प्रिमियर लिगको खेल तालिका जुन १८ मा

समाचार सारांश
- इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका जुन १८ मा सार्वजनिक हुनेछ।
- नयाँ सिजन अगस्ट १५ मा सुरु भई २०२६ को मे २४ मा अन्तिम खेल हुनेछ।
- पछिल्लो सिजन लिभरपुलले उपाधि जित्यो, आर्सनल दोस्रो भयो।
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनका लागि आगामी जुनको मध्यमा खेल तालिका सार्वजनिक गरिने भएको छ । समाचारमा जनाइए अनुसार, जुन १८ तारिखमा अगामी सिजनका लागि तीन सय ८० खेलकै तालिका सार्वजनिक गरिनेछ ।
प्रिमियर लिगको नयाँ सिजन भने आगामी अगस्त १५ तारिखमा सुरु हुनेछ । सिजनको अन्तिम खेल सन् २०२६ को मे २४ तारिखमा खेलिने समाचारमा जनाइएको छ । नयाँ तालिका सार्वजनिक गर्दा अन्तर्राष्ट्रिय तालिका लगायतका विषयलाई पनि ध्यानमा राखिने बताइएको छ ।
अघिल्लो सिजन पनि प्रिमियर लिगले चेल्सी र उल्भसबिचको खेललाई लिएर ब्यापक आलोचनाको सामना गर्नु परेको थियो । उक्त खेल सन् २०२३ को डिसेम्बर २४ तारिखमा क्रिसमसको अवसर पारेर राखिएकोले समर्थक रुष्ट बनेका थिए ।
पछिल्लो सिजनको प्रिमियर लिग भर्खरै सकिएको छ । यो प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको छ । लिभरपुलले ३८ खेलबाट ८४ अंक बटुल्दै उपाधि हात पारेको हो । आर्सनल दोस्रो भएको थियो । आर्सनलले ३८ खेलबाट ७४ अंक जोड्यो ।