सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : भिजिट भिसा प्रकरण

मानव तस्करीको नयाँ ‘ट्रेन्ड’ भिजिट भिसा : सेटिङ मिले विदेश, नमिले घर फिर्ता

‘सेटिङको खेल’मा सरकारी संयन्त्र
आइतबार, १८ जेठ २०८२, ०९ : ५९
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • भिजिट भिसाको नाममा मानव तस्करी बढ्दो क्रममा, सरकारी कर्मचारी, ट्राभल एजेन्सी र बिचौलियाको मिलेमतोमा महिलाहरूलाई खाडी मुलुकमा बेचबिखन गरिँदै छ।
  • मानव तस्करीमा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गरिएको छ, साथै भिजिट भिसाको दुरुपयोग रोक्न र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्नुपर्ने कुरा उठाइएको छ।
  • दुबई ट्रान्जिट हब बनेको र महिलालाई घरेलु कामदारको रूपमा पठाउन प्रतिबन्धित भएपछि भिजिट भिसाको प्रयोग बढेको छ, जसले गर्दा शोषण र बेचबिखनका घटनाहरू बढेका छन्।

काठमाडौं । आकर्षक भविष्यको सपना देखाएर भिजिट भिसामा विदेश पुर्‍याउने र त्यहाँबाट विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा नेपाली चेलीहरूलाई ‘भेडाबाख्रा’ झैं बेच्ने डरलाग्दो जालो सक्रिय रहेको तथ्यहरू सार्वजनिक भएका छन् । 

यो भयावह खेलमा सरकारी अध्यागमन कार्यालयका कर्मचारीदेखि ट्राभल एजेन्सी, कन्सल्टेन्सी र बिचौलियाहरूको संगठित गिरोह नै संलग्न रहेको र यसले मानव तस्करी तथा बेचबिखनको विकराल रूप लिएको पनि देखिएको छ । 

विशेष गरी महिलाहरूलाई लक्षित गरी सञ्चालित यो अवैध धन्दामा ‘सेटिङ’ को भरमा विमानस्थलबाटै सहजै बाहिर पठाउने र दुबईलाई ट्रान्जिट बनाएर खाडी मुलुकहरूमा पुर्‍याई लाखौँमा बिक्री गर्ने गरिएको पाइएको छ ।

  • भिजिट भिसा, मानव तस्करीको नयाँ ‘ट्रेन्ड’

भिजिट भिसाको नाममा नेपालीमाथि दलालदेखि सरकारी कर्मचारीसम्म मानव तस्करीको धन्दामा लाग्दै आएका छन् । खासगरी दुर्गम भगेका अशिक्षित र इमानदार नेपाली भिजिट भिसाको ‘ललिपप’ मा मानव बेचबिखनको सिकार भएका छन् । 

इन्द्रलाल गोले विगत १६ वर्षदेखि ‘वैदेशिक रोजगार उद्धार’ नेपाल नामक परोपकारी संस्था खोलेर वैदेशिक रोजगारीमा समस्या परेका नेपालीहरूको उद्धार गर्दै आएका छन् । उनले हरेक दिन कुवेत, ओमान, बहराइन, इराक, मलेसिया तथा खाडी मुलुकबाट नेपालीको उद्धार गर्दै आएका छन् । उनको विचारमा सबैभन्दा डरलाग्दो मानव तस्करी भनेको ‘भिजिट भिसा’ हो । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी भिजिट भिसालाई पहिल्यैदेखि बन्द गर्नुपर्ने एजेन्डा रहेको बताउँछन् ।

विशेष गरी महिलालाई विभिन्न प्रलोभनमा पारेर, लोभलालच देखाएर, भिजिट भिसा लगाएर एयरपोर्टबाट सेटिङ मिलाएर पठाइने उनी बताउँछन् । त्यसबापत ४०–५० हजार रुपैयाँ सेटिङमा खर्च हुने उनको दाबी छ । जानेहरूलाई के बोल्ने, के गर्ने भनेर पहिल्यै सिकाइने र सबै नक्कली कागजात तयार पारिने उनको बुझाइ छ ।

‘महिलालाई घरेलु कामदारका रूपमा पठाउन प्रतिबन्ध लागेपछि भिजिट भिसाको प्रकरण झनै बढेको छ,’ उनी भन्छन्, ‘पहिलेभन्दा ३० प्रतिशत बढी यसरी पठाएको देखिन्छ ।’ 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी भिजिट भिसालाई पहिल्यैदेखि बन्द गर्नुपर्ने एजेन्डा रहेको बताउँछन् । ‘संस्थागत श्रम स्वीकृतिबाट कामदार पठाउन बन्द गर्ने अनि भिजिट भिसा लगाएर सेटिङमा पठाउने गरिन्छ, जुन सरासर गलत हो,’ उनी भन्छन्, ‘नर्मल मान्छे, जसलाई भिजिट भिसामा कहाँ जाने, के गर्ने केही थाहा छैन, त्यस्ता मान्छेहरू जान्छन् । डाइरेक्ट भिसामा जाँदा लामो समय कुर्नुपर्ने, प्रक्रिया नमिल्ने जस्ता कारणले बिचौलिया, ट्राभल एजेन्सी र कन्सल्टेन्सीहरूले भिसा सेटिङ गरेर पठाउँछन् ।’ 

उनका अनुसार कोभिड–१९ पछि यो समस्या झनै बढेको छ । यसमा अध्यागमनका कर्मचारीको समेत संलग्नता र ‘कमाऊ धन्दा’ रहेको देखिन्छ । संस्थागत स्वीकृति लिएर जानेलाई समेत दुःख दिने, फर्काइदिने र ब्ल्याकमेल गरेर पैसा असुल्ने काम गर्ने गरेको उनको भनाइ छ । 

  • सेटिङ मिले विदेश, नमिले घर फिर्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले २०८१ मंसिर ३ मा वर्किङ भिसामा क्रोएसिया जान खोजेका राजेन्द्र (सांकेतिक नाम) लाई रोक्यो । अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली, २०५१ तथा कार्यविधि २०६५ अनुसार प्रस्थान अनुमति नदिने भनेर रोकेको थियो । त्यस्तै स्याङ्जाका हरेन्द्र (सांकेतिक नाम) लाई समेत अध्यागमनले रोकेको थियो । रोक्नुको कारण थियो, अध्यागमन ऐनअनुसार आवश्यक कागजात पूरा नगरेको । 

त्यस्तै २०८१ मंसिरकै १५ गते मदन (सांकेतिक नाम) क्रोएसिया जान भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । तर, अध्यागमन कार्यालयले फर्काइदियो । उनलाई समेत त्यही अध्यागमन ऐनअनुसार आवश्यक कागजात पूरा नगरेका कारण देखाएको थियो । 

भिजिट भिसामा जानेहरू सहज रूपमै जान पाउँदैनन् । सहजै जान सक्नेहरूलाई समेत सेटिङ मिलाउनै पर्ने बाध्यता हुन्छ । 

त्यस्तै मंसिरकै २० गते सिवान्सी र सिजल (सांकेतिक नाम) समेत क्रोएसिया जान खोजेका थिए । उनीहरूलाई समेत त्यही वेला फर्काइदिएको थियो । 

जय र अञ्जली (सांकेतिक नाम) बुबा छोरी हुन् । उनीहरू भिजिट भिसामार्फत चीन जान खोजेका थिए । आवश्यक पर्ने सबै कागजात पूरा पनि गरेका थिए । तर, उनीहरूलाई अध्यागमनले बुबा छोरी भनेर पत्याएन । त्यसपछि उनीहरूले नाता प्रमाणीकरणको कागजात पेस गरे । र नपत्याएपछि उनीहरू फर्किन बाध्य भए । त्यसपछि उनीहरू भारतस्थित नयाँ दिल्ली हुँदै चीन गए । 

माथि उल्लेख गरिएकाहरू नामहरू सम्पूर्ण प्रक्रिया पूरा गरेर भिजिट भिसामार्फत जान खोजेका थिए । तर, अध्यागमनका कर्मचारीले अनेकन् कारण देखाएर रोकिदिए । तीमध्ये कतिपयले अध्यागमनका कर्मचारीलाई पैसा दिएपछि भने जान पाएका थिए । 

