घरायसी विवाद हुँदा देवरले गरे भाउजूको हत्या

मकवानपुर । घरायसी विवादका कारण मकवानपुरको थाहा नगरपालिकामा देवरले भाउजूको विभत्स हत्या गरेका छन् ।
पुरानो घरायसी विवादले मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–१ कुन्छालमा नातामा देवर पर्ने एक जना युवाले धारिलो हतियारको प्रयोगबाट भाउजुको विभत्स हत्या गरेका प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो २ः२० बजेतिर ५० वर्षीया स्थानीय तुलमाया गोपालीको छिमेकी आफ्नै देवर पर्ने बिमलमान गोपालीले खुकुरी प्रहार गरी निर्मम ढङ्गबाट हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिमलमानको खुकुरी प्रहारले तुलमायाको शरिरबाट टाउको छुट्टिएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सबिनबाबु अर्याल र अस्थायी प्रहरी पोस्ट बज्रबाराहीका प्रहरी निरीक्षक सन्तु कुमार लामाको नेतृत्वमा प्रहरी टोली तुरुन्तै घटनास्थल पुगेको थियो ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार हत्या गरेपछि फरार भएका ३५ वर्षीय बिमलमानलाई प्रहरीले करिब पौने चार बजे थाहा नगरपालिका वडा नम्बर ३ स्थित थाना बजारबाट खुकुरीसहित पक्राउ गरेको थियो ।
उनलाई अहिले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पालुङमा राखी सोधपुछ गरिएको प्रवक्ता अर्यालले जानकारी दिए ।
घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि मृतक तुलमायाको शव पोष्टमार्टमका लागि काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ । प्रहरीका अनुसार मृतकको माइती पनि कुन्छालमै रहेको छ । अनुसन्धान प्रारम्भिक चरणमै भए पनि घटनाको पछाडि पारिवारिक मनमुटाव वा पुरानो विवाद रहेको प्रहरीले आशंका गरेको छ ।
पक्राउ परेपछि प्रहरीको सोधपुछका क्रममा बिमलमानले आफ्नो घर बिग्रिनुमा तुलमायाको हात रहेकाले हत्या गरेको बताएका छन् ।
मकवानपुर प्रहरी प्रवक्ता अयालले बिमलमानको श्रीमतीसँग सम्बन्ध विच्छेद भएको र उनीसँग ७ वर्षको छोरो रहेको जानकारी दिए । लागूऔषधको प्रयोगकर्ता समेत रहेका बिमलमान केहि समय रिहाबमा समेत रहेको बुझिएको प्रवक्ता अर्यालले बताए ।
उनका अनुसार पुरानै घरायसी समस्याका कारण बिमलमानले नातामा भाउजू पर्ने तुलमायाको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । यद्यपि घटनाको बारेमा प्रहरीले थप तथ्य सङ्कलन गरिरहेको उनले बताए ।