सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

वित्तीय अनुशासन कायम राख्दै आगामी वर्षको बजेट विनियोजन हुन्छ : मन्त्री काफ्ले

बिहीबार, ०८ जेठ २०८२, १७ : २०
बिहीबार, ०८ जेठ २०८२

समाचार सारांश

  • बागमती प्रदेशका आर्थिक मामिला मन्त्रीले आगामी वर्षको बजेट वित्तीय अनुशासन कायम राख्दै विनियोजन गर्ने बताए। रणनीतिक सडक, विपद् व्यवस्थापन, र कृषि व्यवसायीकरणलाई प्राथमिकता दिइनेछ।
  • मन्त्री काफ्लेले वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन र पुँजीगत खर्च बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले समाजका सकारात्मक पक्षहरूलाई ध्यान दिनुपर्नेमा जोड दिए।
  • आगामी आर्थिक वर्षको बजेटमा सुझावहरूलाई सम्बोधन गरिनेछ। प्रदेश सभाको अर्को बैठक जेठ १४ गते बस्नेछ, जसमा प्रदेश प्रमुखको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।

हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले वित्तीय अनुशासन कायम राख्दै आगामी वर्षको बजेट विनियोजन गरिने बताएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा विनियोजन विधेयक, २०८२ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री काफ्लेले रणनीतिक महत्वको सडक, विपद् जोखिम न्युनिकरण, कृषि क्षेत्रको व्यवसायीकरणलाई जोड दिनेगरी बजेट तर्जुमा गरिने प्रतिवद्धता व्यक्त गरेका हुन् । 

बजेट प्रणालीमा वित्तीय जवाफदेहितलाई अभिवृद्धि गरिने समेत उनले बताए । संघीय शासन प्रणालीमार्फत विकास र समृद्धि हासिल गर्न वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन जरुरी भएको मन्त्री काफ्लेको भनाई छ । चालु खर्चमा कटौती, पुँजीगत खर्चमा बृद्धि गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने क्षेत्रमा लगानी गर्ने सिद्धान्त र प्राथमिकता कार्यान्वयन गर्न दृढ रहेको उनले दाबी गरे । 

मन्त्री काफ्लेले समाजमा रहेका विकृति विसंगतिहरुलाई मात्र इंगित गरी राम्रा पक्षहरुलाई बेवास्ता गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । जनतामा रहेका निराशाहरु चिर्दै आशाको सञ्चार गर्नु आजको आवश्यकता भएको उनको भनाई छ । प्रदेशको स्रोत र साधनलाई समेत मध्यनजर गर्दै आगामी वर्षको बजेट विनियोजन गर्ने समेत मन्त्री काफ्लेले प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री काफ्लेले छलफलको क्रममा प्राप्त सुझावहरुलाई सम्बोधन गर्ने आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । प्रदेश सभाको अर्को बैठक आगामी जेठ १४ मा बस्नेगरी स्थगित गरिएको छ ।

१४ गते बुधवार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाद्वारा आगामी आर्थिक वर्ष २०८२/०८३ वार्षिक नीति तथा कार्यक्रम सम्बोधन हुने सभामुख भुवनकुमार पाठकले जानकारी दिए । उक्त दिन निर्धारित समयभन्दा ३० मिनेट अगावै सांसद्हरुलाई औपचारिक पोशाकमा उपस्थित भइसक्न समेत सभामुख पाठकले आग्रह गरे । -न्युज एजेन्सी नेपाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप