विद्या भण्डारीको सङ्केत : ओलीविनाको एमाले पनि छ सम्भव !
सारांश
- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा सक्रिय हुने संकेत गर्दै पार्टी दर्शन र नीतिको महत्त्वबारे जोड दिइन्।
- भण्डारीले पार्टी नेतृत्व सम्हाल्ने इच्छा व्यक्त गरेपछि केपी ओली पक्षले असन्तुष्टि जनाएको छ, र विधान महाधिवेशनको तयारी भइरहेको छ।
- भण्डारीले एमालेको संगठन सुदृढीकरण र जबजको विस्तारका लागि संयन्त्र बनाइ अभियान चलाउने योजना बनाएकी छन्।
काठमाडौँ । ‘पार्टी भनेको एउटा दर्शन, विचार, नीति सिद्धान्त र कार्यक्रमले चलेको हुन्छ । त्यसलाई राम्रोसँग संस्थागत ढङ्गले अगाडि बढाउनुपर्छ,’ राजनीति शास्त्रका विद्यार्थी र राजनीति गर्नेहरूका लागि यो भनाइ सामान्य नै मानिन्छ ।
यही भनाइ एमाले पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार एक कार्यक्रममा समग्र एमालेजनलाई स्मरण गराइन् ।
नेकपा एमालेले अँगालेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) का प्रणेता मानिने तत्कालीन एमाले महासचिव मदन भण्डारीकी पत्नीसमेत रहेकी विद्याले थप भनिन्, ‘कहिलेकाहीँ व्यक्तिहरूको अभाव हुनसक्छ । तर पनि हामीसँग थुप्रै योग्य व्यक्तित्व हुनुहुन्छ भन्ने आशा राखेर नै अगाडि बढ्नुपर्छ ।’
राष्ट्रपतिजस्तो सर्वोच्च पदमा रहिसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्किनु ठिक हो कि होइन भन्नेमा विभिन्न कोणबाट बहस चलिरहेकै अवस्थामा असार १४ मा पार्टी राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीले विधान महाधिवेशनको सम्मुखमा यस्तो धारणा राखेकी हुन् ।
एमालेमा मौजुदा विधानको कार्यान्वयन र निलम्बन, अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकाल पनि अध्यक्ष हुने चाहना राख्नु र यही विषयमा पार्टीभित्र बढेको ध्रुवीकरणमाथि भण्डारीले एकपछि अर्को गर्दै बढाएको राजनीतिक गियरले एमालेको आन्तरिक राजनीतिलाई आगामी दिनमा थप चलायमान बनाउने सङ्केत गरिरहेको छ ।
जबकि भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको र कम्युनिस्ट एकताबारे चर्चा चल्न सुरु हुँदैगर्दा ओलीले आफूविनाको एमाले कल्पना नगर्न चेतावनी दिएको धेरै समय भएको छैन ।
गत वैशाख ९ मा नेपाल कम्युनिस्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले कतिपयलाई आफ्नो उमेर र स्वास्थ्यको चिन्ता देखिएको भन्दै त्यस्तो चिन्ता नगर्न भनेका थिए । ‘अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन,’ ओलीले भनेका थिए ।
त्यतिमात्र होइन, ओलीले एमालेविनाको देश पनि कल्पना गर्न नहुने बताएका थिए । ‘कसैले एमालेविनाको देशको पनि कल्पना गरेका छन् । केपी ओलीविनाको एमाले किन खोजेको होला ? तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ,’ उनले भने, ‘एमालेविनाको नेपाल हेरौँला मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौँ ।’
ओलीले यस्तो बताएको झन्डै २ महिनापछि पूर्वराष्ट्रपति भण्डारी उनै ओलीलाई चुनौती दिने गरी सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिन् । विद्याले सक्रिय राजनीति गर्ने घोषणा मात्रै गरेकी छैनन्, आगामी अधिवेशनमार्फत पार्टी नेतृत्व नै सम्हाल्ने उद्घोष समेत गरिसकेकी छन् ।
त्यसका लागि विद्याले नेकपा एमालेको सङ्गठन र जनताको बहुदलीय जनवाद (जबज) को विस्तार गर्न आफ्नै संरक्षकत्वमा रहेको बेग्लै संयन्त्रको अभ्यास प्रारम्भ गरेकी छन् ।
छोरी उषाकिरण भण्डारी अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसनको ब्यानरमा मदन भण्डारीको हीरक जन्मजयन्ती मनाउने घोषणा गर्दै पूर्वराष्ट्रपति भण्डारीले ओलीको भनाइ विपरीत पार्टी कुनै पनि व्यक्ति विशेष भन्दा पनि दर्शन, विचार, नीति, सिद्धान्त र कार्यक्रमले चल्छ भनिन् । उनका यी अभिव्यक्तिलाई कतिपयले ओलीसँगको खुला टक्करका रूपमा व्याख्या गरेका छन् ।
पार्टी महाधिवेशनको तयारीमा जुटेको र पूर्वराष्ट्रपति भण्डारीले नेतृत्व लिने चाहना प्रकट गरिरहेको यो पृष्ठभूमिमा उनले बेग्लै संयन्त्र घोषणा गरी त्यसमार्फत देशव्यापी अभियान सञ्चालनको योजना सार्वजनिक गर्नुलाई ओली पक्षले रुचाइरहेका छैनन् ।
विद्या सहभागी भएर गरिएको मंगलबारको कार्यक्रममा मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले जबजको सान्दर्भिकता र महत्त्व मुलुकमा झन्–झन् बढिरहेको भन्दै एमाले सङ्गठनमा लोकतान्त्रीकरण प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । यसबाट के बुझिन्छ भने जबजलाई अहिलेको पार्टी नेतृत्वले पुरै आत्मसात् गर्न नसकेको र पार्टीभित्रको लोकतान्त्रीकरणको प्रक्रिया समेत कमजोर रहेकोमा विद्या भण्डारी सन्तुष्ट हुन सकेकी छैनन् ।
‘जबजको आलोकमा सम्पादित कार्यहरूले जनताको मन जितेका छन् र यस सिद्धान्तको कार्यान्वयन गरिरहेको पार्टी नेकपा एमाले विस्तारित र लोकप्रिय बनिरहेको छ’ उषाकिरणले थप भनिन्, ‘तर सिद्धान्तले अवलम्बन गरेको लक्ष्यको सापेक्षतामा सङ्गठन सुदृढीकरण अभियान सशक्त बन्न सकेको छैन ।’ उनले सङ्गठन विस्तार र सबलताको लागि जननेता (मदन) को योगदानको उजागर र जबजको प्रचार अति आवश्यक रहेकोमा जोड दिइन् ।
‘यसैगरी जबजको महत्त्वपूर्ण आयामको रूपमा रहेको पार्टी जीवनको लोकतान्त्रीकरण प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने विषयलाई आत्मसात् गर्नुपर्दछ । यसबाट जननेताको बहु आयामिक व्यक्तित्व नयाँ पुस्तामा उजागर भई उहाँको योगदानबाट प्रभावित भएर त्यो पुस्ता राजनीतितर्फ आकर्षित हुनेछ’, उषाको ठहर छ ।
उषामार्फत यति भनेपछि विद्या आफै पत्रकारका प्रश्नको सामना गर्न तयार भइन् । कार्यक्रममा सहभागी पत्रकारहरूले उनको राजनीतिक यात्रा, एमालेमा जिम्मेवारी, ओलीसँगको सम्बन्ध र विधान महाधिवेशनमा हुने उपस्थितिबारे विविध प्रश्न गरे । त्यसमा उनले आफ्नो जिम्मेवारी यही साता बस्ने एमाले केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने विश्वास व्यक्त गरिन् ।
एमाले केन्द्रीय कमिटी बैठकले गर्ने निर्णयका आधारमा उनको भावी राजनीतिको मार्ग तय हुने निश्चित छ, न कि केन्द्रीय कमिटीले निर्णय गरेर केन्द्रीय सदस्यमा मनोनीत गर्न सक्नेछ ।
तर केन्द्रीय कमिटीले त्यो निर्णय गर्न झन्झट मानेमा भण्डारीले राजनीतिक यात्राका लागि सुरु गरेको गियर परिवर्तन गर्नुपर्ने अवस्थासमेत आउन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण