शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

मन्त्रीको अडियो काण्ड र आगामी कार्यदिशाबारे छलफल गर्न ओलीले बोलाए देउवा र यादवलाई

सोमबार, ३० असार २०८२, १७ : ११
सोमबार, ३० असार २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेस र जसपा नेपालका अध्यक्षसँग बैठक गर्दैछन्।
  • बैठकमा मन्त्रीहरूको अडियो काण्ड, सरकारको समीक्षा र आगामी योजनाबारे छलफल हुनेछ।
  • जसपाले समर्थन फिर्ता लिने धम्की दिएको र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएको विषयमा पनि छलफल हुनेछ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सरकारलाई समर्थन गरेको दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बैठक गर्दैछन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र यादवसँग संयुक्त बैठक गर्ने तय भएको प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए । ‘मन्त्रिपरिषद्को बैठकपछि साँझ ७ बजे दुई दलका सभापतिसँग भेट्ने कार्यक्रम तय भएको छ । समसामयिक विषयमा छलफल हुन्छ,’ सञ्चार विज्ञ बजगाईंले रातोपाटीसँग भने । 

भेटमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस डिलिङको अडियो काण्ड, त्यही अडियो काण्डसँग जोडिएका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीबारे छलफल हुने स्रोतले बतायो । 

त्यससँगै सरकारका एक वर्षको समीक्षा र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुने स्रोतले जानकारी दियो ।जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेर दिइरहेको धम्की तथा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको पत्रका बारेमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले दुवै दललाई फकाएर आफूहरूसँग राख्न खोजिरहेका छन् ।

यादव नेतृत्वको पार्टीलाई पनि मानेसम्म सरकारमा ल्याउने प्रयासमा ओली र देउवा रहेका उनीहरू निकट स्रोत बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप