‘सत्तामा सहभागिताले परिवर्तन असम्भव, पहिचानका लागि लड्नुपर्छ’
सारांश
- राजनीतिक विश्लेषक विजयकान्त कर्णले सत्तामा सहभागी भएर वास्तविक परिवर्तन हासिल गर्न नसकिने बताए।
- उनले पहिचान र सत्ता दुई अलग कुरा भएको र सत्ता रोजे परिवर्तन नहुने विचार व्यक्त गरे।
- कर्णले मधेसमा दलित र मुस्लिम समुदायमाथि विभेद रहेको र आन्तरिक विभेद अन्त्य नभएसम्म परिवर्तन सम्भव नहुने बताए।
काठमाडौँ । राजनीतिक विश्लेषक एवं पूर्व राजदूत विजयकान्त कर्णले सत्तामा सहभागी भएर वास्तविक परिवर्तन हासिल गर्न नसकिने बताएका छन्।
जनता समाजवादी पार्टी नेपाल निकट दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक परिसंघ (डोटीम) ले शनिबार आयोजना गरेको राष्ट्रिय भेला एवं 'समानता र सामाजिक न्यायको अधिकार' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यो धारणा व्यक्त गरेका हुन्।
कर्णले पहिचान र सत्ता दुई अलग-अलग कुरा भएको र सत्तामा रहेर कहिले पनि पहिचान प्राप्त गर्न नसकिने बताए। उनले भने, "सत्ता र पहिचान सँगसँगै जान सक्दैन। सत्ता र पहिचानमध्ये एउटा रोज्नुपर्छ। सत्ता रोज्यौ भने परिवर्तन हुँदैन, पहिचान रोज्यौ भने परिवर्तन सम्भव छ, अब के रोज्ने त्यो तपाईंको काम हो।"
आफ्नो धारणा राख्दै उनले मधेसमा दलित-दलितबीचमा विभेद रहेको, मुस्लिम समुदायमाथि पनि त्यतिकै विभेद रहेको र अन्य समुदायमाथि पनि आन्तरिक विभेद विद्यमान रहेको औंल्याए। ती विभेदहरू अन्त्य नगरेसम्म परिवर्तनका लागि गरिने संघर्ष बेकार हुने उनको भनाइ थियो।
उनले आफ्नो समाज र परिवारमा परिवर्तन नगरेसम्म बाहिर जतिसुकै संघर्ष गरे पनि परिवर्तन नहुने दाबी गरे। "अहिले पनि नढाँटीकन भन्ने हो भने तराई मधेसमा मुस्लिम र दलितमाथि धेरै ठूलो विभेद छ, अहिले पनि त्यहाँका उच्च समाजले स्वीकार गरेको छैन, त्यो अन्त्य नभएसम्म परिवर्तनको कल्पना गर्नु नै बेकार छ," उनले थपे।
यता, राष्ट्रिय सभाका सदस्य एवं जसपा नेपालका नेता मो. खालिद सिद्धिकीले भने नेपालमा मुस्लिम समुदायको हकहितका लागि पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा बढी अरु कसैले काम गर्न नसकेको दाबी गरे।
उनले कांग्रेस, एमाले, माओवादी केन्द्रमा पनि मुस्लिमहरू भए पनि ती दलहरूले कहिले पनि राज्यमा उनीहरूलाई उचित प्रतिनिधित्व नगराएको बताए। तर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने मन्त्री, सांसद, मुख्यमन्त्रीदेखि लिएर विभिन्न पदमा मुस्लिम समुदायका व्यक्तिहरूलाई अवसर दिएको उनको दाबी थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण