शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री

बिहीबार, २२ जेठ २०८२, ०१ : २२
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनको लागि नेपाल प्रहरीलाई जुनसुकै बेला तयारी अवस्थामा रहन निर्देशन दिए।
  • उनले मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै बाढी, पहिरो र डुबानको पूर्वतयारी गर्न निर्देशन दिए।
  • प्रहरीको बजेट बढेको र ऐन संशोधनको प्रक्रिया सुरु हुने कुरा गृहमन्त्री लेखकले बताए।

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । बुधबार सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् ।

“जुनसुकै बेला जेसुकै हुन सक्छ । त्यो मानसिकताका साथ बस्नुपर्छ । मनसुनजन्य विपद्को पूर्वानुमान हुन्छ । तर, भूकम्प र आगलागीको पूर्वानुमान हुँदैन”, उनले भने, “हामी मनसुनको पूर्व सन्ध्यामा छौँ । मनसुन सक्रिय भएपछि बाढी र पहिरो आउँछ । त्यसको पूर्व तयारीमा हामी तयार रहनुपर्छ।” विपद्को व्यवस्थापन पनि नेपालको जिम्मेवारी दिएको भन्दै चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकले निर्देशन दिए ।

“विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी हो भनेर कानुनमै उल्लेख छ । नेपाल प्रहरीको उपस्थिति नागरिक तहमा विशाल छ । मानिसमा प्रहरीप्रति आशा र भरोसा बढ्दो छ । विपद्मा मानिसले सबैभन्दा पहिलो प्रहरी नै खोज्छ । हामीले जनताको भावनालाई सेवाको भावले सम्बोधन गर्नुपर्छ”, उनले भने । 

अहिले बाढी, पहिरो र डुबानको जोखिम न्यूनीकरण र व्यवस्थापनको तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ थियो । “मनसुनजन्य विपद्का लागि आजदेखि तयार हुनुपर्‍याे । समयमै पूर्व सूचना गराउन र उद्धारका लागि तयार अवस्थामा बस्न जरुरी छ । जेठ २८ गतेदेखि मनसुन सक्रिय हुने अनुमान छ”, उनले भने । 

यस पटक पहिलेकोभन्दा नेपाल प्रहरीको बजेट बढेको भन्दै तलब, पोसाक, महँगी भत्तामा कुनै समस्या नहुने उनको भनाइ थियो । यस्तै नेपाल प्रहरीको ऐन संशोधनका लागि सङ्घीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा चाँडै छलफल सुरु हुने गृहमन्त्री लेखकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप