सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे

सोमबार, ०५ जेठ २०८२, ०० : ३०
सोमबार, ०५ जेठ २०८२

धुलिखेल । स्तरोन्नतिको काम जारी रहेको साँगा–धुलिखेल सडकखण्डको कालोपत्र शुरु भएको छ । धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । 

अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको छ । सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा साँगा–धुलिखेल खण्ड कालोपत्र शुरु गरिएको हो । धुलिखेल मुख्यचोकदेखि बनेपातर्फको बाँसघारीसम्म एक किलोमिटर सडक अहिले कालोपत्र शुरु गरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताए ।  

हाल आधुनिक प्रविधिबाट कालोपत्रको पहिलो तह सकेर दोस्रो तहको काम भइरहेको जनाइएको छ । खनालका अनुसार सडकको मुख्य भागमा ८० सेन्टिमिटरको कालोपत्र हुने छ । पहिलो तहमा ३० देखि ३५ समीको ‘सबबेस’, त्यसपछि २० सेमीको ‘सिटिपी’ गरी त्यसमाथि १० सेमीको ‘क्र्याक–रिलिफ लेयर’ हालेर त्यसमाथि ११ देखि १३ सेमीको ‘डिबिएम’ गरी त्यसमाथि ६ सेमीको ‘आस्पाल्ट कङ्क्रिट लेयर’ गरी जम्मा ८० सेमीको आधुनिक प्रविधिबाट कालोपत्र भइरहेको हो । 

सूर्यविनायक–धुलिखेलसम्म १६ किलोमिटर दुरी छ । जसमा सूर्यविनायक–साँगा ७ दशमलव ५ किमी र साँगा–धुलिखेल ८ दशमलव ५ किमी छ । यो दुरीमा ६ लेन सडक विस्तार तीन वर्षमा सम्पन्न गर्ने गरी दुई खण्ड, दुई चरणमा ठेक्का सम्झौता गरिएको थियो । सूर्यविनायक–साँगासम्मको ठेक्का विसं २०७९ मङ्सिर र साँगा–धुलिखेलसम्मको ठेक्का सम्झौता २०७९ पुसमा गरिएको थियो । 

सडकखण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बनाउने ठेक्का सम्झौता छ । इन्जिनियर खनालका अनुसार हालसम्म साँगा–धुलिखेल सडकखण्डको भौतिक प्रगति करिब ५० प्रतिशत सम्पन्न भएको छ । हाल शुरु गरिएको तीन किमी कालोपत्रे असार मसान्तभित्र सकेर करिब ६० प्रतिशत भौतिक प्रगति गर्ने लक्ष्य आयोजनाको छ । 

यो आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव ४ किमी सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । 

साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटोदूरीको सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएपछि यस राजमार्गमा सवारी चाप दिनहुँ बढिरहेको छ । हाल कोटेश्वरबाट यही राजमार्गमा मध्यपहाडी क्षेत्र तथा पूर्वीतराईका लामा दुरीका सवारी मात्र दैनिक दुई हजार ५०० भन्दा बढी गुड्ने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप