आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

नागरिकताविहीन दुर्गाको ५१ वर्षपछि पूरा भयो नागरिक पहिचानको सपना

शुक्रबार, २० असार २०८२, १८ : २३
शुक्रबार, २० असार २०८२

सुर्खेत । जीवनका पाँच दशकसम्म अनागरिकको जस्तै पीडादायी जीवन बिताइरहेका दैलेखका एक व्यक्तिले ५१ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । दुल्लु नगरपालिका–५ निवासी ५१ वर्षीय दुर्गा प्रसाद रिजालले आफ्नै निवासमा नागरिकता पाएका हुन् ।

शारीरिक अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने रिजाललाई घरमै पुगेर नागरिकता प्रदान गरिएको सोसेक नेपालका संस्थापक तथा कार्यकारी निर्देशक हिरासिंह थापाले रातोपाटीलाई बताए । 

उनका अनुसार सोसेक नेपालले सञ्चालन गरेको हातेमालो परियोजनाले रिजाल नागरिकताविहीन रहेको पहिचान गरेपछि प्रक्रिया अघि बढेको थियो ।थापाले भने, ‘उहाँ शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ, हिँडडुल गर्न सक्नुहुन्न । पहिले कसैले सहयोग गरेनन्, त्यसैले नागरिकता पाउनुभएको रहेनछ ।’

सोसेक नेपालको पहलपछि इलाका प्रशासन कार्यालय, दुल्लुका शाखा अधिकृत अर्जुन बहादुर मल्ल नेतृत्वको टोली रिजालकै निवासमा पुगेर नागरिकता हस्तान्तरण गरेको थापाले जानकारी दिए ।

रिजालले बिहीबार नागरिकता पाए भने शुक्रबार अपाङ्गता परिचयपत्र पनि पाएका छन् । अपाङ्गता परिचयपत्रको प्रक्रिया बिहीबार नै अघि बढाइएको थियो ।

‘हामीले नागरिकताका लागि पहल गर्‍यौँ, अब अपाङ्गता परिचयपत्र पनि पाउनुभयो,’ थापाले भने ।अपाङ्गता परिचयपत्र पाएसँगै उनले राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता लगायतका सुविधामा सहजै पहुँच पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप