‘तितेपाती बेचेर नेपालले अर्बौं रकम कमाउन सक्छ’

नेपालका घर आँगनमा प्रशस्त मात्रामा पाइने ‘तितेपाती’ बहुउपयोगी वनस्पति खेर गइरहेको छ । विभिन्न रोग र समस्या समाधानका लागि घरेलु उपचारमा प्रयोग हुँदै आएको यो वनस्पति औषधीय गुणले भरिपूर्ण मानिन्छ । तान्त्रिक हिलर उत्तम कुमार बज्राचार्यले भने खेर गइरहेको वनस्पति तितेपातीको तेल उत्पादन गरेर विदेशमा निर्यात गरिरहेका छन् ।
नेपालमा उत्पादित तितेपातीको तेलको विदेशमा माग बढ्दो छ । लामो समय तितेपातीबारे अध्ययन, अनुसन्धान गरेर बज्राचार्यले ‘तितेपाती’ पुस्तक बजारमा ल्याएका छन् । यसको अंग्रेजी संस्करण पनि सार्वजनिक हुँदै छ । काठमाडौँ विश्वविद्यालयको आइडिया स्टुडियोले आयोजना गरेको ‘आइडिया कम्पिटिसन २०१८’ मा बज्राचार्यले उत्पादन गरेको तितेपातीको तेलले उत्कृष्ट पुरस्कार प्राप्त गरेको थियो ।
उनै बज्राचार्यसँग रातोपाटीका लागि नरेन्द्र रौलेले गरेको कुराकानीः
‘तितेपाती’ पुस्तक लेख्न कति समय लाग्यो ?
तीन वर्ष लाग्यो । सुरुमा त लेख्ने सोच पनि थिइनँ । धेरै मानिसहरूले बारम्बार मलाई लेख्न आग्रह गरिरहनुभयो । लेखिसकेपछि सम्पादनका लागि समस्या झेल्नुपर्यो । कतैबाट सहयोग मिलेन । संयोगले डा. नवराज लम्सालसँग भेट भयो । उहाँको सम्पादनपछि पुस्तक छापियो । उहाँसँग भेट नभएको भए सायद पुस्तक छापिदैनथ्यो होला ।
‘तितेपाती’ को महत्व पहिलो पटक कुन वेला थाहा पाउनुभयो ?
सन् २००२ मा जापान पुगेको थिएँ । त्यहाँ जापानीहरूले सुपमाथि तितेपाती राखेको देख्दा अचम्म लाग्यो । गोदावरी फूलको पत्ता हो कि जस्तो लागेको थियो । पछि थाहा भयो, त्यो त तितेपातीको पत्ता रहेछ । तिम्रै देशबाट आएको हो भन्दै यसको महत्त्वबारे मलाई बताए । म झन् उत्सुक भएँ । र यसको अनुसन्धानमा लागेँ ।
के रहेछ त तितेपातीको महत्व ? लामो अध्ययन, अनुसन्धानपछि के–के कुरा पत्ता लगाउनुभयो ?
आयुर्वेदमा तितेपातीलाई ‘सर्वरोगनासक’ भन्ने गरिन्छ । यसलाई ‘घरको वैद्य’ पनि भनिन्छ । उचित मात्रामा यसको प्रयोग गरे मानव शरीरमा हुने रोगहरू निको पार्न सकिन्छ । यो बहुगुणी, बहुउपयोगी र औषधीय गुणले भरिपूर्ण हुन्छ । यसका जरा, डाँठ, फूल, बीउ पूरै काम लाग्छ । परम्परागत रूपमा घरेलु उपचारमा तितेपातीको प्रयोग गरिन्छ । यसले उच्च रक्तचाप, मधुमेह, दुखाइ र माइग्रेन कम गर्छ ।
यसको सही प्रयोगले पाचन सुधार्छ, अपच र पेट दुखाइ कम गर्छ । डेंगु र मलेरियाको उपचारमा मद्दत गर्छ । घरको झ्याल, ढोका, दलिन र काठको दराजलगायत सामानमा तितेपाती पकाएर झोल निकाली लगाउने गरिन्छ ।
यसो गर्दा काठ किराले नखाने, नबिग्रने हुन्छ । काठमो आयु बढ्छ । तितेपातीको सांस्कृति र तान्त्रिक महत्त्व पनि छ । एक अध्ययनका अनुसार नेपालमा २० प्रकारका तितेपाती पाइन्छन् । नेपालको कुल भू–भागको ६५.५ जमिन उच्च पहाडदेखि तराईसम्म तितेपाती पाइन्छ ।
तितेपातीको सांस्कृति र तान्त्रिक महत्त्व पनि छ भन्नुभयो । विस्तृतमा बुझाइदिनुहोस् न ।
जहाँ तितेपाती हुन्छ, त्यहाँ भूतप्रेत आउन सक्दैन भन्ने मान्यता छ । यसले भाइरस र ब्याक्टेरियालाई मार्ने काम गर्छ । नेपालका प्रायः सबै धर्म, जातिका मानिसले आफ्नो रीतिथिति, चलन, परम्पराअनुसार वच्चादेखि मृत्यु परम्परासम्म तितेपातीको प्रयोग गर्छन् । बच्चा जन्मिँदा न्वारनको दिनमा घर चोख्याउने, आँगनमा तितेपाती बालेर धुँवा निकालिन्छ । यस्तै नेपालको परापूर्वकालदेखि तितेपाती हाम्र्रो धर्म, संस्कृति, रीतिरिवाज र जीवनसँग गाँसिएको छ ।
नेपालबाहेक अन्य मुलुकमा तितेपाती र यसबाट उत्पादित सामानहरू कत्तिको प्रयोग गरिन्छ ?
दक्षिण कोरिया, चीन र जापानमा यसको निकै प्रयोग गरिन्छ । जापानमा तितेपाती खानेकुरामा प्रयोग गरिन्छ । यसको तेलको उच्च माग छ । चीनमा क्यान्सर निको पार्न र मोक्सा थेरापीका लागि बढी प्रयोग गरिन्छ । यस्तै दक्षिण कोरियामा नसाको समस्या, दुखाइको समस्या कम गर्न, महिनावारीको समयमा हुने तल्लो पेट दुखाइ कम गर्न, गर्भाशयलाई स्वस्थ राख्न, पिसाबको रोकावट खोल्न, रोगको संक्रमणसँग लड्ने क्षमता अभिवृद्धि गर्न तितेपातीको प्रयोग गरिन्छ ।
नेपालमा प्रशस्त मात्रामा तितेपाती पाइन्छ । खेर गइरहेको तितेपातीलाई निर्यात गरेर आय आर्जन गर्न कत्तिको सम्भव छ ?
नेपालमा प्रशस्त पाइने तितेपाती यसै खेर गइरहेको छ । हामीले तितेपातीबाट तेल उत्पादन गरेर जापान, अमेरिका, भारतलगायत देशमा निर्यात गर्यौँ । सवा लिटर तेल हामीले ३६ हजार रुपैंयाँसम्म बिक्री गर्न सफल भयौँ । विदेशमा यसको ठुलो माग छ । खेर गइरहेको तितेपातीबाट नेपालले अर्बौं रकम कमाउन सक्छ । तर, त्यसका लागि राज्यले वातावरण सिर्जना गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशको बजेट आज, चालु आर्थिक वर्षको भन्दा १ अर्ब घट्ने
-
कुन प्रदेशको बजेट कति बजे ?
-
इरानी आक्रमणमा इजरायलमा ८ को मृत्यु, १ सयभन्दा बढी घाइते
-
कोशी प्रदेश : बजेटको आकार ३७ अर्ब पुग्न सक्ने अनुमान
-
पूर्वाधारको बजेटमा सत्ता पक्षको रजाइँ: ओली र देउवाको क्षेत्रमा खन्याइयो
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य