनको शरीर हरियो भएको किंवदन्ती छ । चित्रमा उत्ताउला रङहरूले ठाउँ पाएको देखिँदैन । कोमल र मनोरम रङहरू सुललित बगेको देखिन्छ । खाइलाग्दो र हेरिरहुँजस्तो देखिने यो चित्र ध्यानको पर्यायवाचीका रूपमा पनि देखापरेको छ । हरेक पात्र सुमधुर सौन्दर्यताले अभिभूत हुँदा आनन्दानुभूतिको अनुभव हुन्छ ।

को हुन् मिलारेपा ?

मिलारेपा ‘द काग्यु स्कुल अफ् तिबेटन बुद्धिजम’का निकै ठुला हस्ती मानिन्छन् । १२औँ शताब्दीतिर यो बौद्ध स्कुलले विश्वभर निकै प्रभाव जमाएको थियो । वज्रयानको महत्त्वपूर्ण शाखाका रूपमा विकसित भएको यो बुद्धिजम्ले विशेष गरेर तन्त्रलाई निकै उपल्लो तहमा पुर्‍याएको मानिन्छ ।

मिलारेपाको जीवनमा धेरै उतारचढाव आएको इतिहास छ । राम्रा–नराम्रा धेरै कार्य उनीबाट भएका छन् । उनी सात वर्ष हुँदा उनको बुवा मृत्यु भएको थियो । काका र अरु नातागोताले उनको बुवाको जम्मै सम्पत्ति खाइदिएका थिए । उनकी आमाले उनीहरूसँग बदला लिन छोरालाई काला जादु सिक्न पठाएकी थिइन् भनिन्छ । कालाजादु (विशेष प्रकारको तान्त्रिक ज्ञान) सिकेर आएपछि बदला लिने क्रममा उनले धेरै मान्छे मारे भनिन्छ । पछि गुरु मार्पाको शरणमा आई बौद्ध धर्म प्राक्टिस गर्न थालेको किंवदन्ती छ । 

चित्रपटभरि आध्यात्मिक बौद्धिस्ट गुरु मिलारेपाको जीवनीका दर्जनौँ खण्ड संयोजन गरिएको छ । मिलारेपाको आध्यात्मिक यात्रालाई सविस्तारमा चित्रण गरिएको यो चित्र स्वयंमा एउटा कथात्मक ग्रन्थ बन्न पुगेको छ ।

वर्षौं सुनसान पर्वतमा गई गहन रूपमा गुरुले दिएको महामुद्रा टिचिङलाई प्राक्टिस गरेपछि अन्त्यमा उनलाई इन्लाइटेनमेन्ट (बोधि ज्ञान) प्राप्त भएको थियो भनिन्छ । उनी बौद्धिस्ट तान्त्रिक योगी बनी १२औँ शताब्दीतिर वज्रयानको एउटा हाँगा तिब्बतीयन बुद्धिजम्को काग्यु स्कुलिङको सद्गुरु बनेका हुन् । 

1000000598

उनै मिलारेपामाथि कैयौँ गाथा लेखिएका छन् । तिनै गाथाका आधारमा मुकेशले यो चित्र बनाएका हुन् । मिलारेपा बौद्धिस्ट ज्ञानमा दीक्षित हुनुअगावैका उनका जीवनका क्षणलाई भने यहाँ राखिएको छैन । 

झट्ट हेर्दा यो चित्र परम्परागतजस्तो देखिन्थ्यो । तथापि यो समसामयिक कलाको उत्कृष्ट नमुनाका रुपमा देखिएको छ । यो चित्र मूलतः आधुनिक र परम्परागत शैलीको समिश्रणमा बनेको छ । जसमा मिलारेपालाई कथात्मक रुपमा प्रस्तुत गरिएको छ । अनौठो पाराले लोकगाथालाई समेट्नु यसको खास पहिचान बनेको छ ।

मिलारेपालाई तिब्बतमा आध्यात्मिक योगी, धार्मिक तान्त्रिक गुरु र आध्यात्मिक कवि पनि भनिने गरिन्थ्यो । ‘मिला’ उनको फेमिली सरनेम हो भने ‘रेपा’ उनको बाजे–बराजुका नामबाट लिएको बताइन्छ । गीतको लबजमा धार्मिक प्रवचन दिने हुँदा पनि उनका एक लाख गीत थिए रे भन्ने गरिन्छ । तिब्बतको पश्चिमी साइडतिर नेपालको बोर्डरतिर (तातोपानी, बाह्रबिसे) गुङथाङ भन्ने ठाउँमै उनले बुद्धिजम् टिचिङलाई प्राक्टिस गरेको बताइन्छ । 

  • मिलारेपाको आइकोनोग्राफी 

बुद्ध वा बोधि सत्त्वको भन्दा फरक ढंगबाट मिलारेपालाई चित्रण गर्ने गरिन्छ । बसेको पोस्चरमा चित्रित गरिने यसको मूल विशेषता हो । एकातिर काँधलाई खुला राखी सेतो कटनको रोब्स लगाइदिने अनि दाहिने हातको पञ्जा काननेर राखेर चित्रण गर्ने गरिन्छ । कुनै पनि बोधिसत्त्व यस्तो पोस्चरमा देखिँदैन । अधिकांश बोधिसत्त्व मुद्रा अनि आसनमा फरक ढंगले देखापरे पनि मुखाकृति र भाव एकैजसो देखिन्छ । मिलारेपाको काननेर हात लाने पोस्चरले गर्दा उनलाई सजिलै पहिचान गर्न सकिन्छ । यो सेतो कटनको रोब्स १२औँ शताब्दीतिर निकै प्रचलनमा थियो । यसो गर्नु धार्मिक संगीत सुनिरहेको प्रतीकात्मक विम्ब हो भन्ने गरिन्छ । धार्मिक संगीतलाई भाव र अर्थका साथ सुन्ने क्षमता उनीमा हुँदा पनि यो पोस्चरलाई विशेष रूपमा अंकन गर्ने गरिन्छ । अनि देब्रे हातमा ‘स्कुल कप’ समातेर बसेको देखिन्छ । खुट्टाहरू आरामदायी पोजमा राखिएको देखिन्छ । खुट्टाहरू या त क्रस पोजिसन वा घुँडा अलिकता उठेको पोस्चरमा बनाएको देखिन्छ ।

IMG-20250429-WA0000 (1)

  • परम्परागत र आधुनिक शैलीको संयोजन

परम्परागत थाङ्का वा पौभा चित्रमा मूल आराध्य देवदेवीलाई चित्रपटको बिच भागमा चित्रण गरेपछि चित्रपटको वरिपरि भागमा अर्थका साथ सिँगार्न कलाकारलाई छुट थियो । मूल देवी वा देवताको कथासँग जोड्न अनेकानेक उपकथा बुन्दै सहायक देवी–देवता आदिलाई आसन्न गराउने चलन थियो र छ पनि । यसो गर्न कलाकारलाई छुट हुँदा चित्रपटको वरिपरि भागमा अनेकानेक रूप, मूर्त–अमूर्त बुट्टा राख्ने प्रचलन बस्यो । कलाकारले आफूलाई अलग्ग देखाउन पनि आलङ्कारिक रूप गाँस्न थाले । मुकेशले पनि यसलाई थप नौलो बनाउँदै आफ्नै ढंगले कथात्मक रूपमा चित्रण गरेका छन् । उनले वरिपरि गुरुहरूलाई संयोजन गरेका छन्, चेलाहरूलाई राखेका छन्, विशेष टेक्सचरको समेत प्रयोग गरेका छन् । मिलारेपाबारे हजारौँ चित्र बने होलान्, तथापि मुकेशले जसरी अनौठो चित्रगत संरचना यसअघि बनेको देखिँदैन । 

प्रदर्शनी कक्षमा मिलारेपाको चित्रको साथै चित्रको ठिकअगाडि पाँचवटा चकटी (बसेर ध्यान गर्नका लागि) र सिसाको सोकेसमा मिलारेपासम्बन्धी नौवटा विविध प्रकारका स्केच प्रदर्शनमा राखिएका थिए । ती अलग–अलग भए पनि समग्रमा एउटै कलाको विविध रूप थिए । पारम्परिक आधुनिक कलालाई ध्यानसँग जोडेर मुकेशले थोरै नौलो प्रयोग गरेका हुन् । नेपालमै पनि देवी–देवताको चित्रअगाडि बसेर ध्यान गरिने परम्परा अद्यापि छ ।   

सोकेसमा सजाइएका नौवटा स्केचमा मिलारेपाका गुरु मार्पा, मार्पाका पनि गुरु नारोपा, नारोपाका पनि गुरु तिलोपा, मिलारेपाका दुईजना शिष्य गाम्पोपा र रेचुनपा थिए । यसबाहेक सिकारीको कथा, बैनी र काकीलाई प्रवचन दिइरहेको दृश्य, मिलारेपा आकाश र पानीमा हिँडिरहेका दृश्य, आदि बुद्ध, डाकिनीहरूबिच मिलारेपाले प्रवचन दिँदै गरेका स्केचलाई क्रमशः मिलाएर राखिएका थिए । यी पात्रलाई मुकेशको चित्रपटमा पनि विभिन्न पोजमा चित्रांकन गरिएको छ । मिलारेपाको जीवन जसरी बग्यो । यसैलाई कथात्मक रूपमा समायोजन गर्नु नै यो चित्रको मूल उद्देश्य थियो ।  

ठुलो कक्षमा प्रदर्शित मिलारेपाको ठुलो चित्र, त्यसको अगाडि राखिएको चकटी, सोकेसमा राखिएका स्केच— सबै एउटै कलाका विभिन्न रूप थिए । अवलोकन गर्न आउने भावकले पहिले स्केचलाई अवलोकन गरी बुझ्नुपर्ने हुन्थ्यो । घटना र पात्रलाई राम्ररी बुझेपछि मात्रै ठुलो चित्रलाई गहिरो गरी अवलोकन गर्नुपथ्र्यो । त्यसपछि चित्रको अगाडि आएर चकटीमा पद्मासनमा बसी ध्यान गर्नु नै समग्रमा एउटा कलाको रूप थियो । यसपछि कलाकारसँग यस कलाबारे छलफल गर्न वा जिज्ञासा राख्न सकिन्थ्यो । 

मुकेश आफैँ प्रखर कन्सेप्चुअल आटिस्ट हुन् । सन् २००८ मा बीएचयु (बनारस हिन्दु विश्वविद्यालय)को कला सङ्कायबाट स्नातकोत्तर गरेका उनी गोल्ड मेडलिस्ट पनि हुन् । स्नातकोत्तरपछि नेपाल फर्केर उनले नेपाली पौभा र थाङ्का कलालाई आधुनिक फर्ममा ढाल्दै यस्तायस्तै चित्र बनाउँदै आएका छन् । यो कलागत शैलीमा उनी सिद्धहस्त भइसकेका छन्, अन्तर्राष्ट्रिय स्तरमा पनि उनको एक अलग्ग पहिचान बनिसकेको छ । 

1000000597

बौद्ध–दर्शन, बौद्धिस्ट आर्टमा यथेष्ट ज्ञान रहेका मुकेशले परम्परागत कलाको अंकन पद्धतिमा पनि दक्षता राख्छन् । यसो हुँदा उनको यो चित्र लालित्यपूर्ण हुन पुगेको छ । यस ठुलो क्यानभासमा बौद्ध धर्मको टेस्ट मात्र समावेश छैन, सँगसँगै परम्परागत अनि समसामयिक चित्र अंकन पद्धतिलाई पनि समान रूपमा स्थान दिइएको छ । मूलतः पूर्वीय विषय र दर्शनलाई लिएर पश्चिमा कलागत प्रवृत्तिमा यो चित्रको निर्माण भएको छ । पूर्वीय र पश्चिमा दुवै कलागत प्रवृत्तिमा ज्ञान राख्ने कलाकार नेपालमा निकै कम छन्, जसमध्ये मुकेश एक हुन् । 

परम्परागत ‘न्यारेटिभ आर्ट’को सुगन्ध बोकेको यो वस्तुतः आधुनिक चित्र हो । न्यारेटिभ आर्टको मौलिकता, लक्षण र विशेषतालाई यसमा थोरै पनि भत्कन दिइएको छैन । तथापि चित्र संयोजनका विम्ब फरक छन् । फरक ढंगबाट पात्रलाई सङ्गठित गरिएको छ । आधुनिक टेक्सचर (बनावट)ले क्यानभास भरिएको छ । मूलतः यही टेक्सचर नै उनको वास्तविक पहिचान पनि हो । पहाड, हिमाल र बादलका पारम्परिक बुट्टाहरूले यो चित्रमा नवजीवन पाएको देखिन्छ । यसकारण परम्परागत हुँदाहुँदै पनि यो उनको काम समसामयिक बन्न पुगेको देखिन्छ । 

नेपालमा बौद्ध परम्परालाई सम्बोधन गर्दै हजारौँ थाङ्का र पौभा, मण्डला वा न्यारेटिभ पेन्टिङ हजारौँ वर्षदेखि बन्दै आएको इतिहास छ । तथापि यी सबै धार्मिक खण्डमा राखिँदा यसको अभ्यास धार्मिक रूपमै हुँदै आयो । परम्परालाई वर्तमानमा ओराल्न मुकेशले आकर्षक टेक्सचरले पात्रहरूलाई बेर्दै नयाँ ‘लुक क्रियट’ गर्न सम्भव बनाएका छन् । विम्ब र प्रतीकलाई भने जस्ताको तस्तै राखिएको छ । 

आध्यात्मिक तान्त्रिक योगी मिलारेपाको यो चित्र केवल चित्र होइन,  आम दर्शकका लागि यो एउटा ध्यान गर्ने माध्यम पनि बनेको देखिन्छ । वज्रयान सम्प्रदायमा धर्मगुरुले अँध्यारो कोठामा यस्तै चित्र राखी तान्त्रिक ध्यान गर्ने गर्छन् । अहिले पनि ठुलो सभाहल (गुम्बाहरू)मा यस्तायस्तै चित्र भरिएको देखिन्छ, जो सर्वसाधारणका लागि पनि ध्यान गर्ने स्थान बन्छ । मुकेशेको यस चित्रमा यी दुवैको समिश्रण भइदिँदा कैयौँ धर्मगुरु र भन्तेहरू यो चित्रलाई अवलोकन गर्न आएको देखिन्थ्यो । चकटीमा बसी ध्यान गर्दै गरेको पनि देखिन्थ्यो । मानौँ, यो एउटा धर्मस्थल हो । जहाँ धर्मकार्य हुँदै छ । 

साधारण दर्शक पनि यो शान्त वातावरणमा चकटीमा पलेँटी मारेर अग्रभागमा रहेको मिलारेपाको चित्रमा ध्यान केन्द्रित गरी ध्यानमग्न भएका देखिन्थे । जसले गर्दा यो प्रदर्शनी आधुनिक ध्यान केन्द्रजस्तो पनि देखिन्थ्यो । यी र यस्तै परम्परा, धर्म र आधुनिकताको फ्युजन भई कलाको निर्माण हुँदा पनि यो कला विशेष भएको हो । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप