शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
कविता

ताराजस्ता सपनाहरू छुनलाई

आइतबार, ०८ असार २०८२, १४ : १३
आइतबार, ०८ असार २०८२

(अग्रज गीतकार, सङ्गीतकार, गायक तथा साहित्यकार गणेश रसिकले २०८२ जेठ १८ गते दैहिक रूपमा हामी सबैलाई छाडेर गए पनि आत्मिक रूपमा उनी हामीमाझमै छन् । बाँचुन्जेल अनेकन् दुःख र सङ्घर्षका पहाडहरूले उनलाई थिचिरह्यो । अनेकौँ गीत, सङ्गीत र कृतिहरूले यो धरामा उनलाई अमर बनाएको छ । उनी भन्ने गर्थे, ‘गीत–सङ्गीतमा हुन्थिनँ भने उहिल्यै मरिसक्थेँ ।’ 
यो कविता उनीद्वारा रचना गरिएका, गाइएका र सङ्गीतबद्ध गरिएका गीत, संस्मरण र कृतिहरू तथा विभिन्न सञ्चारमाध्यमहरूमा अभिव्यक्त उनका मृत्यु चिन्तनहरूमा आधारित छ । यस कवितामा प्रयुक्त अधिकांश शब्दावलीहरू रसिकका गीत र कृतिहरूको शीर्षकबाट लिइएका हुन् । ती शब्दहरूलाई उनेर माला बुन्ने क्रममा म सिर्फ धागो बनेको मात्रै हुँ । कविताको रूप विधान र लय विधान निर्माण गर्ने क्रममा यहाँ उनका केही गीत र कृतिहरूको नाम तोडमोड गरिएको छ । त्यसो गर्नैपर्ने जुन लेखकीय बाध्यता आइलाग्यो, त्यसका लागि क्षमाप्रार्थी छु ।)
०००

हिमाल होइन मेरो माया घामसँगै पग्लिजाने 
धेरै सम्झिन थालेको छु 
अचेल तिमीलाई
छपक्कै मनमा बसेकी
ओ ! याङ्जी नाना,
हुन त मलाई
तिमीले बिर्से नि लाखै छ 
तिमीले सम्झे नि लाखै छ ।
 
क्षितिजको आँगनछेउ
ससाना पेरुङ्गोहरूमा कोचेर
खालि माछाहरू सुकाइबस्छ मृत्यु 
 
हुन त
धेरै सम्झे धेरै हुन्छ, थोरै सम्झे थोरै हुन्छ
वियोगले बारबार भत्किएपछि
म यति धेरै सोच्न 
यति धेरै सम्झिन 
थालेको छु कि
सोच्दासोच्दै
मर्न मन लाग्छ मलाई
ओ ! याङ्जी नाना
मलाई मर्न मन लाग्छ
पर्खेर बस्दा पनि
तर किन कालै आउँदैन ?
 
तिमी मलाई प्यारो लाग्छ
त्यसैले भन त
ओ ! मायालु याङ्जी नाना,
कतिपटक भत्किन्छ—  
एउटा मानिसको घर ? 

मलाई जवाफ चाहिएको छ 
तर त्यो तिमी भन्न सक्दिनौ 
त्यो पनि मलाई थाहा छ 
खासमा मेरो प्रश्नको जवाफ त 
मसँगै बगिहिँड्ने पिखुवा खोलामा तैरिरहेको छ ।
 
नितान्त एक्लो जिन्दगी
कति उभ्याइरहनु
एकोहोरो दशगजामा ?
 
मर्न मन लाग्छ मायालु मलाई 
तर के गर्नु ?
मृत्युलाई एकछिन पनि फुर्सद छैन
मलाई लैजानलाई
ऊ त खालि क्षितिजको आँगनछेउ उभिएर
माछाहरू सुकाइबस्छ
पेरुङ्गोमा ।
 
ओ ! याङ्जी नाना,
आकाशगंगाको ओतमुनि
शून्यतामा
नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकी
हिँडे म कति कति सिस्नुहरू टेकेर
दौडेँ कति कति सम्झनाका छायाहरू लखेटेर... । 
 
ओ ! प्रिय याङ्जी नाना, 
सारङ्गीभित्र बिलाउँदै गएको गीतजस्तो
म एउटा बुढो रूख 
एक्लै हिँड्दा–हिँड्दा बेस्सरी थाकिसकेँ
तर पनि अन्तिमपटक 
हुस्सुले छोपेको सहर छाडी
म उक्लिन चाहन्छु– 
लेकालीका रङ्गीन मनहरूले सिङ्गारेको लेकभन्दा पनि माथिमाथि 
बादलले छिनछिनमा कुँदिरहने चाँदीका भर्‍याङहरू टेकेर
बाँचुन्जेली हाम्रो घरको छानोबाट, हाम्रो मनको बार्दलीबाट चाहेर पनि छुन नसकेका 
ट्याम्केजस्ता थुप्रै डाँडाहरूमाथि फक्रिएका
क्षितिजभन्दा माथि माथिका सपनाजस्ता ताराहरू
र ताराजस्ता सपनाहरू पक्रिनलाई... ।
 
म आफैँ पुग्न सकिन भनेँ त्यहाँ
भुइँकुहिरोको पखेटामा च्यापेर भए पनि
कसै गरी तिमीले
लैजाऊ है बैगुनी याङ्जी नाना
लैजाऊ है मलाई त्यहाँ... ।
००० 
पादटिप्पणी :
१) कवितामा प्रयुक्त गीतका बोलहरू ‘ओ ! याङ्जी नाना’, ‘तिमीले बिर्से नि लाखै छ, तिमीले सम्झे नि लाखै छ’, ‘धेरै सम्झे धेरै हुन्छ, थोरै सम्झे थोरै हुन्छ, हिमाल होइन मेरो माया घामसँगै पग्लिजाने’, ‘मर्न मन लाग्छ मलाई कालै आउँदैन’, ‘मलाई प्यारो लाग्छ’, ‘ओ ! शून्यता’, ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘एउटा बुढो रूख’, ‘हुस्सुले छोपेको सहरबाट’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘लैजाऊ बैगुनी’ गणेश रसिकद्वारा गाइएका, रचना गरिएका र सङ्गीतबद्ध गरिएका गीतहरू हुन् ।

२) कवितामा प्रयुक्त ‘छपक्कै मनमा बसेकाहरू’, पाँच पुस्तकको ‘पेरुङ्गो’ संस्करण, ‘दशगजामा उभिएर’, ‘आकाशगंगाको ओतमुनि’, ‘जब सिस्नुहरू टेक्दै हिँडेँ’, ‘एउटा सारङ्गीभित्र’, ‘बिलाउँदै गएको गीत’ गणेश रसिकका प्रकाशित कृतिहरू हुन् ।
३) पिखुवा खोला : भोजपुर हुँदै बग्ने एक खोला जुन उनको स्मृतिमा बारबार आउजाउ गरिरहने रसिक बताउँथे ।
४) लेकाली : गणेश रसिक र हिरण्य भोजपुरे लगायतका कलाकारहरूले वि.सं. २०२४ सालमा स्थापना गरेको एक लोकप्रिय साङ्गीतिक समूह ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सिजन श्रेष्ठ
सिजन श्रेष्ठ
लेखकबाट थप