मकवानपुरकी आशा (सांकेतिक नाम) भिजिट भिसामार्फत कुवेत पुगिन् । एक जना एजेन्टमार्फत उनी कुवेत पुगेकी थिइन् । सुरुमा उनलाई काठमाडौँबाट दुबई पुर्‍याइयो । त्यहाँबाट उनलाई कुवेत पुर्‍याइयो । कुवेतमा उनलाई घरको काममा लगाइयो । काम गर्दै जाँदा उनी घरमालिकबाटै यौन शोषणमा परिन् । यौन शोषणपछि उनी गर्भवती भइन् । गर्भवती भएर उनले बच्चालाई जन्म दिइन् । सुत्केरी भएको तीन महिनापछि उनको उद्धार गरेर नेपाल ल्याइएको छ । अध्यक्ष गोलेको टोलीले नै उनको उद्धार गरेको थियो । 

तीन महिनाको बच्चासहित उनको उद्धार गरिएको हो । उनी कुवेतसम्म पुग्दाको कथा बेग्लै छ । श्रीमानले छोडेपछि विदेश जान बाध्य भएकी थिइन् । वैदेशिक रोजगारीका लागि कुनै देश जाने सोचमा थिइन् । त्यही वेला एजेन्टसँग उनको कुराकानी भयो । कुराकानीका क्रममा ती एजेन्टले कुवेतमा राम्रो काम पाइने बताए । त्यसपछि उनी कुवेत जान तयार भइन् । तर, उनलाई कुवेतमा महिलालाई घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लागेको कुरा थाहा थिएन । त्यसका लागि एजेन्टले सुरुमा दुबई जानुपर्ने र त्यहीबाट कुवेत जाने बताएका थिए । त्यसका लागि आफूले सबै कागजात मिलाउने बताएका थिए । भने आफूले जे–जे भनेको त्यहीअनुसार मात्रै बोल्न भने । 

एजेन्टले भनेअनुसार नै उनले एयरपोर्टमा पासपोर्ट र भिजिट भिसाको भिसा देखाइन् । र अध्यागमन अफिसरले सहजै बोर्डिङ पास गरिदिए । दुबईमा एक महिनाजति राखियो । जहाँ उनीजस्तै धेरै महिलाहरू थिए । उनीहरूलाई बन्द कोठामा राखिन्थ्यो । करिब एक महिनापछि एजेन्टले उनसहित १० जना महिलाहरूलाई कुवेतको भिसा आएको र जानुपर्ने भन्दै लगे । 

कुवेतमा समेत सुरुमा एक अफिसमा राखियो । त्यही उनीहरूको मोलमोलाइ सुरु भयो । र उनलाई एक घरको काममा लगाइयो । काम गर्दै जाँदा उनीमाथि नराम्रो व्यवहार सुरु भयो । र अन्ततः उनी घरमालिकबाटै बलात्कृत भइन् । 

भिजिट भिसामा जानेहरू सहज रूपमै जान पाउँदैनन् । सहजै जान सक्नेहरूलाई समेत सेटिङ मिलाउनै पर्ने बाध्यता हुन्छ । 

  • दुबई : नेपाली चेली बिक्रीको ‘ट्रान्जिट हब’

भिजिट भिसामा दुबई पुर्‍याइएका नेपाली, विशेष गरी महिलाहरूलाई त्यहाँबाट पुनः कुवेत, ओमान, बहराइन, लेबनान, मलेसियालगायत देशमा पठाइने गरेको तथ्यहरूले देखाउँछ । एक मेनपावर व्यवसायीले नाम नबताउने सर्तमा भिजिट भिसाको ट्रान्जिट र कसरी लगिन्छ भन्ने विषयमा जानकारी दिए । 

ती व्यवसायीका अनुसार दुबई भिसा सहजै आउने र त्यहाँबाट अन्यत्र पठाउन सजिलो हुने भएकाले यसलाई ‘ट्रान्जिट हब’ का रूपमा प्रयोग गरिन्छ । 

भिजिट भिसामा नेपालीलाई विदेश पठाउने यो अवैध धन्दामा विमानस्थलका कर्मचारीहरूको ‘सेटिङ’ महत्त्वपूर्ण कडीका रूपमा देखिएको छ ।

‘यूएईको अजमान भन्ने सहरमा ‘मेड’ (घरेलु कामदार) सप्लाई गर्ने अफिसहरू नै छन्, ती व्यवसायीले भने, ‘त्यहाँ नेपालीहरू पनि काम गर्छन् । सरकारले महिलालाई जान बन्देज लगाएपछि भिजिट भिसामा पठाइन्छ । गाउँबाटै ललाइफकाई पासपोर्ट बनाइदिने, ५० हजार कमाइ हुन्छ भनेर सपना देखाउने गरिन्छ ।’ 

गोलेका अनुसार दुबई पुगेपछि त्यहाँका एजेन्टले विभिन्न देशका रोजगारदातालाई नेपाली महिलालाई दुईदेखि चार लाख रुपैयाँसम्ममा बेच्ने गर्छन् । नेपालबाट पठाउने एजेन्टले दुबईसम्म पुर्‍याइदिएबापत कमिसन पाउँछन् । दुबईका एजेन्टले रोजगारदाताबाट पैसा लिन्छन् । कुवेतमा ६–७ सय कुवेती दिनार (केडी) मा बेचिने र पैसा तिरेर लगेपछि मालिकबाट कुटिने, खाना नदिने, हिंसा र बलात्कारजस्ता जघन्य अपराध हुने गरेका छन् । गोलेका अनुसार इराकजस्ता प्रतिबन्धित मुलुकमा पुर्‍याउँदा ४ हजारदेखि १० हजार डलरसम्ममा किनबेच हुने गरेको छ । जहाँ उमेर र उनीहरूको सुन्दरताको आधारमा मूल्य तोकिन्छ । 

  • सेटिङको डरलाग्दो सञ्जाल र रकमको खेल

भिजिट भिसामा नेपालीलाई विदेश पठाउने यो अवैध धन्दामा विमानस्थलका कर्मचारीहरूको ‘सेटिङ’ महत्त्वपूर्ण कडीका रूपमा देखिएको छ । एक अर्का मेनपावर व्यवसायी जो भिजिट भिसाको विरोध गर्दै आएका छन्, उनका अनुसार ट्राभल एजेन्सीले भिसा निकालेपछि डलर साट्नेदेखि सबै प्रक्रिया मिलाउँछ ।

‘एयरलाइन्सदेखि सबैलाई यो मान्छे यसरी जान लागेको हो भन्ने थाहा हुन्छ,’ ती व्यवसायीले भने, ‘जसले ठेक्का लिएको छ, त्यसले पैसा लिन्छ ।’ उनका अनुसार दुबई पठाउन प्रतिव्यक्ति ‘प्याकेज’ मा १ लाख ५० हजारदेखि १ लाख ७० हजार रुपैयाँसम्म लिने गरिन्छ । जसमा टिकट र ‘सेटिङ’ को रकम समावेश हुन्छ । 

एयरपोर्टमा सेटिङ मिलाउनुलाई ‘टेबुल खर्च’ भनिन्छ । सेटिङ मिलाएबापत एयरपोर्टका एजेन्टहरूले ४०–४५ हजार पाउँछन् । जुन रकम हालका गृहमन्त्री रमेश लेखसम्म पुग्ने गरेको भनेर अहिले चर्चा चलिरहेको छ । यद्यपि यो विषयमा गृहमन्त्री लेखकले पत्रकार सम्मेलन नै गरेर प्रस्टीकरण दिएका छन् । 

विमानस्थलमा कार्यालय सहयोगी र सुब्बा तहका कर्मचारीहरू यो सेटिङमा विगत २० वर्षदेखि संलग्न रहेको ती व्यवसायीको भनाइ छ । उनीहरूको सरुवा हत्तपत्त हुँदैन । ‘अधिकृत तहका पनि दोहोरिएर पुग्नेहरू संलग्न हुन्छन् । उपसचिव र सहसचिव तहका सामान्यतया माथिल्लो तहमा बसेर निर्देशन दिने गर्थे, तर अहिले सहसचिव आफैँ टिम बनाएर र्‍याकेट चलाएको देखिन्छ,’ ती व्यवसायी भन्छन्, ‘यसमा दैनिक ५० लाखभन्दा बढीको चलखेल हुन्छ र पैसा बाँड्न समिति नै बनाइएको हुन्छ । पैसा तिर्नेलाई जान दिने, नतिर्नेलाई फर्काइदिने गरिन्छ ।’ 

२०७२ सालदेखि नेपालबाट नेपालीलाई घरेलु कामदारको रूपमा जान प्रतिबन्ध लागेको छ । सरकारको प्रतिबन्धपछि भने भिजिट भिसामार्फत विदेश जानेको संख्या बढेको देखिन्छ । 

नेपालबाट यूएई, मलेसिया, कतार, ओमान, कुवेत, इराक, बहराइन युरोप र अफ्रिकाका विभिन्न मुलुकमा भिजिट भिसामा जाने गरेको पाइन्छ । नेपालबाट भिजिट भिसामा जाने र त्यहाँ पुगेपछि ‘वर्किङ भिसा’ मा परिवर्तन गर्ने प्रवृत्ति मौलाएको गएको हो । 

अध्यागनम विभागको तथ्यांकअनुसार सन् २०२२ देखि २०२४ सम्ममा भिजिट भिसामार्फत ६ लाख ५७ हजार २५६ जना नेपाली विदेश गएका छन् । भने सोही अवधिमा १८ हजार १८१ जना नेपालीलाई विमानस्थलबाटै फर्काइएको छ । 

v

तथ्यांक स्रोत : अध्यागमन विभाग

  • के हुन्छ भिजिट भिसाको प्रक्रिया ? 

भिजिट भिसाका लागि अध्यागमन विभागले २०८० माघ ८ गते यात्रा परामर्श (ट्राभल एड्भाइजरी) जारी गरेको थियो । जसमा भिजिट भिसा सो मुलुकमा रहेका यात्रुका आफन्तलाई भेट्न जाने प्रयोजनका लागि सम्बन्धित मुलुकले दिएको प्रवेश अनुमति मात्र भएको जनाएको थियो । 

पर्यटक भिसा आफ्नो वा प्रायोजकको खर्चमा सो देशमा घुम्न जान सम्बन्धित मुलुकले उपलब्ध गराउने प्रवेश अनुमति मात्र भएको जनाएको थियो । भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य भएको विभागले जनाएको थियो । 

तर, त्यो भिसाको दुरुपयोग बढ्दो क्रममा छ । त्यसका लागि सोझासाझा नेपालीलाई निसानामा राखिन्छन् । सबैभन्दा पहिला एजेन्टहरू गाउँघरमा जान्छन् । जो समस्यामा परेको छ, आर्थिक रूपमा विपन्न छन्, अशिक्षित छन्, उनीहरूलाई टार्गेटमा राख्छन् । रोजगारीको प्रलोभनमा पार्दै काठमाडौँ बोलाउँछन् र पासपोर्ट समेत आफैँ बनाइदिन्छन् । 

एक मेनपावर व्यवसायीका अनुसार सबै कागजात आफैंले बनाइदिएपछि उनीहरूलाई एयरपोर्टबाटै दुबई लैजान्छन् । त्यसका लागि एयरपोर्टमा सेटिङ मिलाएका हुन्छन् र सेटिङमा जानेलाई चेकअपसमेत राम्रोसँग हुँदैन । किनभने पहिला नै पैसा दिइसकेको हुन्छ र व्यक्ति चिनाउन कुनै न कुनै संकेत दलालहरूले पहिला नै गरिदिएका हुन्छन् । बोर्डिङ पास गरेर प्लेनमा चढिसकेपछि अध्यागमनका कर्मचारीहरूले एजेन्टमार्फत नै पैसा पाउँछन् । 

भिजिट भिसामार्फत जानका लागि प्रतिव्यक्ति ५०० अमेरिकी डलर चाहिन्छ । त्योसमेत सेटिङमार्फत नै मिलाइने बताए ।

‘प्याकेजमा जाने कि टेबुलमा जाने भन्ने हुन्छ । प्याकेजमा भनेको हवाई टिकटसहित सबै सेटिङ मिलाउने भन्ने हो । हवाई टिकट र सेटिङ गर्दा एक लाख ५० हजारदेखि एक लाख ७० हजारसम्म हुन्छ,’ ती व्यवसायीले भने, ‘टेबुलमाथि भनेको भित्र छिर्ने दिने मात्रै हो । त्यसका लागि ४५ देखि ५० हजारको सेटिङ हुन्छ । दुबईका लागि प्याकेजमा भनेपछि एक लाख ७० हजारमा पठाउँछन् । टेबुलमाथि भनेपछि ४५ देखि ५० हजार थप खर्च लाग्छ ।’ 

त्यो भनेको एयरपोर्टबाट भित्र छिराउन मात्रै हो । एजेन्टहरूले डलर मिलाउनेदेखि होटल बुकिङलगायत कामसमेत सेटिङमै मिलाउने गरेको ती व्यवसायीको भनाइ छ । 

भिजिट भिसामार्फत जानका लागि प्रतिव्यक्ति ५०० अमेरिकी डलर चाहिन्छ । त्योसमेत सेटिङमार्फत नै मिलाइने बताए । अहिले जाने देशको अध्यागमनमा समेत देखाउनुपर्ने भएको डलरको समेत नक्कली डकुमेन्ट बनाउने काम भने बन्द भएको उनको भनाइ छ । 

नेपालबाट सबैभन्दा पहिला दुबईमा लगेर राख्छन् । त्यहाँका ठुल्ठुला अपार्टमेन्टमा बाख्राखोरमा हुलेजसरी राखिन्छन् । र अर्को देशको एजेन्ट आएपछि मोलमोलाई सुरु हुन्छ । 

अर्को देशको एजेन्टले किनेर लैजान्छ । त्यसपछि कुवेत, ओमान, बहराइन, इराक लगायतका देशमा ती एजेन्टहरूले रोजगारदातालाई बेच्छन् । त्यसरी रोजगारदाताले किनेर घरको काममा लगाएपछि दासजस्तै बनाएर राख्ने गरेको गोलेको भनाइ छ । 

‘नेपालका एजेन्टले नेपाली चेलीहरूलाई एक पैसा पनि लाग्दैन भनेर लैजान्छन् । दुबईसम्म लगेपछि दुबईमा रहेका एजेन्टहरूले कमिसन दिन्छन् । दुबईमा कुवेत, बहराइनलगायत देशका एजेन्टहरू आउँछन् । ती एजेन्टहरूले दुबईका एजेन्टहरूबाट मोलमोलाई गरेर किन्छन्,’ अध्यक्ष गोलेले भने, ‘ती देशमा लगेपछि त्यहाँका रोजगारदातासँग मोलमोलाई गर्छन् । रोजगारदाताले अनुहार तथा उमेर हेरेर पैसा तिर्छन । राम्रो अनुहार हुने र कम उमेरको छ भने ४/५ लाख रुपैयाँ समेत तिर्ने रहेछन् । जुन कुरा हाम्रा छोरी चेलीलाई त्यतिवेलासम्म थाहा हुदैन ।’ 

  • युरोपमा संस्थागत रोकेपछि मौलाएको सेटिङ

हाल मेनपावर व्यवसायीहरूले युरोप कामदार पठाउन सक्ने अवस्था छैन । किनभने उनीहरूले ल्याउने मागपत्र नै प्रमाणीकरण गरिदिँदैनन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपबाट आउन मागपत्रहरू प्रमाणीकरण गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका थिए । सोही आधारमा परराष्ट्रले दूतावासहरूलाई पत्राचार गरेको थियो । तर, दूतावासहरूले अनेकन् बहाना बनाउँदै मागपत्र प्रमाणीकरण नगर्ने निवर्तमान अध्यक्ष भण्डारीको भनाइ छ ।

मेनपावर व्यवसायीहरूले ल्याएका मागपत्र प्रमाणीकरण नगरेपछि एजेन्टहरू, कन्सल्टेन्सीहरू, ट्राभल एजेन्सीहरू सेटिङमा मान्छे पठाउनतिर लागेको देखिन्छ । 

‘मेनपावरले पूर्वस्वीकृति दिएको युरोपभरि रोकिदिएको छ । अनि त्यसपछाडि इन्डिभिजुअल श्रम निकाल्नुपर्‍यो । इन्डिभिजुअल श्रम निकालिसकेपछि त्यही निहुँ बनाएर रोक्छन् । र सेटिङ मिलेपछि पठाइन्छन्,’ युरोपमा कामदार पठाउँदै आएका एक व्यवसायीले भने । 

युरोपको मागपत्र प्रमाणीकरण नगरिदिएपछि उनी आफैँ व्यक्तिगत श्रम स्वीकृतिमार्फत कामदार पठाउँदै आएका छन् ।

भिजिट भिसाको आवरणमा मौलाएको यो मानव तस्करी र बेचबिखनको जालो तोड्न सरकारी स्तरबाटै कठोर कदम चाल्नुपर्ने देखिन्छ ।
  • कानुनी जटिलता र कारबाहीको अवस्था

मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) का सल्लाहकार अधिवक्ता सोम लुईंटेलका अनुसार भिजिट भिसा भनेको घुम्न जाने भिसा हो र सम्बन्धित देशको भिसा भए जान पाउनुपर्छ । तर, यसको दुरुपयोग गरी मापदण्ड नपुगेकालाई पैसा खाएर पठाउनु भ्रष्टाचार हो । ‘यूएईमा भिजिट भिसालाई इम्प्लोयमेन्ट भिसामा कन्भर्ट गर्न पाइने भएकाले यसलाई ‘डेस्टिनेसन’ बनाइएको हो,’ लुइँटेल भन्छन्, ‘भिजिट भिसामा लगेर अलपत्र पार्नु वैदेशिक रोजगारको समस्या हो । भिसा नभई वा अर्कै देशमा लगेर शोषण गर्नु मानव तस्करी र बेचबिखन हो ।’

उनका अनुसार संलग्न व्यक्तिलाई कसुरअनुसार वैदेशिक रोजगार ठगी, मानव बेचबिखन वा मानव तस्करीको मुद्दा लाग्न सक्छ । सरकारी कर्मचारी संलग्न भए भ्रष्टाचारको मुद्दा लाग्छ । ‘भ्रष्टाचारजन्य कसुरका लागि कानुन पर्याप्त छ, तर राजनीतिक इच्छाशक्ति र प्रभावकारी कार्यान्वयन आवश्यक छ,’ लुइँटेल भन्छन्, ‘वैदेशिक रोजगार ठगी, बेचबिखन र मानव तस्करीको हकमा भने कानुन सुधारको गुन्जाइस छ, किनकि यी अपराधहरू एकआपसमा जोडिएका छन् र अहिलेका कानुनहरू छुट्टाछुट्टै (आइसोलेसनमा) छन् ।’ 

भिजिट भिसाको आवरणमा मौलाएको यो मानव तस्करी र बेचबिखनको जालो तोड्न सरकारी स्तरबाटै कठोर कदम चाल्नुपर्ने देखिन्छ । विमानस्थलमा हुने ‘सेटिङ’ अन्त्य गर्न कर्मचारीहरूको नियमित सरुवा, पारदर्शिता र कडा निगरानी आवश्यक छ । साथै, महिलाहरूलाई घरेलु कामदारमा जान लगाइएको प्रतिबन्धको औचित्यमाथि पुनर्विचार गर्दै सुरक्षित र मर्यादित वैदेशिक रोजगारीको वातावरण सुनिश्चित गर्नुपर्ने सरोकारवालाहरूको माग छ ।

अधिवक्ता लुइँटेलले कानुनको प्रभावकारी कार्यान्वयन र राजनीतिक इच्छाशक्ति नभएसम्म यस्ता अपराध न्यूनीकरण हुन नसक्ने बताए । पीडितहरूले न्याय पाउने र दोषीले सजाय भोग्ने अवस्था सिर्जना नभएसम्म नेपाली चेलीहरूको यो दर्दनाक यात्रा नरोकिने वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष गोलेको भनाइ छ । अन्यथा, ‘हाम्रै एयरपोर्टबाट हाम्रा छोरीचेली भेडाबाख्राझैं बेचिने’ शर्मनाक अवस्था कहिले अन्त्य होला भन्ने प्रश्न अनुत्तरित नै रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप