काठमाडौँ – हेटौँडा जोड्ने कुलेखानी–फाखेलको बाटो धमाधम हुँदैछ कालोपत्र (तस्बिरहरू)

हेटौँडा । हेटौँडा–काठमाडौं जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–हुमाने सडक असारअगावै सक्ने गरी कालोपत्र गरिँदैछ ।
वर्षाका समयमा हेटौँडा–काठमाडौँ सहज यात्राका लागि सो सडकअन्तर्गत फाखेल–हुमाने खण्डमा शुक्रबारबाट कालोपत्र थालिएको हो ।
सो सडक २० दिन बन्द गरेर धमाधम कालोपत्र भइरहेको छ । जेठ २ गतेबाट २० गतेसम्म सो सडकमा सवारी आवातजावत रोकेर कालोपत्र कार्य अघि बढाइएको हो । पूर्वाधार विकास कार्यालय मकवानपुरमार्फत ठेक्का लागेर काम भइरहेको उक्त सडक खण्डको कालोपत्र कार्य १५ दिनमा नै सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
सडक कालोपत्रसहित विपदले क्षति पुगेको स्थानको व्यवस्थापनको काम तीव्र गतिमा अघि बढाइएको पूर्वाधार कविकास कार्यालय मकवानपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले बताए । १२.६ किलोमिटर लम्बाइ र ८.२० मिटर चौडाइ (हुमानेदेखि कंलकी) सम्मको सडक कालोपत्र कार्य भइरहेको उनको भनाइ छ ।
सडकको ८.५० किलोमिटर सतह कालोपत्र तथा ४ किलोमिटर ढलान कार्य हुने उनले बताए । उनका अनुसार गत २०८० वैशाख १७ मा ३५ करोड ४८ लाख ८८ हजार ९ सय १६ रुपैयाँमा सडक कालोपत्रका लागि सम्झौता गरिएको थियो । हाल सो सडक खण्डको भौतिक प्रगति ८० प्रतिशत रहेको छ भने वित्तीय प्रगति ५५.४६ प्रतिशत रहेको उनले बताए ।
गत असोजमा गएको विपदमा बाढीका कारण बगाएको सडक खण्डको पुनर्निर्माण कार्यअन्तर्गत क्षति पुगेको स्थानमा टेवा पर्खाल लगाउने, नाली निर्माण कार्य भइरहेको उनले बताए । कल्भर्ट निर्माण कार्य सम्पन्न भइसकेको छ र सडकमा सब–बेस हाल्ने कार्य अन्तिम चरणमा रहेको उनको भनाइ छ ।
वर्षाअघि नै सडक सञ्चालनमा ल्याउँछौंः मन्त्री मास्के
कालोपत्र कार्यको अनुगमन गर्दै बागमती प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले वर्षाअघि नै सडक निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने बताए । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका—२ र ४ मा पर्ने कुलेखानी—हुमाने भञ्जयाङ सडक खण्डमा भइरहेको कालोपत्र कार्यको अनुगमन गर्दै मन्त्री मास्केले सडक कालोपत्र र मर्मतका लागि मन्त्रालयको कार्ययोजनासहित काम गरिरहेको र समयभित्र नै निर्माण सकेर सवारी सञ्चालनमा ल्याउने बताए ।
सो कार्यका लागि मन्त्रालय र मातहतका निकाय निरन्तर रुपमा अनुगमन तथा निगरानीमा रहेको उनको भनाइ छ । नागरिकको असुविधा र वर्षा तथा विपद्को पूर्वमूल्यांकनसहित मन्त्रालयले सडक निर्माणको काम छिट्टो सक्ने गरी निर्माण व्यवसायीलाई दबाब दिइरहेको उनले बताए । सो सडक खण्डको विपद् प्रभावित क्षेत्रमा पनि सडक मर्मतको काम पनि जारी रहेको उनले बताए ।
‘कुलेखानी–फाखेल–हुमाने सडक वर्षाअघि नै सो सडक कालोपत्र गरेर यातायात सञ्चालन गर्नेछौँ। वर्षायाममा नागरिकले भोग्नुपरेको सास्तीलाई मध्यनजर गर्दै छिटो काम सक्ने गरी मन्त्रालयको टिम लागेको छ,’ उनले भने, ‘निर्माण व्यवसायी, स्थानीय तह र सरेकारवालासँग हामी निरन्तर समन्वय गरेर २० दिनमा कालोपत्र सक्ने र विपद्को अवस्था मूल्यांकनसहित पूर्वतयारी तथा जोखिम नियन्त्रणको काममा सक्रिय छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !
-
आईपीएल क्रिकेट : वर्षाका कारण खेल रद्द भएपछि कोलकाताको प्लेअफ सम्भावना समाप्त
-
इटालियन सिरी’ए मा एटलान्टा विजयी
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बुण्डेस लिगाको उपाधि उचाल्दै बायर्न म्युनिखले गर्यो जिनको सुखद अन्त्य
-
एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी