बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग

आईपीएलको प्रत्येक खेलबाट कति कमाउँछ बीसीसीआईले ?

बिहीबार, ०८ जेठ २०८२, १६ : ३१
बिहीबार, ०८ जेठ २०८२

समाचार सारांश

  • इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले–अफ चरणमा पुग्ने चार टोलीको टुङ्गो लाग्यो, जसमा गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु, पञ्जाब किङ्स र मुम्बई इन्डियन्स छन्।
  • चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सको लागि यो सिजन निराशाजनक रह्यो, चेन्नईले १३ खेलमध्ये ३ मात्र जित्यो। बीसीसीआईले मिडिया अधिकार, प्रायोजक, फ्रेन्चाइज मनी र टिकट बिक्रीबाट आईपीएल आयोजना गर्छ।
  • बीसीसीआईले प्रत्येक खेलबाट अनुमानित १५० देखि २०० करोड भारतीय रुपैयाँ कमाउँछ, जसमा मिडिया अधिकार र प्रायोजन मुख्य स्रोत हुन्। टाटाले टाइटल स्पोन्सरसिप खरिद गरेको छ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करण उत्कर्षमा छ । प्रतियोगिताको प्ले–अफ चरणमा पुग्ने चारवटै टोलीको टुङ्गो लागिसकेको छ । समूहगत चरणमा अब सातवटा खेलमात्र खेल्न बाँकी छ । अहिले प्ले–अफ चरणमा पुगेका टोलीहरु ‘लिग लिडर’ बन्ने होडमा छन् । उपाधि होडबाट बाहिरिएका टोलीहरु भने बाँकी खेलको नतिजालाई आफ्नो पक्षमा पार्दै प्ले–अफ चरणमा पुगिसकेका टोलीको समिकरण बिगार्ने धुनमा देखिन्छन् । 

गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु, पञ्जाब किङ्स र मुम्बई इन्डियन्स प्रतियोगिताको प्ले–अफ चरणमा पुगेका हुन् । पाँचपटकको च्याम्पियन चेन्नई सुपर किङ्सका लागि भने आईपीएलको यो सिजन बिर्सनलायक रह्यो । हालसम्म १३ खेल खेलिसकेको चेन्नईले तीन खेलमात्र जित्न सकेको छ ।

एकपछि अर्को निराशाजनक प्रदर्शन गरेको चेन्नईले १० खेलमा पराजयको स्वाद चाखिसकेको छ । तीनपटकको विजेता कोलकाता नाइट राइडर्सका लागि यो सिजन खराब रह्यो । साविक विजेतासमेत रहेको कोलकातालाई यो सिजन वर्षाले पनि बढी नै लखेट्यो । 

जारी सिजन उत्तरार्धतिर लम्किरहँदा आईपीएलको आयोजक भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रत्येक खेलबाट कति रकम कमाउँछ भन्ने विषयमा यहाँ चर्चा गरिएको छ । साखमा, आईपीएल आयोजना गर्दा बीसीसीआईको आयको मुख्य स्रोत मिडिया राइट्स (प्रशारण अधिकार बिक्री), प्रायोजकहरु, फ्रेन्चाइज मनी र टिकट बिक्री हो ।  

बीसीसीआईले आईपीएलको प्रशारण अधिकार सन् २०२३ देखि सन् २०२७ सम्मका लागि ४८ हजार तीन सय ९० करोड भारतीय रुपैयाँमा बिक्री गरेको छ । त्यसमध्ये २३ हजार पाँच सय ७५ करोड टेलिभिजन राइट्सबाट प्राप्त हुन्छ ।  आईपीएलको टेलिभिजन राइट्स डिज्नी स्टारले खरिद गरेको छ । डिजिटल राइट्स भने २३ हजार सात सय ५८ करोड भारतीय रुपैयाँमा जियो सिनेमाले खरिद गरेको छ । अहिले भने डिज्नी स्टार र जियो सिनेमा एक–अर्कासँग गाभिइसकेका छन् । 

बीसीसीआईले सन् २०२३ देखि सन् २०२७ सम्म आईपीएलको कुल चार सय १० खेल खेलाउने योजना बनाएको छ । यस आधारमा, बीसीसीआईले प्रशारण अधिकारबाट मात्र प्रत्येक खेलमा करिब एक सय १८ करोड भारतीय रुपैयाँ कमाउँछ । यसैगरी, बीसीसीआईले टाइटल स्पोन्सर (मुख्य प्रायोजक) बाट पनि निकै ठुलो धनराशी कमाउँछ । आईपीएलको टाइटल स्पोन्सरसिप टाटाले पाँच वर्षका लागि दुई हजार पाँच सय करोड भारतीय रुपैयाँमा खरिद गरेको छ । 

यसैगरी, बीसीसीआईले यो सिजन अन्य प्रायोजकबाट पनि एक हजार चार सय ८५ करोड भारतीय रुपैयाँ कमाएको छ । यसका अतिरिक्त, प्रत्येक खेलको टिकट बिक्रीबाट पनि बीसीसीआईले ठुलो रकम कमाउने गरेको छ ।  बीसीसीआईले सन् २०२३ को आईपीएलमा कुल ११ हजार सात सय ६९ करोड भारतीय रुपैयाँ आय गरेको थियो । त्यसमध्ये पाँच हजार एक सय २० करोड भारतीय रुपैयाँ सरप्लस थियो ।

मिडिया राइट्स, मुख्य प्रायोजक, अन्य प्रायोजन, टिकट बिक्री र अन्य स्रोतबाट प्राप्त हुने सबैलाई मिलाएर एक खेलवापत हुने कमाई निकाल्दा बीसीसीआईले आईपीएलको प्रत्येक खेलबाट एक सय ५० देखि दुई सय करोड भारतीय रुपैयाँ कमाउने गरेको हालै सार्वजनिक एक तथ्याङ्कमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप