बस्नेतको नियुक्तिमा अदालतको रोक, बर्खास्त तामाङ पुनः पदमा फर्किने
सारांश
- उच्च अदालत विराटनगरले मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष इन्द्रकुमार योन्जन तामाङलाई पुनः बहाली गर्न आदेश दिएको छ। उनलाई बोर्डका सदस्य सचिवले बर्खास्त गरेका थिए।
- तामाङलाई हटाएर एमालेका सुरज श्रेष्ठलाई नियुक्त गरिएको थियो। अदालतले राजनीतिक प्रतिशोधका कारण तामाङलाई निलम्बन गरिएको ठहर गरेको छ।
- अदालतको आदेशपछि तामाङले आफू पुनः अध्यक्षमा बहाली हुने बताएका छन्। यसअघि प्रदेश सभामा सांसदहरूले यो विषय उठाएका थिए।
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षबाट बर्खास्त गरेका इन्द्रकुमार योन्जन तामाङलाई पुनः बहाली गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीशद्वय राजेन्द्र अधिकारी र केशवप्रसाद बाँस्तोलाको संयुक्त इजलासले सोमबार निवेदक तामाङको पक्षमा रिट जारी गरेको हो ।
चार वर्षका लागि इन्द्रकुमार योन्जन तामाङ जिल्ला खेलकुद विकास समिति मोरङको अध्यक्षमा २०८० चैत २३ गते नियुक्त भएका थिए । तर, गत माघ १७ गते बोर्डका सदस्य सचिव बस्नेतको सिफारिसमा सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले सुरज श्रेष्ठलाई नियुक्त गरेका थिए ।
श्रेष्ठ एमाले मोरङका जिल्ला सदस्य हुन् । बस्नेतसँग निकट भएको कारणले तामाङलाई हटाएर श्रेष्ठलाई नियुक्ति गरिएको थियो । श्रेष्ठलाई मोरङ जिल्ला खेलकुद विकास समितिमा नियुक्त गर्न सदस्य सचिव बस्नेतको जोडबल थियो ।
प्रदेश खेलकुद विकास बोर्डका तत्कालिन सदस्य सचिव हंसराज वाग्ले भएको बेला २०८० चैत २३ गते तामाङलाई खेलकुद विकास समितिको अध्यक्षमा नियुक्ति गरिएको थियो । उच्च अदालतले सदस्य सचिवमा एमालेका नेता पर्शुराम बस्नेतलाई पुनर्बहाली गरेको चार महिनापछि भदौ ६ गते तामाङलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षबाट निलम्बन गरेका थिए ।
त्यसपछि तामाङले उच्च अदालतमा प्रदेश खेलकुद विकास बोर्डलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । भदौ २० गते उच्च अदालतका न्यायाधीश बिपुल न्यौपाने र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले तामाङलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा काम गर्न आदेश दिएको थियो ।
सो मुद्दा विचाराधीनमा रहेको बेला एमाले नेतृत्वको सरकारले आफ्ना कार्यकर्ता सुरज श्रेष्ठलाई नियुक्ति गरेपछि तामाङले अदालतको अपहेलना भएको भन्दै सदस्य सचिव बस्नेतलाई कारवाही गर्न माग राख्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उक्त अपहेलना मुद्दामा भने दाबी नपुगेको आदेश भएको छ ।
कुनै स्पष्टीकरण नसोधी राजनीतिक प्रतिशोधका आधारमा बस्नेतले निलम्बन गरे पनि अदालतले न्याय दिएको तामाङले बताए । मंगलबार अदालतको आदेश लिएर जिल्ला खेलकुद विकास समिति मोरङको अध्यक्षमा पुनः बहाली हुने उनले जानकारी दिए । ‘कुनै बेला राजनीतिक प्रतिशोधका आधारमा मलाई निलम्बन गरिएको थियो । तर लोकतन्त्रमा न्याय मरेको छैन भन्ने उदाहरण अदालतले दिएको छ । कानुनी राज्यमा अदालतप्रति विश्वास बढेको छ,’ तामाङले भने ।
सदस्य सचिव बस्नेतले गरेको नियुक्तिलाई लिएर कोशी प्रदेशसभा बैठकमा पनि सांसदहरूले प्रश्न उठाएका थिए । माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री गणेश उप्रेती सुशिलले चार वर्षका लागि नियुक्त भएका इन्द्रकुमार योन्जन तामाङलाई हटाएर प्रदेश सरकारले अदालतको अपहेलना गरेको बताएका थिए ।
तामाङको तर्फबाट वरिष्ठ अधिवक्ता भोजराज श्रेष्ठ, अधिवक्ता प्रेम कुमार घिमिरे र अधिवक्ता राजकुमार राजवंशीले बहस गरेका थिए भने प्रतिवादी बस्नेतको तर्फबाट अधिवक्ता डिल्ली राम घिमिरे र मुख्य न्यायाधिवक्ता कार्यालयका सरकारी वकिलले बहस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण