करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
सारांश
- सर्लाहीको घारीबथानका उज्ज्वल परियारको धुलिखेलमा करेन्ट लागेर मृत्यु भएपछि गाउँलेले घरको छानो हाले।
- मृतक उज्ज्वलले परिवारको गुजारा चलाउँथे, उनको मृत्युपछि परिवारलाई आर्थिक समस्या परेको छ।
- धुलिखेलमा हाइटेन्सन लाइनमा काम गर्दा करेन्ट लागेर उज्ज्वलको मृत्यु भएको थियो।
मलङ्गवा । काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको घारीबथानका उज्ज्वल भन्ने उपेश परियारको घरमा गाउँलेले मिलेर छानो हाली दिएका छन् । यही जेठ १ गते साँझ हावाहुरीले ईश्वरपुर नगरपालिका–१२ घारिबथानस्थित गोपी चोकका बासिन्दा उज्ज्वलको घरको छानो उडाएको थियो ।
छानो उडाएको दुई दिनपछि शनिबार उज्ज्वलको मृत्यु भयो । घारिबथानमा उहाँको घरबाहेक कसैको पनि क्षति भएको छैन । मृतकका बुवा केशव दमाई र श्रीमती सुशीला परियार पाँच वर्षको छोरा शिशिरलाई सँगै लिएर शव बुझ्न धुलिखेल पुगेका छन् ।
घरमा दृष्टिविहीन आमा विष्णु दमाई र उज्ज्वलकी आठ वर्षीया छोरी उर्मिला परियार मात्रै छन् । घटनापछि आज बिहान उज्ज्वलका दुई विवाहित दिदी र अन्य आफन्त घरमा आइपुगेका छन् । शव लिएर आएपछि काजकिरिया बस्ने ठाउँसमेत नरहेकाले गाउँले मिलेर उज्ज्वलको घरमा छानो छाउने काम गरेको छिमेकी फडिन्द्र पौडेलले जानकारी दिए ।
‘यही घडेरी र घरबाहेक उज्ज्वल परिवारको केही छैन, कमाएर परिवारको गुजारा चलाउने मुख्य मान्छेसमेत गुमाएपछि यो परिवारको साहरा र आधार केही बाँकी रहेन’, उनले भने, ‘यो परिवारमा परेको दुःख देखेर सबै छरछिमेकी र आफन्त जम्मा भएर घरको मर्मत सम्भार तथा छानो हाल्ने काम गरिदिएका छौँ ।’
मृतकका आफन्त भैरब परियारले परिवारको मुख्य सहारा गुमेपछि निकै समस्या भएको बताए । ‘आमा दुवै आँखा देख्दिनन्, बुबाको बुताबाट कुनै आम्दानी हुने अवस्था छैन् । श्रीमतीले घर हेरेर बसिदिँदा उज्ज्वलले कमाएको पैसाले परिवार चलिरहेको थियो’, परियारले भने, ‘उज्ज्वलको प्राण गएसँगै यो परिवारको त बिचल्ली हुने अवस्था आएको छ ।’
परिवारले दिएको जानकारीअनुसार उज्ज्वल केही समयदेखि धुलिखेल क्षेत्रमा विस्तार भइरहेको हाइटेन्सन लाइनमा ठेकेदारमार्फत मजदुरको रूपमा काम गरिरहेका थिए । शनिवार धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय काभ्रे अगाडि हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेका बेला एक्कासी विद्युत् लाइन छोड्दा उहाँको घटनास्थलमै मृत्यु भएको थियो ।
ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले मृतक उज्ज्वलको शव घर ल्याउन र राज्यले प्रदान गर्ने राहत रकमका लागि आफूले काभ्रे प्रशासन तथा त्यहाँका जनप्रतिनिधिसँग समन्वय गरिरहेको बताए । नगरपालिकाको तर्फबाट मृतकको परिवारको घर निर्माणका र अन्य सहयोगबारे कार्यपालिका बैठकमा छलफल गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण