वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड

समाचार सारांश
- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा रहेको वन्डरल्यान्ड वाटर पार्कमा कक्षा १२ का विद्यार्थी र पार्क प्रशासनबीच विवाद हुँदा तोडफोड भएको छ।
- पार्कमा प्रवेश नपाएपछि विद्यार्थीहरूले ढुङ्गामुढा गरे, जसमा ५ प्रहरी घाइते भए र १० विद्यार्थीलाई नियन्त्रणमा लिइयो।
- झडपमा पार्कको गेट र संरचनामा क्षति पुगेको छ, भने जनकपुरधाम उद्योग वाणिज्य सङ्घले घटनाप्रति दुःख व्यक्त गरेको छ।
जनकपुर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१, रमदैयास्थित सञ्चालित वन्डरल्यान्ड वाटर पार्कमा तोडफोड भएको छ । कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूका लागि विशेष छुट सुविधा दिएकामा एकैपटक ठूलो सङ्ख्यामा विद्यार्थीहरू पार्क पुगेपछि पार्क प्रशासनले प्रवेश रोकेपछि विवाद भएको थियो ।
त्यही विषयलाई लिएर विद्यार्थी र व्यवस्थापनबीच विवाद चर्किएर विद्यार्थीले ढुङ्गामुढा गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिने क्रममा पाँचजना प्रहरी घाइते भएका छन् भने दश जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीव यादवले जानकारी दिए ।
झडपका क्रममा विद्यार्थीले प्रहार गरेको ढुङ्गामुढाबाट पार्कको मूल गेट, छेउका संरचना र सजावटमा क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य सङ्घ मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष जितेन्द्र महासेठले वन्डरल्यान्ड वाटर पार्कमा घटेको घटनाप्रति दुःख व्यक्त गरे ।