शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
समाचार

माधवको ‘मिसिल’ अध्ययन गर्दै एकीकृत समाजवादी

अध्ययनपछि बैठक बोलाउने तयारी
बिहीबार, २९ जेठ २०८२, १५ : ००
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • नेकपा (एकीकृत समाजवादी)का नेताहरूले अध्यक्ष माधव नेपालविरुद्धको मुद्दाको मिसिल अध्ययन गरिरहेका छन्। यो मुद्दा अख्तियारले दायर गरेको हो, जसमा जग्गा खरिद बिक्री र हदबन्दी प्रकरणमा नेपालसहित ९३ जनालाई आरोप लगाइएको छ।
  • अख्तियारले पूर्व प्रधानमन्त्री नेपालमाथि प्रधानमन्त्री हुँदा पतञ्जलीलाई जग्गा खरिद र बिक्री गर्न स्वीकृति दिएको आरोप लगाएको छ। उक्त जग्गा पछि हाउजिङ कम्पनीलाई बेचिएको थियो।
  • पार्टीले मुद्दाबारे छलफल गर्न बैठक बोलाउने तयारी गरिरहेको छ र नेताहरूले यसलाई राजनीतिक प्रतिशोधको रूपमा लिएका छन्। कानुन विभागले मिसिल अध्ययनका लागि कमिटी गठन गरेको छ।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेताहरू अध्यक्ष माधव नेपालविरुद्ध दायर मुद्दाको मिसिल अध्ययनमा लागेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलि जग्गा खरिद बिक्री र हदबन्दी प्रकरण छुट दिएकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अध्यक्ष नेपालले प्रधानमन्त्री रहेका बेला पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्न स्वीकृति दिएको अख्तियारको आरोप छ ।

२०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा खरिद गरेको थियो । २०६६ साल माघ १८ गतेको मन्त्रिपरिषद् बैठकबाट उक्त निर्णय गराइएको थियो । जसमध्ये ३५३ रोपनी जग्गा हाउजिङ कम्पनीलाई बेचिएको थियो । 

त्यसको दुई महिना नबित्दै २०६६ साल चैत ६ गते मन्त्रिपरिषद्बाट अर्को निर्णय गराइ जग्गा बिक्री गर्ने स्वीकृति दिलाइएको अख्तियारको आरोप पत्रमा भनिएको छ । अख्तियारको यही आरोपपत्रको मिसिल अध्ययन गर्न एकीकृत समाजवादीको कानुन विभागले नेताहरूको एक कमिटी नै गठन गरेको हो ।

एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार परिवर्तन राईको संयोजकत्वमा ३ सदस्यीय मिसिल अध्ययन कमिटी गठन गरिएको हो । कमिटीमा दुर्गाप्रसाद चिमरिया र गजबहादुर ऐरी सदस्य रहेका छन् । तीनै जना पार्टी कानुन विभागका सदस्य हुन् । उनीहरूले अरू कानुनका जानकारहरूसँग समेत छलफल गरेर धारणा तय गर्नेछन् ।

त्यसबाहेक अध्यक्ष नेपाल आफै र सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल तथा उपनेता राजेन्द्र पाण्डेसहितका नेताहरूले पनि नेपालविरुद्ध अख्तियारले लगाएका आरोपको तथ्यबारे आन्तरिक रूपमा मिसिल अध्ययन गरिरहेका छन् । अख्तियारको मुद्दा विरुद्ध अदालतले गत सोमबार म्याद तामेलका लागि पठाएको छ ।

माधव नेपालसहित काठमाडौँभित्र ठेगाना भएका प्रतिवादीको हकमा म्याद बुझेको १५ दिनभित्र र बाहिर ठेगाना भएका प्रतिवादीहरु म्याद बुझेको १५ दिनमा र थप बाटोको म्यादभित्र  अदालतमा उपस्थित हुनुपर्नेछ । अदालती प्रक्रिया सुरु भए पनि म्याद तामेल हुन (प्रतिवादीले म्याद बुझ्न) बाँकी रहेको छ ।

  • अध्ययनपछि बैठक बोलाउने तयारी

अध्यक्षविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर भएपछि अहिले सो पार्टीमा अन्योल उत्पन्न भएको छ । कतिपय नेताहरूले पार्टी बैठक बोलाएर पार्टीको धारणा तय गर्नुपर्ने बताइरहेका छन् । तर नेपालविरुद्ध मुद्दा दायर भएको एक साता पुग्न लाग्दा पनि कुनै पनि पार्टी कमिटीको बैठक बोलाइएको छैन ।

‘पार्टी नेताहरू मिसिल अध्ययनमा हुनुहुन्छ । अध्ययन सकेर बैठक बोलाउने तयारी छ’, प्रचार विभाग उपप्रमुख अर्याल भन्छन्, ‘मिसिल अध्ययन गरेपछि वास्तविकता के हो र कसरी अघि बढ्ने भन्ने पार्टीलाई धारणा बनाउन मद्दत पुग्छ ।’ अर्यालका अनुसार दुईचार दिनभित्रै नेताहरूले मिसिल अध्ययन सक्ने र बैठक बोलाइने बताए ।

नेपालविरुद्ध मुद्दा दायर भएकै दिन सो पार्टीका उपलब्ध नेताहरूसहित कानुनविदहरुसँग नेपालले आन्तरिक छलफल गरेका थिए । सो छलफलपछि एकीकृत समाजवादीले अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरेको पार्टी नेताहरूले बताउँदै आएका छन् । साथै उनीहरूले उक्त प्रकरणमा पार्टीले कानुनी लडाई लड्ने र राजनीतिक प्रतिवाद गर्ने जनाउँदै आएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप