कामबाट समयमा डेरा फर्किइनन् अञ्जना, खोज्न जाँदा भेटियो दुई जनाको शव
सारांश
- बूढानीलकण्ठमा एक घरमा भारतीय नागरिक र एक नेपाली महिला मृत फेला परेका छन्।
- मृतक भारतीय नागरिक फोटोग्राफर थिए र महिला घरमा काम गर्थिन्, दुवै जनाको शवसँगै विषको बट्टा भेटिएको छ।
- प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, महिलाको हत्यापछि पुरुषले आत्महत्या गरेको हुनसक्ने आशंका छ, घटनामा कुकुर पनि मृत फेला परेको छ।
काठमाडौँ । भारतीय नागरिक ५४ वर्षीय परम नारायण गिल फोटोग्राफर हुन् । पन्जाबको चण्डीगढ घर भएका उनले विवाह लगायत समारोहका फोटो खिच्ने पेशा गर्दै आएका थिए ।
उनै गिल शुक्रवार राति बूढानीलकण्ठस्थित आफू बस्ने घरमा मृत फेला परे । त्यहीँ उनको घरमा काम गर्ने अन्जना तामाङ पनि मृत अवस्थामा भेटिइन् । २८ वर्षीया तामाङ धादिङको गल्छी गाउँपालिका–६ की हुन् ।
गिलले भाडामा लिएको घरमा काम सकेर साँझ ५ बजे सधैँ आफ्नो डेरामा फर्किने अन्जना लामो समय नफर्केपछि उनकी बहिनी उनलाई खोज्न गइन् । सो घरमा बत्ती बलिरहेको थियो तर, भित्रबाट चुकुल लगाएको देखेपछि बहिनीले प्रहरीलाई खबर गर्दा दुवै जना मृत भेटिए ।
अञ्जनाको टाउको चोट देखिएको छ । बुढानलीकण्ठ नगरपालिका–४ पासिकोट स्थित थ्री स्टार किड्स जोन स्कुलको कम्पाउन्ड भित्रको घरमा उनीहरूको शव सँगै विषादीको बट्टा भेटिएको छ । अन्जनाको हत्यापछि गिलले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
उनले भने, ‘दुई वटा विषको बट्टा खोलेको अवस्थामा भेटिएको छ ।’ त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले पनि गिलले विषादी सेवन गरेको प्रारम्भिक जानकारी प्रहरीलाई गराएका छन् ।
गिलकी पत्नी विदेशमा बस्छिन् । छोरीको विवाह भैसकेको छ । अञ्जनाका श्रीमान् पनि विदेशमा छन्, उनी दुई सन्तानसँग बूढानीलकण्ठमा बस्छिन् । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार अञ्जनाका श्रीमान् बिदा सकेर ३ दिनअघि मात्र विदेश फर्केका थिए ।
शुक्रवार राति ९ बजेर ४० मिनेटमा खबर पाएपछि प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ । घटनास्थलमा कुकुर पनि मृत भेटिएको छ । कुकुरलाई विष खुवाएर वा हिर्काएर मारेको आशंका गरिएको छ । एसपी बोहरा भन्छन्, ‘कुकुरलाई पनि चोट लागेको देखिन्छ ।’
घटनास्थलमा ह्यामर फेला परेको छ । अञ्जनालाई गिलले ह्यामरले हिर्काएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
ढोका भित्रबाट चुकुल लगाएको हुनाले बाहिरबाट तेस्रो व्यक्तिको प्रवेश भएको नदेखिएको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी निरञ्जन थापाले बताए । उनले भने, ‘हामी ढोका फोडेर घटनास्थलमा प्रवेश गरेका हौँ, अहिलेसम्मको अनुसन्धानमा तेस्रो व्यक्तिको प्रवेश देखिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण