‘अप्रेसन सिन्दुर’ पछि भारतसामु आत्मसमीक्षा र परिवर्तनको दुर्लभ अवसर
_JiEuUQWTDN.jpg)
समाचार सारांश
- पहलगाम हमलाले भारतलाई पाकिस्तानसँग सैन्य झडपमा हार्न बाध्य बनायो, साथै प्रधानमन्त्री मोदीको विश्वसनीयतामाथि प्रश्न उठायो।
- भारतको सैन्य आक्रमण असफल भयो, र पाकिस्तानले भारतीय लडाकु विमान खसालिदियो, जसले रणनीतिक कमजोरी उजागर गर्यो।
- अमेरिकी हस्तक्षेपपछि भारत-पाकिस्तान युद्धविराममा सहमत भए, तर यसले भारतको क्षेत्रीय प्रभुत्व र मोदीको नेतृत्वको सीमालाई उजागर गर्यो।
कश्मीरको पहलगाममा पर्यटकमाथि भएको हमलाले केवल २६ जनाको बीभत्स हत्या मात्रै गरेन, यसले भारतलाई पाकिस्तानसँगको सैन्य झडपमा हार्नुपर्ने अवस्था सिर्जना गरिदियो । यसले त्यति मात्रै क्षति गराएन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वसनीयतामा समेत अभूतपूर्व सङ्कट खडा गरिदियो ।
भारतले सैन्य आक्रमण प्रभावकारी बनाउन सकेन, पाकिस्तानले उल्टै भारतीय लडाकु जहाजहरू तथा कम्तीमा एउटा ड्रोन समेत खसालिदियो । यसले भारतको रणनीतिक दृष्टिकोण, सैन्य तागत तथा कूटनीतिक स्वायत्तताबारे नयाँ कमजोरी उदाङ्गो पारिदियो ।
घटनाक्रम नियाल्दा लडाइँको मैदानमा देखिएका त्रुटिपूर्ण कदमदेखि अमेरिकासामु कूटनीतिक हारगुहारजस्ता असफलताले दक्षिण एसियामा भारतको प्रभुत्व कायम राख्नकै लागि पनि भारतले धेरै ठुलो सुधार तथा आत्मसमीक्षा गर्नुपर्ने देखिएको छ । यी सबैको सार भनेको अबका दिनमा भारतमा मोदीको गिर्दो नेतृत्वको विकल्प खोज्नुपर्छ भन्ने नै हो ।
पहलगाम आक्रमणले कश्मीर द्वन्द्वको जटिल अवस्थामा भारतको आन्तरिक सुरक्षा प्रणालीमा भएको कमजोरीलाई सतहमा ल्याइदिएको हो, तर मोदी यसलाई स्विकार्ने र सुधार गर्नुको सट्टा सनकका भरमा पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण लगायत सैन्य कारबाहीमा उत्रिए, जसलाई ‘अपरेसन सिन्दुर’ नाम दिइयो ।
यो सैन्य अभियान विश्वसनीयताको कसीमा सोझै असफल भयो । पाकिस्तानले चीनमा बनेका लडाकु विमानको सहयोगमा आकाशबाट आकाशमै मार हान्न सक्ने (एयर टु एयर मिसाइल) क्षेप्यास्त्रको प्रयोग गरेर भारतीय लडाकु विमान खसालिदियो । खसालिएका केही विमान फ्रान्समा बनेका राफेल विमान थिए । भलै यो दाबीलाई नयाँ दिल्लीले भने सोझै खारेज गरेको छ ।
घटनाक्रम नियाल्दा लडाइँको मैदानमा देखिएका त्रुटिपूर्ण कदमदेखि अमेरिकासामु कूूटनीतिक हारगुहारजस्ता असफलताले दक्षिण एसियामा भारतको प्रभुत्व कायम राख्नकै लागि पनि उसले धेरै ठुलो सुधार र आत्मसमीक्षा गर्नुपर्नेछ ।
विश्वभरका सञ्चारमाध्यममा पाकिस्तानको दाबी अनुसार नै विभिन्न स्रोत तथा प्रमाण उल्लेख गरेर भारतीय लडाकु विमान चिनियाँ क्षेप्यास्त्रले खसालेका खबर आइरहेका छन् । यो खबर सत्य हो भने भारतको तुलनामा कमजोर स्तरको ठानिएको पाकिस्तानी सेनाले राफेल जस्तो भारतले प्रयोग गर्ने सबैभन्दा शक्तिशाली विमान खसालेको कुरा सामान्य सन्दर्भ मात्रै हुन सक्दैन, यसले भारतको क्षेत्रीय प्रभुत्वको दाबीमाथि नै सर्मनाक प्रहार गर्छ । आफूलाई दक्षिण एसियाको प्रभुत्वशाली मान्ने भारतको क्षमतामाथि गम्भीर प्रश्न उठ्छ ।
घटनाले नाटकीय मोड त्यतिबेला लियो, जब आफैँले सुरु गरेको हमलाको शृङ्खलामा पाकिस्तानको प्रत्याक्रमणसामु पराजयको सङ्केत देखिन थालेपछि भारतीय विदेशमन्त्री एस जयशङ्कर तथा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल मध्यस्थताका लागि अमेरिकालाई गुहार्न पुगे ।
अमेरिकी दबाबमा भारत–पाकिस्तान मे १० तारिखमा युद्धविरामका लागि सहमत भए । यसले दुई दिनपछि कमान्डर तहमा हुने कुराकानी पनि मोटामोटी तय गर्यो ।
यसले आणविक शक्तिसम्पन्न मुलुकबिचको द्वन्द्वलाई तत्कालका लागि साम्य बनाइदिए पनि धेरै गम्भीर विषयलाई सतहमा ल्याइदिएको छ । मुख्य कुरा भारतले आफ्नो क्षेत्रको द्वन्द्व निवारणका लागि समेत पश्चिमा शक्तिको भर पर्नुपरेको देखिएको छ । यसले कम्तीमा भारतको ‘रणनीतिक स्वायत्तता’ भन्ने कुरामा गहिरो धक्का लागेको छ ।
साथै यी घटनाक्रमले आज पनि मिल्न बाँकी रहेको कश्मीरको मुद्दाका जटिलता तथा ठुला जोखिम पनि सतहमा ल्याइदिएको छ । साथै आतङ्कवाद नियन्त्रणमा अन्तर्राष्ट्रिय समुदायको भूमिका पनि बाँकी नै रहेको देखाएको छ । सारमा यी सबै सन्दर्भले भारतले यी समस्या आफैँ समाधान गर्नका लागि चाहिने उसको कूटनीतिक क्षमताको सीमा पनि उजागर गरिदिएको छ ।
- भारतको गिर्दो क्षेत्रीय प्रभुत्व
दशकौँदेखि भारतले दक्षिण एसियालाई आफ्नो प्रभाव क्षेत्रका रूपमा हेर्ने गरेको छ । अमेरिकाले अमेरिकी महाद्वीपमा अभ्यास गरेको ‘मुनरो डक्ट्रिन’जस्तै हिन्द महासागरमा आफ्नो वर्चस्व कायम गर्न खोज्छ । नेपाल, भुटान, बङ्गलादेश, श्रीलङ्का तथा माल्दिभ्सजस्ता छिमेकी मुलुकमा आफ्नो प्रभाव बढाएर उसले दक्षिण एसियाली उपमहाद्वीपमा आफूलाई प्रभुत्वशाली शक्ति ठान्छ । पहलगामको अपमानजनक नतिजा तथा यसले निम्त्याएको अमेरिकी हस्तक्षेपले अब वर्चस्वको भाष्यलाई कमजोर बनाइदिएको छ ।
आजसम्म भुटानमा भारतको प्रभाव कायमै रहेको देखिए पनि अन्य दक्षिण एसियाली मुलुकमा भने भारतको प्रभाव निरन्तर घटिरहेको छ । दक्षिण एसियामा अन्य शक्तिले आफ्नो प्रभाव बढाउँदै लगेका छन् । नेपालमा नयाँ दिल्लीले चाहेको सरकार नभएर पश्चिमातर्फ सद्भाव राख्ने सरकार छ । यसैबिच बङ्गलादेश, श्रीलङ्का तथा माल्दिभ्स लगायत मुलुकहरू चीन तथा अन्य वैश्विक शक्तिहरूसँगको सम्बन्ध थप सघन बनाउँदै छन् । यसले पनि दक्षिण एसियामा भारतको प्रभाव थप कमजोर बनाइरहेको छ ।
पाकिस्तानीले राफेल विमान खसालेको कुरा सामान्य होइन, यसले त भारतको क्षेत्रीय प्रभुत्वको दाबीमाथि नै सर्मनाक प्रहार गरेको छ ।
यसरी प्रभावमा भइरहेको स्थानान्तरणले दक्षिण एसियाको शक्ति सन्तुलनमा व्यापक हेरफेर हुँदै गरेको देखाउँदै छ । यसबाट एकल प्रभुत्वशाली शक्तिका रूपमा भारतको प्रभुत्व ओरालो लागेको प्रस्ट हुन्छ । यस्तो परिदृश्यबिच पहलगाम संस्करणले भारतको बढ्दो कमजोरी थप सतहमा ल्याइदिएको छ । यो परिघटनाका कारण भारतका छिमेकीहरू वैकल्पिक गठन्बन्धन वा सम्बन्ध विस्तार अझै बढाउनेतर्फ लाग्ने सम्भावना बढेको छ ।
शक्तिमा आएदेखि नै मोदीले भारतलाई अनवरत रूपमा ‘विश्वगुरु’ तथा उदाउँदो महाशक्तिका रूपमा प्रवर्द्धन गरिरहेका छन् । यसो गर्न उनले आर्थिक सैन्य आधुनिकीकरण तथा वैश्विक शक्तिको चर्चा गर्ने गरेका छन् । भारतको सामरिक क्षमता तथा रणनीतिबारे गम्भीरतासाथ हेरिरहेका विज्ञहरू भने भारत अझै महाशक्तिको छेउ समेत पुगिनसकेको बताउने गर्छन् । उनीहरूका अनुसार भारतलाई सीमित क्षमतासहितको मध्यम शक्तिका रूपमा मात्रै वर्गीकरण गरिनु तथ्यसङ्गत हुन्छ ।
पछिल्लो समय पहलगामको घटना तथा चिनियाँ हतियार प्रयोग गरेर भारतलाई आच्छु–आच्छु पारेको सन्दर्भमा त भारतको मध्यमस्तरको शक्तिको हैसियतको मूल्याङ्कन पनि अतिशयोक्तिजस्तो देखिन्छ ।
- पश्चिमाको पछि लाग्नुका दुःख
हामीलाई लाग्न सक्छ, भारतको खस्कँदो हैसियतबारे सबैभन्दा पेचिलो आलोचना परम्परागत रूपमा भारतका प्रतिद्वन्दीका रूपमा रहेका मुलुकहरू चीन वा पाकिस्तानबाट भएको छ । आश्चर्यजनक रूपमा यस्तो आलोचना भारतको सामरिक सहयोगी भनिएको तथा विभिन्न गठबन्धनमा समेत सामेल राष्ट्र अमेरिकाबाट भएको छ ।
मोदीको स्वघोषित ‘महान मित्र’ अमेरिकाले भारतको गिर्दो हैसियत झल्काउने आफ्ना विभिन्न कदममार्फत यस्तो कुरा स्पष्ट देखाउने गरेको छ । सन् २०२१ को नोभेम्बरमा अमेरिकाले हिन्द महासागरमा ‘फ्रिडम अफ नेभिगेसन’ अभियान सञ्चालन गर्यो । त्यसले भारतको प्रभाव क्षेत्र मानिने भूगोलमा अमेरिकाको आक्रामक व्यवहार देखायो । भारत–पाकिस्तान तनावको पछिल्लो अवस्थामा अमेरिकाले मध्यस्थता गरेर सुरु गराएको युद्धविरामले त्यही रबैयालाई नै थप परिष्कृत र मजबुत बनाएको छ ।
विश्लेषकहरू यसअघि नै अमेरिकाले मोदीबाट आफ्ना लागि धेरै सहुलियतहरू हासिल गरिसकेको अनुमान गर्ने गर्छन् । मध्यस्थता मूल्य चुकाउनका लागि भारतलाई अप्ठेरा सर्तहरू मान्न बाध्य गराएको हुन सक्छ । यहाँनेर ख्याल गर्नुपर्ने अर्को कुरा छ, डोनाल्ड ट्रम्पले गत अप्रिल २ मा थालेको ‘लिबरेसन डे’ भनिने भन्सार महशुल वृद्धिमा सबैभन्दा ठुलो चोट पाउने मुलुक भारत नै थियो ।
पहलगाम घटना तथा लगत्तै भएको सैन्य संघर्षमा आफ्नो चिरप्रतिद्वन्द्वी पाकिस्तानको हातबाट भेटेको अपमानजनक प्रहारले भारतभित्रको ठुलो पङ्क्तिलाई आफ्नो मुलुकको कमजोरी तथा मोदीको असफलता एकैचोटि देखाइदिएको छ ।
यस्तो रकमी शैलीको कूटनीतिले अमेरिकी शिविरमा भारतको हैसियत रणनीतिक स्वायत्त घट्दै अधीनस्थ मुलुकको दर्जामा पुगेको जस्तो देखाउँछ । अमेरिकाको दौँतरीका रूपमा आफूलाई प्रस्तुत गर्ने भारतको खास हैसियत भने आफ्नो इच्छा अनुसार खेलाउन सकिने सामान्य गठबन्धन सदस्यको मात्रै देखिन्छ ।
भारतको महाशक्ति बन्ने महत्त्वाकाङ्क्षा अमेरिकी रणनीतिक प्राथमिकताहरूको प्यादा बन्नुपर्ने नियतिमा पुगेको भान हुन्छ, यसले अबको बहुध्रुवीय विश्वमा भारतले स्वतन्त्र ढङ्गले आफ्नो बाटो समात्न सक्नेमा धेरै ठुलो प्रश्नचिह्न खडा गरेको छ ।
पश्चिमाले कहिलेकाहीँ मोदीलाई प्रशंसामार्फत फुर्काउने गरेका छन् । यसको अन्तर्यमा के छ भनेर उनले बुझ्न सक्नुपथ्र्यो । आत्मप्रशंसाको भोकमा उनले ती कुरा बुझ्न सक्नेनन्, जसले भारतको दुःख अझ गुणात्मक रूपमा थपिदियो । पश्चिमा शक्तिहरू प्रायः आफूले चलाउन सकिने नेताबारे कृत्रिम प्रशंसा गरिदिन्छन् । आफूले फाइदा लिनुपर्ने नेतालाई भए/नभएको तागत, विचार तथा दृष्टिकोणको पगरी भिराएर मक्ख बनाइदिन्छन् । मोदीले यस्तो प्रशंसालाई आफ्नो बढ्दो शक्तिको प्रमाणका रूपमा लिए । प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो कार्यकालको सुरुवातमा उनले पश्चिमाको वकालत गर्ने कूटनीतिज्ञ एस जयशङ्करलाई भारतको विदेश सचिव नियुक्त गरे । सन् २०१९ मा दोस्रो कार्यकाल सुरु हुनासाथ तिनै जयशङ्कर विदेशमन्त्री बनाइए । यसले भारतको विदेशनीतिलाई अझ बलियो गरी अमेरिकामैत्री बनाउँदै लग्यो । अमेरिकासँगको यस्तो गठजोडको परिणाम भने घट्दो प्रतिफल दरमा देखिन थाल्यो । अर्थात् जति–जति भारत अमेरिकाको नजिक पुग्छ, त्यति नै उसले अमेरिकी मुद्दा बोकेर हिँड्नुपर्ने बाध्यता छ ।
त्यसैगरी भारतभित्र सरकार समर्थित ‘गोदी मिडिया’ले मोदीको भए/नभएको महिमामण्डन गर्दै चामत्कारिक व्यक्तित्व बनाउने काम गरेको छ । त्यहाँ मोदीलाई सशक्त तथा निर्णायक नेताका रूपमा प्रस्तुत गर्ने गरिएको छ । यो भाष्यसँग फरक धारणा राख्ने पत्रकारहरू, बुद्धिजीवीहरू तथा अभियन्ताहरूलाई राज्य शक्तिको दुरूपयोग गरेर चुप लगाइएको छ । यसरी त्यहाँ यस्तो ‘इको च्याम्बर’ खडा भएको छ, जसले मोदीलाई यथार्थबाट धेरै टाढा पुर्याएको छ ।
यसरी कृत्रिम व्यक्तित्व बोकेका मोदी पहलगामको असफलता तथा लगत्तैको अमेरिकी हस्तक्षेपपछि धतङ्ङिएका छन् । भारतको खास तागत यसको आर्थिक क्षमता, प्राविधिक प्रगति तथा रणनीतिक कुशाग्रता जस्ता कुरामा भर पर्छ । पश्चिमाहरूले निराधार खडा गरेका झुटो प्रशंसाका हल्लाखल्ला वा मुलुकभित्रका चाकडीले भरिएका भाष्यले यसमा केही योगदान गर्दैनन् ।
मोदीले यस्तो कुरा बेलैमा ठम्याउन सकेनन् । यसले गर्दा भारत जोखिमपूर्ण भ्रममा फस्यो । पहलगाम घटना तथा लगत्तै भएको सैन्य सङ्घर्षमा आफ्नो चिरप्रतिद्वन्द्वी पाकिस्तानको हातबाट भेटेको अपमानजनक प्रहारले भारतभित्रको ठुलो पङ्क्तिलाई आफ्नो मुलुकको कमजोरी तथा मोदीको असफलता एकैचोटि देखाइदिएको छ ।
- मोदी बहिर्गमनपछिको भारत
यी तमाम सङ्कटले खडा गरेका चुनौतीमाझ भारतसामु आत्मसमीक्षा तथा परिवर्तनको दुर्लभ अवसर पनि छ । भारतले आफ्नो प्राथमिकता सुधार्नैपर्ने हुन्छ । उसले आर्थिक उत्थान, सैन्य आधुनिकीकरण तथा विदेशनीतिमा फेरबदल गर्दै घट्दो क्षेत्रीय प्रभाव तथा शक्तिमा सुधार ल्याउनुपर्छ ।
भारतले आफ्नो क्षेत्रीय शक्ति पुनर्स्थापना गर्न आफ्ना छिमेकीलाई विश्वासमा लिनु अत्यावश्यक छ । त्यति नै महत्त्वपूर्ण पश्चिमा शक्तिहरू खास गरी अमेरिकासँगको निर्भरता घटाउनु पनि छ । यसका लागि भारतले आफ्नो मौलिक भूराजनीतिक यथार्थ अनुरूपको सन्तुलित तथा सशक्त कूटनीतिको उपयोग गर्नुपर्ने हुन्छ ।
पहलगाम घटनापछि भारतमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (नेसनल डेमोक्रेटिक अलायन्स– एनडीए) कठिन निर्णयको सङ्घारमा छ । उनीहरूसामु मोदीलाई निरन्तर गर्ने वा नयाँ नेतृत्व खोज्ने भन्ने प्रश्न खडा भएको छ । मोदीका खराब विशेषता खासगरी रणनीति बनाउने कुरामा कच्चा शैली, चाकरी तथा चाप्लुसीमा खुसी हुने प्रवृत्ति तथा एकपछि अर्को कूटनीतिक गल्तीका कारण अहिलेको जटिल बहुध्रुवीय संसारका उल्झन पार लगाउन अझै अप्ठेरो पर्ने देखिन्छ । कुनै अर्को नयाँ नेताले मात्र अबका दिनमा भारतलाई थप व्यावहारिक र प्रभावकारी मार्गमा डोर्याउन सक्छ ।
पहलगाम आक्रमण तथा यसले ल्याएका पछिला अनपेक्षित परिणामले भारतलाई साँच्चै गहिरो सङ्कटमा पारेको छ । भारतको क्षेत्रीय प्रभुत्वको सीमा तथा मोदीको नेतृत्वका कमजोरीलाई उजागर गरिदिएको छ । गत एक दशकभन्दा अघिदेखिका ठुल्ठुला बयानबाजी तथा पुरुषार्थले भरिएको छविको ब्यानरतल हुर्काउन खोजिएको भारतको महाशक्ति आकाङ्क्षा पनि पहलगाम घटना र यसबाट उत्पन्न परिणामले चकनाचुर पारिदिएको छ ।
दक्षिण एसियाको राजनीतिक परिस्थिति फेरिँदै गएको परिप्रेक्ष्यमा भारतले आफूलाई कठोरतासाथ सुधारेर मात्रै विश्व मञ्चमा आफ्नो भूमिका पुनर्परिभाषित गर्न सक्छ । अबका दिनमा मोदी जति धेरै समय शक्तिमा रहन्छन्, त्यति नै भारतको हैसियत अप्ठेरोमा पर्दै जान्छ ।
पहलगामले धेरै कुराहरू सतहमा ल्याइदिएको छ । सबैभन्दा ठुलो कुरा पहलगामले भारतलाई मोदीको विकल्प खोजेर भविष्यका लागि मार्ग परिवर्तन गर्नुपर्ने तथ्य नाङ्गो आँखाले देख्न सकिने गरी अगाडि ल्याइदिएको छ ।