आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

६० वर्षमा पनि जवान देखिन चाहनुहुन्छ ? पिउनुस् यी चिज

बुधबार, ३१ वैशाख २०८२, ०६ : ३७
बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । ३०–३५ वर्षको उमेरमै आफ्नो अनुहारमा बुढ्यौलीको सङ्केत देखिन थालेको कसलाई पो मन पर्छ र ? बुढ्यौलीले छोइसक्दा पनि छाला खुकुलो र झोलिएको नदेखियोस् भन्ने चाहना हामी सबैको हुन्छ । 

हामीले उमेर  छिप्पिइसक्दा पनि आफ्नो छालालाई चाउरीपन, डन्डीफोरको दाग, धर्साधर्सी, बिबिरा आदिबाट मुक्त राख्न पनि सक्छौँ । तर यो तब मात्र सम्भव छ, जब तपाईँ आफ्नो छालाको उचित हेरचाह गर्नुहुन्छ । 

आफ्नो जीवनशैली परिवर्तन गर्ने, स्वास्थ्यकर चिजहरूको मात्रै उपभोग गर्ने अनि छालामा घरेलु उपचारहरू प्रयोग गर्ने गर्नुपर्छ । 

एन्टिअक्सिडेन्ट र कोलाजेन बढाउने पोषक तत्त्वहरूले भरिपूर्ण केही प्राकृतिक एन्टी–एजिङ्ग पेय पदार्थहरू पनि सेवन गर्न सकिन्छ । 

ग्रिन टी

green tea

छाला लामो समयसम्म चम्किलो राख्न र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन ग्रिन टी उपयुक्त हुन सक्छ । एन्टी–एजिंग पेय पदार्थको रूपमा यसलाई सेवन गर्न सकिन्छ । यसमा क्याटेचिन हुन्छ । यो एक प्रकारको एन्टिअक्सिडेन्ट हो, यसले शरीरलाई फ्री रेडिकलबाट हुने क्षतिबाट बचाउँछ । यसले छालाका कोषहरू समयपूर्व बुढ्यौली, चाउरीपन र नीरस छालाबाट पनि जोगाउँछ । ग्रिन टीले कोलाजेनलाई सुरक्षित राख्छ र छालाको लचिलोपनमा सुधार ल्याउँछ । 

चुकन्दरको जुस 

chukundar

चुकन्दरमा भिटामिन सी, आइरन, नाइट्रेट पाइन्छ, जसले छालामा रक्तसञ्चार बढाएर डिटोक्सिफाई गर्न मद्दत गर्छ । यसको जुस पिउनाले छालाको स्वास्थ्यमा सुधार आउँछ, छाला स्वस्थ रहन्छ । यसको सेवनले छालाका कोषहरू स्वस्थ रहन्छन् । चुकन्दरको जुसले कोलाजेनको उत्पादन बढाउँछ । शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ । हरेक दिन एक गिलास चुकन्दरको रस पिउन सके छालालाई जवान, चम्किलो र स्वस्थ राख्न सकिन्छ । 

अनारको जुस 

anar

अनार फलाम र विभिन्न पोषक तत्वले भरिपूर्ण छ । यसको जुसले घामको किरणबाट हुने छालाको समस्या कम गर्न मद्दत गर्छ । यसले छालामा देखिने समयपूर्व बुढ्यौलीका संकेतहरूलाई कम गर्छ । कोलोजेन उत्पादन बढाउँछ । फ्री रेडिकलहरूसँग लड्छ । पिग्मेन्टेसन र बुढ्यौलीका लक्षणहरू घटाउँछ र फाइन लाइनहरू आदि कम गर्छ । हप्तामा दुई पटक अनारको रस पिएर आफ्नो छालालाई स्वस्थ राख्न सकिन्छ । 

बेसार हालेको दूध 

milk

दूधमा बेसार मिसाएर पिउँदा रुघाखोकीजस्ता लक्षण नियन्त्रण गर्न त मद्दत मिल्छ नै, यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । यसले छालालाई पनि धेरै तरिकाले फाइदा पुग्छ । 

यो एक शक्तिशाली एन्टी–इन्फ्लेमेटरी पेय पदार्थ हो, बेसार छालालाई स्वस्थ र दागरहित राख्न वर्षौँदेखि प्रयोग हुँदै आएको छ । बेसारले पुरानो इन्फ्लेमेसन, छालामा भएको क्षतिजस्ता समस्या कम गर्छ । 

यी जुस र पेय पदार्थहरूसँगै छालालाई हाइड्रेटेड राख्न प्रशस्त मात्रामा पानी, ताजा तरकारीबाट बनेको सुप, ताजा फलफूलको जुस पनि पिउन सकिन्छ । 

गर्मीमा छालालाई स्वस्थ राख्न दहीबाट बनेको लस्सी, मोही आदि पिउन सकिन्छ । यसले शरीरमा क्याल्सियमको कमी हुन दिँदैन । शरीर र छाला हाइड्रेटेड रहन्छ । इन्फ्लेमेसन कम गर्छ । 

यी सबै प्राकृतिक पेय पदार्थहरूले कम उमेरमा बुढ्यौलीका लक्षणहरू रोक्न काम गर्छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप