बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

जीवन ‘सजिलो’ होइन ‘सार्थक’ बनाउने होड

बुधबार, ०४ असार २०८२, १८ : ३३
बुधबार, ०४ असार २०८२

२१औँ शताब्दीको मानवजीवन अत्याधुनिक प्रविधि, विलासितापूर्ण जीवनशैली र उपभोगतावादी सोचद्वारा निर्देशित भएको छ । बजारले जीवनको हरेक पक्षमा गहिरो प्रभाव जमाएको छ । सामाजिक सञ्जाल, ब्रान्ड, लाइफस्टाइल र सम्पत्तिमा आधारित मूल्य–मान्यताले जीवनलाई भौतिक उपलब्धिको घेराभित्र मात्र सीमित बनाएको छ । तर यति धेरै ‘आधुनिकता’का बिचमा पनि मानिस आज हरेक दिन मानसिक थकान, सम्बन्धविहीनता, असन्तुष्टि र अस्तित्वगत संकट भोगिरहेको छ । यही परिस्थितिमा उसले आत्मसमीक्षा गर्न थालेको छ र फेरि आफ्नो जरा मौलिक जीवनशैली र पुरानो सादगीतर्फ फर्किन थालेको छ ।

आजको भौतिकवादको वास्तविकता हेर्दा यसले मानिसको जीवनलाई सुविधायुक्त, छिटो र सजिलो बनाएको नकार्न सकिन्न । यातायात, सञ्चार, आवास, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा अद्वितीय प्रगति भएको छ । यही सुविधाको अति प्रयोगले मानिसलाई भौतिकवस्तुको उपभोक्ता मात्रै बनाएको छ । व्यक्तिगत सम्बन्धभन्दा प्रविधिमा बित्ने समय बढ्दै गएको छ । आफ्नोपनको अनुभूति गुमाउँदै जाँदा आत्मीयता साट्ने क्षमतामा पनि ह्रास आएको छ ।

मानिसहरू आज जीवनको सार आत्मा र मूल्यमा होइन वस्तु र अनुभवमा खोज्न थालेका छन् । छुट्टीको दिन घाम ताप्दै आँगनमा बसेर जीवनका तितामिठा अनुभवहरू साट्ने र भावनाहरू पोख्ने परम्परा हराउँदै गएको छ । त्यो ठाउँ अहिले ‘रिसोर्ट’, ‘लग्जरी ब्रेक’ वा ‘इन्स्टाग्रामेबल’ ट्रिपले लिएको छ । यस्ता अभ्यासले जीवनको मौलिक स्वाद गुमाएको महसुस गर्दा मान्छे फेरि सहज र सन्तुलित जीवनको खोजीमा लाग्न थालेको छ ।

परिवर्तनको संकेतका रूपमा पहिलो उल्लेखनीय कुरा ग्रामीण जीवनशैलीमा पुनः झुकाव हो । सहरमा जन्मिएर हुर्किएका मानिसहरू आज गाउँ फर्किन थालेका छन् । ‘वर्क फ्रम होम’ संस्कृतिले यस्तो प्रवृत्तिमा अझ मद्दत गरेको छ । विलासी जीवनले ग्रसित मानिसलाई गाउँको हरियाली, शुद्ध वायुमण्डल, सामुदायिक जीवनशैली र आत्मीय सम्बन्धले नयाँ ऊर्जा दिएको छ । घरछेउको बगैँचामा आफ्नै तरकारी उमार्ने, परम्परागत झ्याल–ढोका बनाउने र प्राकृतिक स्रोतमा निर्भर भएर बाँच्छु भन्ने सोच बढ्दो छ ।

योग, ध्यान र वैदिक अभ्यासप्रतिको आकर्षण । पछिल्लो दशकमा ‘माइन्डफुलनेस’, ‘मेडिटेसन’, ‘योग’जस्ता अभ्यास फेरि लोकप्रिय भएका छन् । यी अभ्यास हाम्रो परम्पराको हिस्सा हुन् जुन अब विश्वव्यापी बनिसकेका छन् । मानिस अब फिजिकल फिटनेसभन्दा बढी मानसिक सन्तुलन र भावनात्मक स्वास्थ्यप्रति सजग छ । ध्यान, मौन, श्वासप्रश्वास अभ्यास, कपालभाँती आदि विधि अब सिर्फ साधु–सन्तको अभ्यास नभएर शिक्षित युवाको दिनचर्या बनेको छ ।

योग, ध्यान र वैदिक अभ्यासप्रतिको आकर्षण । पछिल्लो दशकमा ‘माइन्डफुलनेस’, ‘मेडिटेसन’, ‘योग’ जस्ता अभ्यास फेरि लोकप्रिय भएका छन् ।

मानिसको झुकाव सजिलो नभई सार्थक जीवनतर्फ बढिरहेको छ । पहिला जीवन ‘सजिलो’ बनाउन खोजिन्थ्यो, अब जीवन ‘सार्थक’ बनाउने होड छ । सादा जीवनशैली, न्यूनतम उपभोग, सरल पोसाक, घरेलु उत्पादन, हस्तकलाको पुनरुत्थान, ‘जिरो वेस्ट’ अवधारणा आदि यसका प्रतीक हुन् । अहिलेका युवा केवल ‘जिन्दगी रमाइलो होस्’ होइन ‘जिन्दगी अर्थपूर्ण होस्’ भन्ने चाहन्छन् ।
परम्परागत जीवनशैलीको परिष्कृत पुनस्र्थापना पनि अहिलेको एउटा स्पष्ट प्रवृत्ति हो । मानिस पूरै अघिको समयतर्फ फर्किन खोजेको होइन, ऊ परम्परालाई आधुनिकताको आँखाले हेरेर पुनर्संरचना गर्न खोज्दै छ । अबको चाहना— ‘संस्कृति र प्रविधिको समन्वय’ हो ।

वास्तुकला र आवासमा परम्परागत ढुंगा, माटो र काठ प्रयोग हुने घरहरू अहिले हरित प्रविधिसँग मिसिएका छन् । यस्तो घरमा सौर्य ऊर्जा, वर्षाको पानी संकलन, तापक्रम सन्तुलन, जैविक फोहोर व्यवस्थापनको व्यवस्था हुन्छ । यसको स्वरूप पुरानो छ तर प्रविधि नयाँ ।

आहार संस्कृतिमा फास्टफुडको विकल्पमा अब ‘स्लो फुड’ लोकप्रिय हुँदै छ । घाममा सुकाइएको अचार, कोदोको ढिँडो, तोरीको साग, घिउ र मह— यी अब स्वास्थ्य र आत्मीयताको प्रतीक बन्न थालेका छन् । होटल–रेस्टुरेन्टहरूले पनि ‘स्वदेशी’ परिकारलाई फेरि आकर्षक बनाइरहेका छन् । पोसाकको सन्दर्भमा दौरा–सुरुवाल, गुन्यूचोली, पटुकी, चोलो आदि अब परम्परा मात्रै नभई फेसन स्टेटमेन्ट बन्न थालेका छन् । ‘ह्यान्डलुम’, ‘अर्गानिक कपडा’, ‘लोकल टेक्सटाइल’को प्रयोग बढ्दो छ । पहिरन सादा, टिकाउ र स्वदेशी हुन थालेका छन् ।

शिक्षा र संस्कारतर्फ हेर्दा बच्चालाई प्रकृतिको नजिक राख्ने विद्यालय (जस्तै ः ‘फरेस्ट स्कुल’, ‘अल्टरनेटिभ लर्निङ’, ‘मूल्य–आधारित शिक्षा’ आजको आवश्यकता बनेका छन् । पौराणिक साहित्य, नीति, संस्कार सिकाउने अभ्यास पुनः जोडिएको छ ।

यस परिवर्तनका सामाजिक–सांस्कृतिक र आर्थिक प्रभावहरू सकारात्मक पनि छन् । सामुदायिकता पुनस्र्थापना हुँदै छ, सामूहिक सहकार्य, मेलमिलाप, साटासाट र सामाजिक सद्भाव बढ्दो छ । आत्मनिर्भरता बढेको छ अर्थात् स्वदेशी उत्पादन, घरेलु सामग्री, लोकसीप र हस्तकलालाई पुनः जीवन दिइँदै छ । पर्यावरणीय सन्तुलन पनि कायम हुन थालेको छ अर्थात् प्लास्टिक निषेध, जैविक खेती, हरित ऊर्जाको प्रयोगले प्रकृति र जीवनबिचको सन्तुलन फर्किएको छ । साथै मानसिक स्वास्थ्य पनि सुधार हुँदै गएको देखिन्छ ।

केही चुनौती पनि छन् । सस्तो लोकप्रियताका नाममा विकृति आउने खतरा छ अर्थात् धेरैले परम्परालाई गहिरो गरी नबुझी केवल फेसन बनाउने सम्भावना छ । उद्योग–बजारको प्रभावले बहुराष्ट्रिय कम्पनीहरूले सस्तो बजारबन्दी गरेर लोक–उद्योगलाई संकटमा पार्न सक्छन् । अनि साक्षरताको अभावले परम्परा र आधुनिक सोचको सन्तुलन गर्न कठिनाइ आउन सक्छ, जसलाई शिक्षाले सम्बोधन गर्नुपर्छ ।

यस्तो सन्दर्भमा राज्य, समाज र व्यक्तिको भूमिका महत्त्वपूर्ण हुन्छ । राज्यको नीति हस्तकला, लोकपद्धति, ग्रामीण पर्यटन, साना घरेलु उद्योगको प्रवर्द्धनमा केन्द्रित हुनुपर्छ । सञ्चारमाध्यमले जीवनशैलीमा सादगी र आत्मीयताको महत्त्वलाई प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउनुपर्छ । अनि व्यक्तिगत जागरण पनि अत्यावश्यक छ । नागरिकले उपभोगभन्दा उपयोग, विलासभन्दा विवेक र आडम्बरभन्दा आत्मसन्तोष रोज्नुपर्छ । निष्कर्ष स्वरूप भन्नुपर्दा, भौतिकवादले मानव जीवनलाई तात्कालिक तृप्ति त दिएको छ तर दीर्घकालीन सन्तोष गुमाएको छ । यही कारण मानिसहरू फेरि मौलिकता, सादगी र आत्मीयता खोज्दै छन् । पुरानो जीवनशैली आज केवल एक स्मृति होइन, त्यो एक विकल्प हो, जहाँ मनले शान्ति पाउँछ, सम्बन्धहरूले ऊर्जा पाउँछ र समाजले स्थायित्व पाउँछ । आजको सन्दर्भमा, यही विकल्पलाई ‘स्मार्ट, परिष्कृत र सुसंगठित’ रूपमा पुनस्र्थापित गर्नु समयको माग हो ।

हामीले बुझ्नुपर्ने कुरा के हो भने जीवन सधैँ सुविधाजनक हुनु जरुरी छैन तर सार्थक हुनु अत्यावश्यक छ । यही दृष्टिकोणले आजको मानवलाई फेरि आफ्नो जरा, आफ्नो आत्मा र आफ्नै पहिचानतर्फ फर्काइरहेको छ ।

अन्त्यमा, ‘जीवनशैली प्रविधिमा हराएर संस्कृति गुमेको अनुभूति नहोस् । होडबाजी र लोकप्रियतामा भन्दा आवश्यकता  र सार्थकतामा आधारित विकासलाई जोड दिइयोस् र सुसंस्कृत समाजको निर्माण होस् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपक भट्ट (प्रकाश)
दीपक भट्ट (प्रकाश)
लेखकबाट थप