शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार

शनिबार, १३ असार २०८३, ०७ : ५८
शनिबार, १३ असार २०८३

सारांश

  • भेनेजुएलामा आएको ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ९२० जनाको मृत्यु भएको छ भने १७२ जना अझै भग्नावशेषमा पुरिएको अनुमान छ।
  • भूकम्पबाट प्रभावित ला गुइरा क्षेत्रबाट २४३ जनाको जीवितै उद्धार गरिएको छ भने सयौँ भवनहरू ध्वस्त भएका छन्।
  • अन्तर्राष्ट्रिय उद्धार टोलीहरू भेनेजुएलामा आइपुगेका छन् र अमेरिकाले १५ करोड डलर सहायता घोषणा गरेको छ।

काराकास । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परी ९०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ३ हजार ३ सय ६० भन्दा बढी घाइते भएका छन्। सरकारका अनुसार भग्नावशेषमा पुरिएकाहरूका लागि उद्धार कार्य तीव्र पारिएको छ भने हराइरहेका परिवारका सदस्यहरूको पर्खाइमा मानिसहरू छटपटाइरहेका छन्। 

देशको उत्तरी क्षेत्र र राजधानी काराकासका दर्जनौँ भवनहरू भत्किएपछि घाइतेहरूको अस्थायी चिकित्सा शिविरहरूमा उपचार भइरहेको छ। एक सरकारी उच्च अधिकारीले देशमा सयौँको संख्यामा अन्तर्राष्ट्रिय उद्धारकर्मीहरू आइसकेको र अन्य टोलीहरू आउने क्रम जारी रहेको जानकारी दिएका छन्।

बुधबार भेनेजुएलामा केही सेकेन्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएका थिए। जसमा दोस्रो भूकम्प ७.५ म्याग्निच्युडको थियो, जसलाई एक शताब्दीयताकै सबैभन्दा शक्तिशाली धक्का मानिएको छ। 

राजधानीको उत्तरमा रहेको ला गुइरा क्षेत्र भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ देशको मुख्य विमानस्थल र एउटा प्रमुख बन्दरगाह रहेको छ। भूकम्पपछि धेरै मानिसहरू बेपत्ता भएकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। ला गुइरामा एक महिला नाताचा डियाजले मलको भग्नावशेषमा आफ्ना दुई छोरीहरू फसेको र उनीहरू जीवितै फर्किने आशमा आफू रहेको रुँदै सुनाइन्।

राष्ट्रिय सभाका प्रमुख जर्ज रोड्रिगेजले शुक्रबार सरकारी टेलिभिजनमार्फत मृतकको संख्या ९२० पुगेको र कम्तीमा १७२ जना अझै भग्नावशेषमा फसेको हुनसक्ने बताए। ला गुइरा क्षेत्रबाट मात्रै कम्तीमा २४३ जनाको जीवितै उद्धार गरिएको छ। 

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले दर्जनौँ मानिसलाई जीवितै उद्धार गर्न सकिएकोमा खुसी व्यक्त गरेकी छिन्। उनका अनुसार मुख्य भूकम्पपछि हालसम्म २१४ वटा पराकम्पहरू गइसकेका छन्। भूकम्पका कारण अस्पताल र सपिङ सेन्टरसहित सयौँ भवनहरू ध्वस्त भएका छन् भने अन्य १ हजारभन्दा बढी पूर्वाधारमा क्षति पुगेको छ।

विपत्ति अघि नै संकटमा रहेको भेनेजुएलाको स्वास्थ्य क्षेत्र अहिले बिरामीको चापले थिलथिलो भएको छ। चिकित्सक पेड्रो जाभियर फर्नान्डेजले सामान्य अवस्थामा पनि औषधि र सामग्रीको अभाव झेलिरहेका अस्पतालहरूका लागि यो महाविपत्ति सामना गर्न निकै कठिन भएको बताए। 

सञ्चार अवरोध, भत्किएका सडक र साधनस्रोतको अभावका कारण सुरुवाती उद्धारमा कठिनाइ भए पनि उद्धारकर्मीहरूले खाली हातले समेत भग्नावशेष पन्छाएर मानिसहरूलाई बाहिर निकालिरहेका छन्। बेलायत, अमेरिका, नेदरल्याण्ड्स, मेक्सिको र स्विट्जरल्याण्ड जस्ता देशहरूले आफ्ना विशेषज्ञ टोली, कुकुर र ड्रोनसहितका उद्धार सामग्री पठाएका छन्। अमेरिकाले १५ करोड डलर सहायताका साथै युद्धपोत र ढुवानी विमान पठाउने घोषणा गरेको छ।

दशकौँको आर्थिक संकट र कमजोर पूर्वाधारका कारण भेनेजुएला यस्तो आपत्कालीन अवस्थाका लागि तयार नरहेको नर्वेजियन रिफ्युजी काउन्सिलका महासचिव जान एगल्यान्डले औँल्याएका छन्। 

संयुक्त राष्ट्रसंघका मानवीय मामिला प्रमुख टम फ्लेचरले यस विपत्तिमा विश्वव्यापी सहयोगको आवश्यकता रहेको र सहायता आउने क्रममा रहेको स्पष्ट पारेका छन्। यसैबिच, ला गुइरामा भग्नावशेषबाट धुलोले लतपतिएका तीन साना दिदीबहिनीलाई जीवितै निकालिएको भिडियो सार्वजनिक भएपछि देशवासीमा केही उत्साह पलाएको छ।

विपत्तिमा ज्यान गुमाउनेहरूका प्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी छ। भेनेजुएलाका फुटबल खेलाडी हेक्टर बेलोकी श्रीमती एन्ड्रियाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाएको दुःखद खबर बाहिरिएको छ। बेलोले सामाजिक सञ्जालमा भावुक पोस्ट लेख्दै आफ्नी श्रीमतीले अन्तिम सास फेर्दासम्म छोरीलाई नछाडेको र उनको वीरताको कथा छोरीलाई सुनाउने उल्लेख गरेका छन्। 

मृतकहरूमा पोर्चुगल, ब्राजिल र स्पेनका नागरिकहरू पनि सामेल छन्। आन्तरिक मामिला मन्त्री डियोस्डाडो काबेलोले भूकम्पबाट धेरै राज्यहरू प्रभावित भएको बताएका छन्। 

यो प्राकृतिक विपत्ति भेनेजुएलामा ठूलो राजनीतिक अनिश्चितताका बिच आएको हो। करिब ६ महिनाअघि मात्रै सन् २०१३ देखि शासन गरिरहेका वामपन्थी नेता निकोलस मादुरोलाई अमेरिकी सेनाले काराकासबाट पक्राउ गरी लागूऔषध ओसारपसारको मुद्दा चलाउन न्युयोर्क पुर्‍याएको थियो, जसका कारण अहिले त्यहाँ निकोलसका सहयोगीहरू र विपक्षीहरूबिच तनावपूर्ण वातावरण रहेको छ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप