रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत

समाचार सारांश
- वरिष्ठ पत्रकार भारदत्त कोइरालालाई रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरियो, जसमा रु १ लाख १ हजार पुरस्कार दिइयो।
- खोजी पत्रकारिता, स्वास्थ्य, सरसफाइ, मानसिक स्वास्थ्य, शिक्षा, र सुदूरपश्चिममा पत्रकारिताका लागि अन्य पत्रकारहरूलाई पनि पुरस्कृत गरियो।
- रोटरी इन्टरनेसनलले पत्रकारितामा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ, र आगामी सम्मेलनमा ठूलो पुरस्कार दिने योजना बनाएको छ।
पाटन । रोटरी ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट अग्रज पत्रकार भारदत्त कोइराला पुरस्कृत भएका छन् । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानद्वारा आज ललितपुरमा आयोजित रोटरी जर्नो अवार्ड २०२४–२०२५ मा अग्रज पत्रकार कोइरालालाई रु एक लाख एक हजार राशिको रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्डबाट पुरस्कृत गरिएको हो ।
नेपालमा लामो समयसम्म पत्रकारिता तथा सञ्चारको क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको उक्त पुरस्कार अघिल्लो वर्ष स्व.भैरव रिसाललाई प्रदान गरिएको थियो । नेपालको पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने अग्रज पत्रकारलाई हरेक वर्ष सम्मान गर्ने उद्देश्यले सुरेश आचार्य र प्रभात योञ्जनले पुरस्कारका लागि योगदान गरेका थिए ।
रु ५१ हजार राशिको जर्नो अवार्ड २०२४–२५ बाट खोजी पत्रकारिताका क्षेत्रमा क्रियाशील पत्रकार अनिता भेटवाल, स्वास्थ्य क्षेत्रमा पत्रकारिता गरेकी कल्पना आचार्य, सरसफाइ तथा खानेपानीको क्षेत्रमा काम गरेका सागर परियार, मानसिक तथा बाल स्वास्थ्यका क्षेत्रमा काम गरेकी उन्नति चौधरी, आधारभूत शिक्षा तथा साक्षरताका क्षेत्रमा क्रियाशील तीन दशकदेखि पत्रकारितामा सक्रिय कान्तिपुर दैनिकका पत्रकार नारायण किलम्बु, २०६० सालदेखि सुदूरपश्चिमबाट पत्रकारितामा क्रियाशील कारोबार दैनिकका समाचारदाता पवन वर्षा शाह र स्वतन्त्र फोटो पत्रकार विकास रौनियारलाई पुरस्कृत गरिएको छ ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान श्रेष्ठले रोटरीका बारेमा सर्वसाधारणमा सकारात्मक प्रभाव विकास होस् भन्ने अभिप्रायले पुरस्कारको सुरुआत गरिएको बताए । उनले फेब्रुअरीमा हुने डिस्ट्रिक्ट सम्मेलनमा खानेपानी तथा सरसफाइका क्षेत्रमा काम गर्ने उत्कृष्ट पत्रकारलाई रु २० लाखको पत्रकारिता पुरस्कार प्रदान गरिने जानकारी गराए ।
सम्मानित व्यक्तित्व अग्रज पत्रकार भारदत्त कोइरालाले पत्रकारिता क्षेत्रमा आफूले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेकामा खुसी व्यक्त गरे ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष दीपक आचार्यले नेपाली पत्रकारिताले समाजको रूपान्तरणमा गरेको योगदानलाई सम्मान गर्न गरिएको यो कदम महत्त्वपूर्ण भएको बताए । उनले नेपाली पत्रकारिता विश्वमै गर्व गर्न लायक बनाउन प्रयास गर्ने क्रियाशील पत्रकारहरूलाई पुरस्कृत र सम्पन्न गर्नु महत्त्वपूर्ण कदम भएको धारणा राखे ।
रोटरी जर्नो अवार्ड कार्यक्रमका अध्यक्ष नम्रता शर्माले पुरस्कारका लागि ५० वटाभन्दा बढी आवेदन परेका उल्लेख गर्दै ती आवेदनमध्येबाट सात विधामा सात जनालाई चयन गरिएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते
-
ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव