आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीमा बजेट पारित पश्चात् राप्रपाले भन्यो-'यो कर्णालीको बजेट होइन, दलालीको बुलेटिन हो'

शनिबार, २१ असार २०८२, ०९ : ०४
शनिबार, २१ असार २०८२

सारांश

  • कर्णाली प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत रूपमा पारित भयो।
  • राप्रपा सांसद सन्तोषी शाहीले बजेटप्रति असन्तुष्टि जनाउँदै यसलाई 'दलालीको बुलेटिन' को संज्ञा दिइन्।
  • उनले बजेट पारित हुनुमा राजनीतिक बेइमानी र भागबन्डा भएको आरोप लगाइन्।

‎‎सुर्खेत । कर्णाली प्रदेश सभामा शुक्रबार आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत रूपमा पारित भएको छ। ‎‎तर, बजेट पारित भएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सन्तोषी शाहीले प्रदेश सभा भवन अगाडि तस्बिर खिचाउँदै बजेटप्रति गम्भीर असन्तुष्टि र आक्रोश व्यक्त गरेकी छिन् । 

‎‎उनले यो बजेटलाई ‘दलालीको बुलेटिन’ को संज्ञा दिएकी छन् । सांसद शाहीले आफ्नो सामाजिक सञ्जालमा टिप्पणी पोस्ट गर्दै बजेट पारित हुनुको पछाडि ठुलो राजनीतिक बेइमानी र भागबन्डा रहेको आरोप लगाएकी हुन् ।

‎‎उनले भनेकी छिन्, 'अन्ततः बजेट पास भयो- न त जनताको मागमा, न त प्रदेशकै जरुरी आवश्यकतामा, तर बिचौलियाको टेबुल र कमिसनको क्याल्कुलेटर हेरेर यो वर्षको बजेट पारित भयो।'

‎‎उनले प्रमुख प्रतिपक्षी दल माओवादी र सत्तारुढ दल नेपाली कांग्रेसको भूमिकामाथि पनि प्रश्न उठाएकी छिन् ।

‎सुरुमा बजेटको चर्को विरोध गर्ने, रोष्टमबाट किताब च्यात्ने जस्ता नाटकीय हर्कत देखाए पनि अन्ततः भागबन्डामा कुरा मिलेको उनको आरोप छ। 

‎‎'सुरुमा आँखा रातो पारेर विरोध गरे, तर अन्तिममा ‘अबेरसम्म कराउने, भागबन्डा मिलाउने’ पुरानै राजनीतिक नौटङ्की दोहोरियो,' उनले लेखेकी छिन् ।

‎‎सांसद शाहीले यो बजेटले कर्णाली र कर्णालीका जनताको हित नगर्ने ठोकुवा गरेकी छिन् ।  'त्यसैले म भन्छु- यो कर्णालीको बजेट होइन, दलालीको बुलेटिन हो,' उनले आफ्नो अडान स्पष्ट पारेकी छन् ।

‎‎यस्तो प्रवृत्तिले ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’ को सपना कसरी साकार होला भन्दै उनले प्रश्न गरेकी छिन्।

‎अन्त्यमा, उनले व्यङ्ग्यात्मक शैलीमा भनेकी छिन्, ‘बन्छ कर्णाली हाम्रै पालामा हैन त ?’ लौ बधाई छ !'

‎‎सांसद शाहीको यो अभिव्यक्तिलाई नेकपा एकीकृत समाजवादीका सांसद कल्याणी खड्काले समर्थन गर्दै भनेकी छन्- यो तीन दलको रजाइँ हो ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप