बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

दोस्रो पटक म्याद थप्दा पनि टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण

बुधबार, ३१ वैशाख २०८२, १९ : ५०
बुधबार, ३१ वैशाख २०८२

समाचार सारांश

  • नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरणका लागि म्याद थपिए पनि केही जिल्लाले अझै काम सकेका छैनन्।
  • महामन्त्री गगन थापाको नेतृत्वमा रहेको समितिले नवीकरण नसक्ने जिल्लाको विवरण संकलन गर्न बैठक बोलाउने तयारी गरेको छ।
  • विवाद भएका जिल्लाहरूमा नवीकरणको काम अझै बाँकी रहेको बताइएको छ।
  • पार्टीले यसअघि महाधिवेशनको मिति घोषणा नहुँदै सदस्यता नवीकरण सुरु गरेको यो पहिलो पटक हो।

काठमाडौँ । महामन्त्री गगन थापा नेतृत्वको नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले क्रियाशील सदस्यता नवीकरणका लागि दोस्रो पटक म्याद थपेर जिल्लाहरूलाई दिएको समय आज सकिएको छ । 

समिति संयोजक महामन्त्री थापाले दोस्रो पटक थपेको समयमा पनि क्रियाशील सदस्यता नवीकरणको काम सबै जिल्लाले टुङ्ग्याउन नसकेको जानकारी दिए । ‘हामीले नवीकरणको काम टुङ्ग्याउन आजसम्मको समय दिएका थियौँ । सबैले त सकेका छैनन्, केहीले भने सकेर पठाएको जानकारी गराएका छन्,’ महामन्त्री थापाले रातोपाटीसँग भने । 

कति जिल्लाले पार्टीले दिएको समयमा क्रियाशील सदस्यताको नवीकरण गरिसकेर फाराम केन्द्रमा पठाए ? कतिले सकेनन् ? र किन सकेनन् भन्ने निर्क्योल गर्न सकभर जेठ १ गते बिहीबार समितिको बैठक बस्ने तयारी आफूले गरेको महामन्त्री थापाले बताए । ‘कतिले तोकिएको समयमा दिइएको जिम्मेवारी पूरा गरे । कतिले के कारणले पूरा गरेनन् भन्ने निश्चित गर्न हामी सकभर भोलि समितिको बैठक बस्ने तयारीमा छौँ,’ महामन्त्री थापाले भने । विवाद भएका जिल्लाहरूले नवीकरणको काम नसकेको उनको भनाइ छ । 

वैशाख १६ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको थापा नेतृत्वको केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको समितिले आजसम्म जिल्लाहरूलाई नवीकरणको काम सक्न समय दिएको थियो । जिल्लाहरूलाई सदस्यता नवीकरणको काम अनलाइनमा गर्न पार्टी वेबसाइटमा वैशाख मसान्तसम्मका लागि जिल्लालाई क्रियाशील सदस्यता नवीकरण गर्न एक्सेस समितिले दिएको थियो । आजसम्म नवीकरणको काम नसक्ने र सक्ने जिल्लाको त्यो एक्सेस स्वतः बन्द गर्ने निर्णय पनि समितिले त्यही बैठकले गरेको थियो । 

कांग्रेस केन्द्रीय कार्यसमितिको गत पुस १९ को बैठकले महामन्त्री थापाको संयोजकत्वमा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ बनाएर चैत मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरिसक्न निर्देशन दिएपछि संयोजक थापाले माघ ३ गते ७७ वटै जिल्ला समिति सभापतिहरूलाई परिपत्र गर्दै चैत २९ गते शुक्रबार दिउँसो ३ बजेसम्म  क्रियाशील सदस्यता नवीकरण गरि सम्पूर्ण कागजात केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिएका थिए । 

तर, जिल्ला समितिहरूले निर्देशन बमोजिम काम गर्न नसकेपछि चैत मसान्तमा १५ दिन म्याद थप्ने निर्णय समितिले गरेको थियो । त्यो समयमा पनि जिल्लाले काम नटुङ्ग्याएपछि पुनः समय थप गरेर वैशाख मसान्त (आज)सम्मको समय दिइएको थियो । 

१४ औँ महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य कायम गरिएको थियो ।

महामन्त्री थापाले कांग्रेसमा यसभन्दा अघि महाधिवेशनको मिति घोषणा नहुँदासम्म क्रियाशील सदस्यता नवीकरण र वितरणको काम नहुने गरेकोमा अहिले पहिलो पटक महाधिवेशनको मिति घोषणा नहुँदै गर्ने प्रयास गरिएको बताए । त्यो प्रयासलाई सार्थकता दिन आफू लागिरहेको उनको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप