अस्ट्रेलियन भूमिमा खेलिएको टेस्टमा तेहरो शतक बनाउने पहिलो ब्याट्सम्यानको निधन
काठमाडौँ । अस्ट्रेलियामा खेलिएको टेस्ट क्रिकेटमा तेहरो शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बब काउपरको निधन भएको छ । बबको ८४ वर्षको उमेरमा आइतबार राति निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
उनी आफ्नो समयका प्रभावशाली अस्ट्रेलियन खेलाडी थिए । उनी ब्याटिङ अलराउन्डर थिए । विश्व क्रिकेटका थुप्रै हस्तीले बबको निधनप्रति दुःख व्यक्त गर्दै श्रृद्धाञ्जली अर्पण गरेका छन् । क्रिकेट अस्ट्रेलियाका अध्यक्ष माइक बेयर्डले पनि बबको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
‘हामीले महान क्रिकेटरलाई गुमाएका छौँ । यो दुःखको क्षणमा हामी बबप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदन व्यक्त गर्न चाहन्छौ,’ उनले भनेका छन् ।
एमसीजीमा आयोजित टेस्ट क्रिकेटमा बबले प्रहार गरेको तेहरो शतक सधैं स्मरणीय रहने उनले बताएका छन् ।
बायाँहाते ब्याट्सम्यान बबले सन् १९६६ मा मेलबर्न क्रिकेट ग्राउण्ड (एमसीजी) मा खेलिएको टेस्ट क्रिकेटमा इङ्ल्यान्डविरुद्ध तीन सय सात रन बनाएका थिए । अस्ट्रेलियामा खेलिएको टेस्टमा कुनै पनि ब्याट्सम्यानले बनाएको यो पहिलो तेहरो शतक थियो ।
बबकै उत्कृष्ट प्रदर्शनका कारण त्यतिबेला अस्ट्रेलियाले एसेज शृंखला पनि जितेको थियो । बबले सन् १९६४ देखि सन् १९६८ को बिचमा अस्ट्रेलियाका लागि २७ टेस्ट खेलेका थिए । त्यसमा उनले ४८.१६ को औसतले कुल दुई हजार ६१ रन बनाएका थिए ।
यस क्रममा उनले पाँच शतक पनि प्रहार गरेका थिए । केवल २८ वर्षको उमेरमा उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । त्यसपछि उनी आफ्नो व्यवसायमा केन्द्रीत भएका थिए । उनले भिक्टोरियाका लागि ८३ वटा प्रथम श्रेणीको प्रतियोगिता खेलेका थिए ।
सक्रिय खेलजीवनबाट विदा लिएपछि उनले आईसीसी म्याच रेफ्रीको रुपमा पनि काम गरेका थिए । सन् २०२३ मा उनलाई ‘अर्डर अफ अस्ट्रेलिया’ सम्मानले सम्मानित गरिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण