आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

लामो समय विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका पीएसओहरु धमाधम फिर्ता

आइतबार, २१ असार २०८३, १२ : ५७
आइतबार, २१ असार २०८३

सारांश

  • प्रहरी प्रधान कार्यालयले विशिष्ट व्यक्तिको सुरक्षामा लामो समय खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) हरूलाई फिर्ता बोलाएको छ ।
  • प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरी कार्यालय र उपत्यका प्रहरी कार्यालयलाई सर्कुलर जारी गरी दरबन्दीमा फिर्ता हुन भनेको छ ।
  • फिर्ता भएका पीएसओहरूको सट्टामा छुट्टै तालिम प्राप्त जनशक्ति गण र गुल्मबाट पठाइने भएको छ ।

काठमाडौँ । विशिष्ट व्यक्तिको सुरक्षामा लामो समय खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) हरूलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ ।

असार १८ मा प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरी कार्यालय र उपत्यका प्रहरी कार्यालयलाई त्यसबारे १ घण्टे सर्कुलर गरेको थियो । प्रदेश प्रहरी कार्यालय महातातका युनिट र काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा दरबन्दी भएर विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएकाहरूलाई प्रधान कार्यालयले दरबन्दी फिर्ता गर्न भनेको थियो । विशिष्ट व्यक्तिहरूको सवारी चालकलाई पनि फिर्ता हुन भनिएको थियो ।

सो सर्कुलर अनुसार विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका पीएसओहरु फिर्ता हुने क्रममा रहेका प्रहरीका सह प्रवक्ता (एसएसपी) दीप शम्सेर जबराले रातोपाटीलाई बताए । उनले भने, ‘एउटै भीआईपीसँग लामो समय खटिएकालाई फिर्ता हुने भनेका छौँ, उनीहरू फर्किँदै छन् ।’

भीआईपीसँग भ्रमणमा रहेका र बिदामा रहेकाहरू तत्काल फर्किन नसक्ने हुनाले उनीहरुले फर्किने प्रक्रियामा नै रहेको जबराले बताए । उनले भने, ‘त्यसमा प्राविधिक समस्याहरू पनि हुन्छन्, सवैजना फर्किने प्रक्रियामा छन् ।’

प्रधान कार्यालयले कार्य विभाग अन्तर्गतको अङ्गरक्षक गण भन्दा बाहेक अन्यत्र दरबन्दी भएकालाई सम्बन्धित दरबन्दीमा फिर्ता आउन भनेको हो । फिर्ता आएकाहरूको बदलामामा विशिष्ट व्यक्तिहरूको सुरक्षामा प्रहरीका गण र गुल्मबाट जनशक्ति पठाउन प्रधान कार्यालयले सर्कुलर गरेको छ । विशिष्ट व्यक्तिहरूको सुरक्षामा त्यसबारे छुट्टै तालिम लिएको जनशक्ति पठाउनुपर्ने कार्यविधि छ ।

पूर्व तथा बहालमा रहेका विशिष्ट व्यक्तिहरूका चालकलाई पनि प्रधान कार्यालयले फिर्ता हुन भनेको छ । मापदण्ड अनुसार चालक पाउनेहरूलाई मात्र चालक सुविधा दिनेगरी त्यस्तो सर्कुलर गरिएको प्रहरी अधिकृतहरू बताउँछन् । 

Vip Pso Return Circular 3.21 (2083)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप