१० बजे १० समाचार : मिलेन उपेन्द्रको कुरा, मन्त्रिपरिषद् पुनर्गठनको तयारी
काठमाडौँ । आज मिति २०८२ साल असार महिनाको ३२ गते बुधबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
- मुद्दा फर्छ्योट
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले मुद्दा फर्छ्योटमा उल्लेख्य प्रगति गरेको छ । पछिल्लो पाँच वर्षको तथ्यांकले अदालतको कार्यसम्पादनमा व्यापक सुधार आएको देखाएको छ, जसले गर्दा मुद्दा फैसलाको दर झन्डै दोब्बरले वृद्धि भएको छ । समयमै न्याय निरूपण हुन थालेपछि न्यायका लागि वर्षौँ कुर्नुपर्ने अवस्था अन्त्य हुँदै गएको छ ।
- नारामै सीमित
सरकारले यही वर्षभित्र नेपाललाई बालश्रम मुक्त राष्ट्र घोषणा गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ । यो लक्ष्य पूरा हुन ९ महिनामात्रै बाँकी रहँदा देशभरका ७५३ स्थानीय तहमध्ये १० वटा पालिकामात्रै बालश्रम मुक्त घोषणा भएका छन् । बाँकी ९ महिनामा ७४३ स्थानीय तह बालश्रम मुक्त घोषणा भइसक्छन् त भन्नेमा आशंका देखिन्छ ।
- मधेसमा खडेरीको मार
यो वर्षको असार आजदेखि सकियो, तर पर्याप्त वर्षा भएन । मुख्य समयमा वर्षाले साथ नदिँदा रोपाइँ प्रभावित भएको छ ।
- मुद्दा फर्छ्योट
नेपालको संविधान २०७२ ले उच्च शिक्षाको अधिकार प्रदेशलाई सुम्पिएको छ । सोही अनुसार प्रदेश संरचना कार्यान्वयन भएसँगै बागमती प्रदेश सरकारले विश्वविद्यालय स्थापनाको तयारी गरे पनि अझै त्यसलाई कार्यान्वयनमा ल्याउन सकेको छैन ।
- तुइनको सकस
दार्चुलाको व्याँसस्थित महाकाली नदीमा तुइनबाट खसेर एक युवक बेपत्ता भएका छन् । मंगलबार व्याँस गाउँपालिका–२ तल्ला दुम्लिङ्गका २८ वर्षीय नारायण बुढाथोकी तुइन तर्ने क्रममा तार चुँडिएर बेपत्ता भएका हुन् ।
- कहाँ मिलेन उपेन्द्रको कुरा
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालले राखेका सर्तहरू स्वीकार नगरेपछि पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको छ। पार्टीको कार्यकारिणी समितिले असार ८ गते नै समर्थन फिर्ता लिने निर्णय गरिसकेको भए पनि त्यसलाई संसदीय दलबाट औपचारिकता दिन बाँकी थियो।
- शक्ति संघर्ष
सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले यतिबेला आन्तरिक शक्ति सङ्घर्ष झेल्दैछन् । आ–आफ्नो महाधिवेशन नजिकिँदै गर्दा दुवै दलभित्र शक्ति सङ्घर्ष अझ बढ्दै जाने निश्चित छ ।
- मन्त्रिपरिषद् पुनर्गठन
आफू नेतृत्वमा सरकार निर्माण भएको एक वर्ष पुगेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले भोलिपल्ट पद तथा गोपनीयताको शपथ लिने बेलामै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । मंगलबार त्यसको एक वर्ष पुगेको छ ।
- अनिश्चिततातिर धकेलिँदै विधेयक
विद्यालय शिक्षा विधेयक अनिश्चिततातिर धकेलिँदै गएको छ । असार २२ गते बसेको शिक्षा समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पाँच दिनको समय माग गरे पनि अझै छलफल सुरु हुन सकेको छैन ।
- वैदेशिक ऋण र अनुदान
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न विकास परियोजनाहरू सञ्चालनका लागि अन्तर्राष्ट्रिय विकास साझेदार राष्ट्रबाट २ खर्ब ७३ अर्ब रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ। अर्थ मन्त्रालय अन्तर्गत अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाले यस आर्थिक वर्षभित्र सो बराबरको सहायता सम्झौता गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण