राजनीतिमा फर्किइन् सरिता गिरी

समाचार सारांश
- सरिता गिरी नेपाल सद्भावना पार्टीमार्फत राजनीतिमा पुन: प्रवेश गरेकी छन्।
- चुच्चे नक्सा विवादपछि राजनीतिबाट टाढा रहेकी गिरीले बाबुराम भट्टराईको राजनीति समाप्त भएको दाबी गरिन्।
- गिरीले मधेसमा नयाँ राजनीतिक मोर्चा बनाउने प्रयास गर्दैछिन्, जसमा साना दलहरूलाई समेट्ने योजना छ।
काठमाडौँ । लामो समय राजनीतिबाट टाढा रहेकी नेतृ सरिता गिरी पुनः सक्रिय राजनीतिमा फर्किएकी छन् । उनले नेपाल सद्भावना पार्टीमार्फत राजनीतिक यात्रा पुनः सुरु गर्न लागेकी हुन्।
पूर्व समाजवादी फोरम नेपालकी नेतृ गिरी चुच्चे नक्साको विवादमा पार्टीबाट निष्कासित भएपछि केही समय राजनीतिबाट टाढा रहेकी थिइन्। २०७४ को चुनावमा समानुपातिक सांसद बनेकी गिरीलाई पार्टीले कारबाही गरेर संसद् तथा पार्टी दुवैबाट हटाएको थियो। त्यसपछि उनले २०७९ को निर्वाचनमा सिराहा–१ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरे पनि पराजित भएकी थिइन्।
रातोपाटीसँगको कुराकानीमा गिरीले अब आफू पूर्ण रूपमा राजनीतिमा फर्किएको बताइन्। ‘केही समय घरायसी काममा व्यस्त थिएँ, त्यसैले राजनीति पछि परेको थियो,’ उनले भनिन्, ‘अब सक्रिय भएर लाग्नेछु।’
गिरीले नेपाल सद्भावना पार्टीमा कुनै पदमा नरहे पनि नीति निर्माण तहमा काम गर्ने योजना रहेको बताइन्। पार्टीलाई सशक्त बनाउने उद्देश्यले आफू सक्रिय रूपमा लाग्ने उनको भनाइ छ।
उनले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईको राजनीति ‘समाप्त भइसकेको’ दाबी पनि गरेकी छन्। ‘बाबुरामजीले मलाई दुई पटक राजनीतिबाट हटाउने प्रयास गर्नुभयो, तर म फेरि फर्किइरहेकी छु,’ उनले भनिन्, ‘उहाँ आफैँ राजनीतिबाट हराइसक्नुभएको छ।
एक समय बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गिरी श्रममन्त्री बनेकी थिइन्। पछि भ्रष्टाचारको आरोप लागेपछि मन्त्री पदबाट हटाइएकी थिइन्। त्यसपछि चुच्चे नक्साको विषयमा संसद् र पार्टी दुवैबाट निष्कासन गरिएकी थिइन्। गिरीको त्यो सबै बाबुरामको उक्साहटमा भएको आरोप छ।
अब गिरी मधेसमा नयाँ राजनीतिक मोर्चा बनाउने प्रयासमा लागेकी छन्। हालै मधेसका सात दल मिलेर बनेको सङ्घीय लोकतान्त्रिक मोर्चा बाहेक बाँकी रहेका साना दलहरूलाई समेटेर उनले अर्को मोर्चा निर्माण गर्ने तयारी गरिरहेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट