शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
सन्दर्भ : बुद्ध जयन्ती

बुद्धले ‘मैले भनेको भन्दैमा विश्वास नगर’ भनेर कहाँ र कुन परिवेशमा भनेका थिए ?

सोमबार, २९ वैशाख २०८२, ०८ : ०९
सोमबार, २९ वैशाख २०८२

बुद्धले ‘मैले भनेको भन्दैमा विश्वास नगर’ भनेका छन् भनेर धेरैले भन्ने गर्छन्, लेख्ने गर्छन् । यो सही कुरा हो कि बुद्धले सो कुरा भनेका थिए, तर त्यसरी लेख्नेसित पनि बुद्धले सो कुरा कहिले, कसलाई, कुन परिवेशमा भनेका थिए भन्ने कुराको ज्ञान भएको देखिँदैन । साथै, बुद्धले त्यसबेला भनेका कुराको पूर्ण जानकारी भएको देखिँदैन । एउटा प्रचलित भनाइ दोहर्‍याइए जस्तो मात्रै भएको छ ।

वास्तवमा बुद्धले त्यस बेला दिएको उपदेश स्वतन्त्र चिन्तनका पक्षमा गरिएको ‘घोषणापत्र’ नै भन्न मिल्छ । साथै त्यो उपदेश जड विश्वास, वैचारिक कट्टरता, मतान्धता र असहिष्णुता विरुद्ध गतिलो चुनौती पनि हो । त्यसैले सो कुरा बुद्धले कहाँ, कसलाई, कुन परिवेशमा भनेका हुन् र सम्पूर्ण कुरा के हो भन्ने पनि बुझियो भने यो कुरा अझै गहिराइमा बुझ्न सकिन्छ । यस आलेखमा यसैलाई विस्तृतमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

  • कालाम सूत्र

बुद्धको यो उपदेश त्रिपिटकमा अंगुत्तर निकायको केशमुक्त सूत्र वा कालाम सूत्रमा संग्रहित छ । त्यस बेला गौतम बुद्ध कोशल देशमा हुनुहुन्थ्यो । कोशल देश भनेको अहिलेको भारतको गोरखपुर र वरिपरिका स्थान हुन् । एक दिन बुद्ध हिँड्दै हिँड्दै केशमुक्त (कहीँ केशपुत्र पनि भनिएको) नामको सहरमा पुग्छन् । त्यहाँका बासिन्दालाई कालाम भन्निथ्यो । त्यसैबाट यो सूत्रको नाम केशमुक्त सूत्र वा कालाम सूत्र रहन गएको हो ।
कालामहरू बौद्धिक थिए, दार्शनिक ज्ञानका अध्येता र चिन्तक थिए । त्यसैले बुद्धले तिनलाई बेलाबेला ‘हे पण्डित’ भनेर पनि सम्बोधन गर्छन् । तिनीहरूले त्यस बेलाका अनेकौँ दार्शनिक गुरुहरूका कुरा सुनेका थिए । जब बुद्ध आफ्नो बस्तीबाट जाँदै थिए, दार्शनिक ज्ञानका पिपासु कालामहरूले बुद्धबाट पनि ज्ञानका केही कुरा सुन्न खोज्छन् । बुद्धले पनि उनीहरूको प्रार्थना स्विकारेर देशनाका लागि तयार हुन्छन् । तब कालामहरूले बुद्धलाई प्रश्न गर्छन्, ‘सबै विद्वान्हरूले आ–आफ्नै मत, आ–आफ्नै विचार ठिक भनेर भन्छन् । हामीले कसको मत, कसको विचार ठिक हो भनेर कसरी छुट्ट्याउने ?’

  • बुद्धकालीन दर्शनिक मतहरू    

कालामहरूको यो प्रश्नलाई बुझ्न पहिला बुद्धकालीन समाजका दार्शनिक मतहरूको अवस्था बुझ्न जरुरी हुन्छ । बुद्धको समयमा भारत दर्शनिक चिन्तनको उत्कर्षमा पुगेको थियो । त्यसबेला सयौँ साना ठुला श्रमण र ब्राह्मणहरू थिए, जो आ–आफ्नै दार्शनिक मत बोकेका थिए । जसरी २०औँ शताब्दीको उत्तराद्र्धमा जे कृष्णमूर्ति, ओशो रजनीश, साईबाबा, महर्षि महेश योगी, बाल योगेश्वर, स्वामी प्रभुपाद, यूजी कृष्णमूर्ति आदि फरक–फरक मतका प्रभावशाली दार्शनिकहरू भए, त्यसै गरी बुद्धको समयमा प्रमुख सात श्रमणहरू थिए । उनीहरूका आ–आफ्नै दार्शनिक मत थिए । तीबाहेक अन्य साना ठुला थुप्रै मतावलम्बीहरू थिए ।

बुद्धको समयमा भएका प्रभावशाली श्रमणहरू र तिनका दर्शन थिए, १) वर्धमान महावीर (अनेकान्तवाद), २) मक्खली गोशाल (नियतिवाद) ३) अजित केशकम्बल (भौतिकवाद), ४) पूरण काश्यप (अक्रियावाद), ५) प्रकुध कात्यायन (शाश्वतवाद), ६) सञ्जय बेलठ्ठीपुत्र (अज्ञेयवाद) र सातौँ गौतम बुद्ध (मध्यम मार्ग) आफैँ भइहाले । ती मतबाहेक वेदलाई शास्त्र मान्ने ब्राह्मणको छुट्टै परम्परा पनि थियो नै । फेरि वेदभित्रै षद्दर्शन भनेर अलग–अलग छवटा दर्शन थिए । बृहदारण्यक उपनिषदको पनि रचना भइसकेको अवस्था थियो । भौतिकवादको प्रभाव पनि उत्तिक्कै थियो, किनभने चार्वाक दर्शनको रचना पनि भइसकेको थियो नै ।

बुद्धको समयमा प्रचलित मतहरूमा कुनै सृष्टिकर्ता ईश्वरवादी र कुनै सृष्टिकर्ता नमान्ने थिए । कुनै आत्मा मान्ने र कुनै आत्मा, परमात्माको अस्तित्व नमान्ने भौतिकवादी थिए । कुनै पुनर्जन्ममै विशेष जोड दिने थिए भने कुनै पुनर्जन्म नमान्ने पनि थिए । कुनै नियतिवादी थिए भने कुनै कर्मवादी । कुनै प्रत्यक्षवादी थिए, जसले देखेको कुरा मात्रै मान्छु भन्छन् । त्यस्तै कोही साधनालाई जोड दिने थिए भने कोही कर्मकाण्डमा लाग्ने थिए । मुक्तिको विषयमा पनि फरक फरक धारणा थिए । कोही स्वर्गलोक जाने बाटो देखाउँथे त कोही ब्रह्मलोक । कोही कोही उपल्ला लोकहरूमा पुनर्जन्म लिनेभन्दा पनि मोक्षलाई लक्ष्य बनाउँथे ।


अनेकौँ मतावलम्बीका अनेक थरी कुरा सुनिसकेका विद्वान् कालामहरूले गौतम बुद्धलाई त्यो प्रश्न गर्छन् भने कुनै आश्चर्यको विषय होइन । कालामहरू सबैका फरक–फरक मत सुनिसकेर अलमलिएका देखिन्छन् । तब बुद्धलाई भेट्दा उनीहरू यो प्रश्न राख्छन्, ‘सबै विद्वानहरूले आ–आफ्नै मत, आ–आफ्नै विचार ठिक भनेर भन्छन् । हामीले कसको मत, कसको विचार ठिक हो भनेर कसरी छुट्ट्याउने ?’

धेरैलाई थाहा भएकै कुरा हो कि त्यस प्रश्नको उत्तरमा बुद्धले ‘सन्देह गर, परीक्षण गर, सुनारले सुनलाई घोटेर, पिटेर जाँचेजस्तै कुनै पनि विचारलाई विश्लेषण गरेर हेर’ भनेका थिए । तर थोरैलाई मात्र ज्ञान छ कि सो सूत्रको अन्तिममा बुद्धले के भनेका थिए ? वास्तविक महत्त्वपूर्ण कुरा त त्यो उत्तरभन्दा पछि बुद्धले कालामहरूलाई गर्ने प्रतिप्रश्न हो । त्यस विषयमा खासै चर्चा चलेको देखिँदैन । 

यस आलेखमा पहिला बुद्धले दिएका प्रत्यक्ष उत्तर प्रस्तुत गरिन्छ र अन्तिममा बुद्धका प्रतिप्रश्नहरू पनि उल्लेख गरिन्छ । सूत्रको अन्तिममा कालामहरूलाई बुद्धले गरेका प्रतिप्रश्नबाट बुद्धले मानवजातिलाई के बुझाउन खोजेको हो स्पष्ट हुन्छ । त्यो सरल छ, तर असाधारण छ ।

  • अविश्वासका दशवटा आधार

कालामहरूको प्रश्नमा बुद्धले के उत्तर दिए ?
बुद्ध भन्छन्, ‘प्रश्न गर्नु, सन्देह गर्नु राम्रै कुरा हो । कुनै पनि कुरा कसैले भन्यो भन्दैमा स्विकारिहाल्नुपर्ने भन्ने होइन । आफूलाई पक्का नलागेको विषयमा अनिश्चयमा रहनु पनि ठिकै हो ।’
कालामहरूको प्रश्नको उत्तरमा बुद्धले कुन कुन आधारमा सत्य मान्न हुँदैन भनेर दशवटा आधारहरू दिन्छन् । ती दश आधार हुन्—

१) धेरै पटक सुनेको भन्दैमा (अनुश्रव)
२) परम्परादेखि मान्दै आएको भन्दैमा (परम्पराय)
३) धेरै प्रचार वा चर्चामा आएको भन्दैमा (इतिकिराय)
४) शास्त्रमा लेखेको छ भन्दैमा (शास्त्रप्रमाण)
५) उपलब्ध तथ्यको आधारमा गरिएको अनुमानको भरमा, जस्तैै हाइपोथेसिस, सिद्धान्त (तर्कहेतु)
६) यो स्वयम् सिद्ध कुरा हो भन्दैमा (नयहेतु)
७) तर्कपूर्ण तरिकाले उपमाहरू दिएर प्रस्तुत गरिएको छ भन्दैमा (आकार–परिवितर्क)
८) आफ्नो विचारको पक्षमा झुकाव भएको भन्दैमा (दृष्टिनिध्यानक्षान्ति)
९) वक्ताको व्यक्तित्व भव्य छ भन्दैमा (भव्यरूप)
१०) आफ्नो गुरूले भनेको भन्दैमा (गुरू)

यसैमा बुद्ध थप्छन्—

तापाच्छेदाच्च निकषात् सुवर्णमिव पण्डितः ।
परीक्ष्य भिक्षवो ग्राह्यं मद्वचो न तु गौरवात् ।।

अर्थात्  ‘हे पण्डित, जसरी सुनारले आगोमा पोलेर सुनको गुण जाँच गर्छ, त्यसरी नै कसैको पनि कुरालाई आफैँ जाँचपरख परीक्षण गरेर मात्र ग्रहण गर्नुपर्छ, न कि कसैप्रति गौरव (विश्वास) को कारण, चाहे त्यो विश्वास मेरैप्रति होस् ।’ 

बुद्धले दिएका यी आधारबाट के बुझिन्छ भने हामीले कुनै पनि कुरालाई स्वीकार गर्न हतार गर्नु हुँदैन । अथवा, हतार गर्न आवश्यक छैन । विश्वस्त नभएको कुरालाई पछ्याउनुभन्दा बरु अनिश्चयमा रहनु बेस हुन्छ । हुन त अहिलेको युवा पुस्ता शास्त्रमा लेखिएको वा परम्परादेखि चल्दै आएको छ भन्दैमा कुनै कुरा स्विकारी हाल्दैनन् । बरु आलोचनात्मक चेत लगाएर तिनमा प्रश्न गर्छन् । कुनै गुरुले भनेको वा स्वयंसिद्ध कुरा भन्दैमा पछि लाग्ने पनि कमै होलान् ।

अहिलेको सामाजिक सञ्जालको युगमा अफवाह वा हल्लाको पछि लाग्ने धेरै युवाहरू नै छन् । जे कुराको धेरै प्रचार गरियो वा चर्चामा छ, त्यही कुराको पछि लाग्ने प्रवृत्ति हाबी भएको छ । यस्तै गलत सूचनाको आधारमा विश्वका धेरै ठाउँमा ठुल्ठुला क्षति भएका पनि छन् । साथै, यस्ता अफवाह सामाजिक सञ्जालमा धेरै दोहर्‍याइन्छन् । युवाहरू छिटै तातिहाल्ने र आवेगमा आएर पक्ष विपक्षमा लागिहाल्ने भएकोले आजका युवाका लागि बुद्धको यो सन्देश धेरै महत्त्वपूर्ण छ ।

जहाँ बुद्धले धेरै प्रचार र चर्चालाई विश्वासको आधार नमान्न भनेका छन्, त्यहीँनेर क्रूर तानाशाह एडोल्फ हिटलरले भनेको प्रसिद्ध वाक्य प्रासांगिक हुन आउँछ, ‘तिमीले पर्याप्त ठुलो झुट बोल्न सक्यौ र त्यसलाई धेरैपटक दोहोर्‍याउन सक्यौ भने अन्ततः मानिसहरू त्यसलाई विश्वास गर्न थाल्छन् ।’ आजकल मानिसहरू सामाजिक सञ्जाल धेरै हेर्छन् । कुनै कुरा दोहोर्‍याइतेहेर्‍याई देखाइएको छ भने हामी थाहै नपाई त्यसमा विश्वास गर्न पुग्छौँ । फेरि आत्म–प्रचारको अत्यधिक मोह भएका नेताहरू पनि छन् । अहिले सामाजिक सञ्जालमा यस्तो प्रचार प्रायोजन गर्न पनि सजिलो छ । हामीमा आलोचात्मक चेत भएन भन्देखि हेर्दा यो सानो प्रवृत्ति कालान्तरमा अत्यन्तै खतरनाक हुन सक्छ ।

२०औँ शताब्दीको पूवार्द्धमा हिटलरले जर्मन राष्ट्रवादको पक्षमा हल्ला फैलाए । उनले त्यस्ता हल्ला आफ्नो राष्ट्रवादी छवि बनाउन र आफ्नै लोकप्रियता फैलाउन प्रयोग गरे । यसैको आधारमा हिटलरले जर्मनीमा अत्यधिक लोकप्रियता हासिल गरे । भारी लोकप्रिय मतबाट चुनिएर उनी युवा उमेरमै देशका राष्ट्रपति बने । त्यसपछि जर्मनी देश मात्र होइन, विश्वकै अवस्था के भयो हामी सबै सामु छर्लङ्ग छ । त्यसबेला जर्मनीका जनता हिटलरले नियोजित रूपमा फैलाएको राष्ट्रवादी हल्लाको सिकार भए । उनीहरूले प्रचार र चर्चालाई सत्य ठाने । अफवाहलाई विश्वास गरे र चुनावमार्फत हिटलरलाई जिताए ।

हल्ला भनेकै कुनै खराब उद्देश्य प्राप्तिका लागि पनि फैलाइन्छ । त्यसबाट तपाईंलाई धेरै हित हुने देखाइन्छ । जब कि सत्य यो हुन्छ कि हल्ला फैलाउनेले आफ्नै अनुचित फाइदाका लागि तपाईंलाई प्रयोग गर्न खोजिरहेको हुन्छ । हल्लाले गर्ने पहिलो काम भनेको तपाईंको सोच्ने शक्तिलाई मन्द पार्नु हो । त्यस्तो हल्ला फैलाउने नायकको व्यक्तित्व पनि आकर्षक छ र बोली तर्कपूर्ण छ भने त मानिसहरू यत्तिकै विश्वास गर्न पुग्छन् । अझ उसको कुरा तपाईंको आफ्नै विश्वाससित मिल्दोजुल्दो पाउनुभयो भने त झनै छिटो विश्वास गर्न पुग्नुहुन्छ, एक किसिमले सम्मोहित हुन पुग्नुहुन्छ ।

त्यसैले नै बुद्धले यी आधारहरू स्थापना गरेका हुन् — व्यक्तित्व भव्य छ भन्दैमा पनि विश्वास नगरिहाल्नु; तर्कपूर्ण कुरा छ भने पनि विश्वास नगरिहाल्नु । आज पनि आम मानिसहरू तर्क र अनुमानको पछि लाग्छन्, बाहिर झल्किने व्यक्तित्वको पछि लाग्छन् । साधारण दिमागले सोच्लान् कि तर्कपूर्ण कुरा त ठिकै होला नि । त्यसमा विश्वास नगर्नुपर्ने कुरा के छ ? 

वास्तविक कुरा यो हो कि कुनै पनि कुरा तर्कपूर्ण रूपमा प्रस्तुत गर्ने एउटा कला हो । तार्किक रूपमा पत्यार लाग्दो तरीकाले प्रस्तुत गरिएको छ भन्दैमा त्यो कुरा सत्य हुन्छ भन्ने होइन । भौतिकवादमा आधारित दर्शनहरू एकदमै तार्किक हुन्छन् । बुद्धको समयमा अजित केशकम्बल भौतिकवादी अवधारण राख्थे । उनलाई ‘अजित’ भनिएकै तर्कमा उनलाई कसैले हराउन नसकिने भएकाले हो भनिन्छ । तर्कमा जित्दैमा उनको दर्शन अन्तिम सत्य त ठहरिएन । वास्तवमा तर्क गर्नसक्ने भनेको एउटा क्षमता वा खुबी हो । जोसित यो क्षमता बढी छ उसले जित्ने हो । कसैकसैसित त कुरैले मन जित्न सक्ने खुबी पनि हुन्छ । यो खुबी प्रायः धार्मिक, राजनीतिक नेताहरूसित हुन्छ । तिनले आफ्नो कुरालाई अनेक तर्क दिएर पत्याउँदो बनाउन सक्छन्, र सर्वसाधारण सजिलै तर्कजालमा फसाउन सक्छन् । यो कुरा हामीमध्ये कतिलाई अझै पनि थाहा छैन । तर गौतम बुद्धले २६०० वर्षअघि नै तार्किक पद्धतिको दृष्टिदोष ठम्याइसकेका थिए ।

  • बुद्धको उद्देश्य र अभिरुचि

अन्तिममा बुद्धले कालामहरूलाई प्रतिप्रश्न गर्छन्, ‘हे कालाम, तिमीहरूलाई के लाग्छ ? लोभरहित हुनुले मानिसलाई भलो गर्छ कि गर्दैन ?’

कालामहरू जवाफमा भन्छन्, ‘अवश्य भलो गर्छ ।

’बुद्ध : ‘हे कालाम, तिमीहरूलाई के लाग्छ ? द्वैषरहित हुनुले मानिसलाई भलो गर्छ कि गर्दैन ?’
कालामहरू : ‘अवश्य भलो गर्छ ।’
बुद्ध : ‘हे कालाम, तिमीहरूलाई के लाग्छ ? आशक्तिरहित हुनुले मानिसलाई भलो गर्छ कि गर्दैन ?’
कालामहरू : ‘अवश्य भलो गर्छ ।’
बुद्ध : ‘हे कालाम, लोभरहित, द्वैषरहित, आशक्तिरहित मानिसले कसैको ज्यान लिँदैन, चोरी गर्दैन, भ्रष्टाचारमा लिप्त हुँदैन, असत्य बोल्दैन भने त्यसले त्यो मानिसको हित हुन्छ कि नाइँ ?’
कालामहरू : ‘अवश्य हित हुन्छ ।’
बुद्ध : लोभरहित, द्वैषरहित, आशक्तिरहित भएर बाँच्दाखेरि, मानौँ अर्को जन्म, अर्को लोक छ भने त्यो मानिसले राम्रो जन्म पाउँछ, स्वर्गलोकमा उत्पन्न हुन्छ । मानौँ अर्को जन्म, अर्को लोक छैन भने पनि त्यो मानिस यही जीवनमा आनन्दित भएर, दोषरहित भएर पवित्र जीवन बाँच्छ । त्यसैले, बुद्धिमान मानिसहरू लोभरहित, द्वैषरहित, आशक्तिरहित भएर चित्तमा मैत्री, करुणा, मुदिता, उपेक्षा साँचेर बाँच्छन् ।’

निचोड : मति परिवर्तन महत्त्वपूर्ण

यसबाट के बुझिन्छ भने कुन दर्शन, कुन विश्वास ठिक वा बेठिक भन्ने कहिल्यै नटुङ्गिने विवादमा बुद्धले व्यर्थैको चासो राखेका छैनन् । बरु बुद्धको अभिरुचि त चित्त शुद्धिमा छ । मानिसहरू आफ्नै विश्वासको प्रचारमा लागिरहन्छन् । अरुको विश्वास परिवर्तन गराउनमा लागिरहन्छन् । तर, एउटा विश्वास वा धर्म परिवर्तन गर्दैमा मानिस परिवर्तन हुने होइन । वा भनौँ मानिसको चित्त परिवर्तन हुने होइन । बुद्धको जोड सधैँ चित्तको शुद्धता वा मति परिवर्तनमा रहेको छ न कि विश्वास परिवर्तनमा ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आर‍. मानन्धर
आर‍. मानन्धर
लेखकबाट थप