शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी विमानस्थलमा यात्रीले अब जुत्ता फुकाल्नु नपर्ने

बुधबार, २५ असार २०८२, ०९ : ३३
बुधबार, २५ असार २०८२

सारांश

  • अमेरिकी विमानस्थलमा अब यात्रुले सुरक्षा जाँचको क्रममा जुत्ता फुकाल्नु पर्ने छैन।
  • यातायात सुरक्षा प्रशासन (टीएसए) ले दुई दशकपछि सुरक्षा जाँचका लागि जुत्ता हटाउने नीति अन्त्य गरेको छ।
  • सन् २००६ मा अमेरिकाले हवाई यात्रुहरूको सुरक्षा जाँचका लागि जुत्ता फुकाल्नुपर्ने नियम लागु गरेको थियो।

वासिङ्टन । अमेरिकी विमानस्थलहरूमा अब यात्रीले सुरक्षा जाँचको क्रममा जुत्ता फुकाल्नु पर्ने छैन । यातायात सुरक्षा प्रशासन (टीएसए)ले दुई दशकपछि सुरक्षा जाँचका लागि जुत्ता हटाउने नीति अन्त्य गरेको हो ।

होमल्याण्ड सुरक्षा सचिव क्रिस्टी नोएमका अनुसार विमानस्थलका लागि परिवर्तन गरिएको यो नियम तत्काल लागु गरिएको छ । अमेरिकाका सबै विमानस्थलमा यो नियम लागु हुने उनको भनाइ छ । यद्यपि बहुस्तरीय स्क्रिनिङ प्रक्रिया भने कायम रहने उनले जानकारी दिए ।

नोएमका अनुसार अमेरिकामा हवाई यात्रीहरूले सुरक्षा जाँचका क्रममा आफ्ना बेल्ट र कोट फुकाल्नुपर्ने नियमलाई भने कायम राखिएको छ । यसका साथै ल्यापटप र तरल पदार्थ बोकेको भए सुरक्षा जाँचका क्रममा झोलाबाट निकाल्नुपर्ने छ । तर यी नियमहरूको पनि समीक्षा भइरहेको उनको भनाइ छ ।

डिसेम्बर २००१ मा पेरिसबाट मियामीको उडानका क्रममा एक बेलायती नागरिकले आफ्नो जुत्तामा बम लुकाएको पाइएको थियो । ती बेलायती नागरिकले आफूसँग भएको बम विस्फोट गर्न भने सकेनन् । विमानका अन्य यात्रीले उनलाई नियन्त्रणमा लिएका थिए । यसपछि विमान सुरक्षित रूपमा बोस्टनमा अवतरण गरिएको थियो ।

सोही घटनापछि अमेरिकाले विमानस्थलमा यात्रीको जाँच प्रक्रियालाई कडा तुल्याउने खाँचो महसुस गरेको थियो । सन् २००६ मा अमेरिकाले हवाई यात्रीहरूको सुरक्षा जाँचका लागि जुत्ता फुकाल्नुपर्ने नियम लागु गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप