‘मिसन ०८४’ अघि आन्तरिक शक्ति सङ्घर्ष झेल्दै कांग्रेस र एमाले
सारांश
- नेपाली कांग्रेस र नेकपा एमालेभित्र आन्तरिक शक्ति सङ्घर्ष बढ्दै गएको छ।
- विश्लेषकका अनुसार ठुला दलप्रतिको वितृष्णाले नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिलाई फाइदा पुग्ने देखिन्छ।
- रास्वपा जस्ता नयाँ दलहरूले आगामी निर्वाचनमा ठुला दललाई चुनौती दिने सम्भावना रहेको छ।
काठमाडौँ । सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले यतिबेला आन्तरिक शक्ति सङ्घर्ष झेल्दैछन् । आ–आफ्नो महाधिवेशन नजिकिँदै गर्दा दुवै दलभित्र शक्ति सङ्घर्ष अझ बढ्दै जाने निश्चित छ ।
त्यसो त, ‘मिसन ०८४’ भनेर आगामी आम निर्वाचन लक्षित गतिविधि पनि दलहरूले नगरेका होइनन् । ती गतिविधि औपचारिकतामै सीमित रहे । माओवादी केन्द्रले प्रतिपक्षी भूमिका सशक्त रूपमा निर्वाह गर्न नसकेको गुनासो व्याप्त छ । माओवादीभित्रै पनि नेताहरू एकजुट हुन सकेका छैनन् । त्यहाँ पनि आन्तरिक शक्ति सङ्घर्षका शृङ्खला बेलाबखत सतहमा आउने गरेका छन् ।

अर्कोतिर कांग्रेस र एमाले आगामी दिनमा महाधिवेशन केन्द्रित हुँदै जाने र आन्तरिक शक्ति सङ्घर्षमा अझ बढी रुमल्लिँदै जाने अवस्था देखिन्छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशनबाट पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने छ । त्यसपछि कांग्रेसको नेतृत्व कसले लिने भन्नेमा देउवा पक्षभित्रै एक प्रकारको शक्ति सङ्घर्ष चल्न थालेको छ भने इतर पक्षमा पनि साझा उम्मेदवार बनाउन निकै चुनौतीपूर्ण अवस्था छ ।
एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएसँगै शक्ति सङ्घर्ष चर्किन थालेको छ । भण्डारीले अध्यक्ष पदमै दाबी गर्ने तयारी गर्दा केपी शर्मा ओली अर्को कार्यकाल पनि नेतृत्वमै रहने मनस्थितिमा छन् । ओली र भण्डारीबिचको शक्ति सङ्घर्षले एमालेलाई कुन अवस्थामा पुर्याउँछ भनेर अहिले नै अनुमान गर्न सकिँदैन । यद्यपि, दुई धारबिच अभूतपूर्व सङ्घर्ष हुने सङ्केत देखिएको छ ।
_r6vVO78g3i.jpg)

अहिले सत्तामा रहेका दुई ठुला पार्टीभित्र देखिएका शक्ति सङ्घर्षका विभिन्न रूपले ०८४ सालको आम निर्वाचनमा वैकल्पिक राजनीतिक शक्ति भनिएका वा साना दललाई कति फाइदा गर्ला भन्नेबारे पनि स्वाभाविक रूपमा चासो बढेको छ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य ठुला तथा पुराना भनेर चिनिँदै आएका दलहरूप्रति जनता रुष्ट हुने क्रम नरोकिएको बताउँछन् । जनता रुष्ट हुने क्रम नरोकिएकै समयमा ती पार्टीभित्र हुने शक्ति सङ्घर्षले थप वितृष्णा बढाएर नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिलाई फाइदा पुग्ने उनको विश्लेषण छ ।
अर्का विश्लेषक हरि रोका पनि ०८४ को निर्वाचनमा वैकल्पिक राजनीतिक शक्ति सशक्त भएर आउने दाबी गर्छन् । अहिले भइरहेकै नयाँ वा वैकल्पिक शक्तिमात्र नभएर नयाँ समूह वा नयाँ दल पनि आगामी निर्वाचनमा स्थापित हुन सक्ने उनको भनाइ छ ।

आचार्यले त ०८४ मा नेपालको ‘पोलिटिकल ल्यान्डस्केप’ नै परिवर्तन हुने दाबी गरे । ‘ठुला दलका कमी–कमजोरीको फाइदा उठाएर वैकल्पिक शक्तिले सशक्त उपस्थिति जनाउने सम्भावना मैले देखिरहेको छु,’ उनले भने, ‘जनताले कांग्रेस, एमाले, माओवादी उस्तै हुन् भन्ने बुझिसकेका छन् । यिनीहरूबाट अब देशको अवस्था सुध्रिन सक्दैन भन्ने बुझाइ जनतामा छ ।’
विश्लेषक रोकाका अनुसार कांग्रेस, एमाले र माओवादीले निकै ठुलो अवसर पाएर पनि सदुपयोग गर्न नसक्दा जनता विकल्प खोज्न बाध्य हुँदै गएका छन् । ‘यी पुराना पार्टीभित्र पनि प्रतिपक्ष छन्,’ उनले भने, ‘उनीहरूले चाहिँ केही गर्छन् कि भनेर ती पार्टीभित्र रहेका प्रतिपक्षलाई केही हदसम्म शङ्काको लाभ दिन सकिन्छ, तर उनीहरू पनि विश्वसनीय देखिएका छैनन् ।’ यो अवस्थामा नयाँ राजनीतिक शक्तिले नै फाइदा उठाउने उनको तर्क छ ।
विश्लेषक आचार्य अहिले नै राष्ट्रिय स्वतन्त्र पार्टीको ‘क्रेज’ बढेको जिकिर गर्छन् । ०८४ सम्म यो रफ्तार यसरी नै बढ्ने हो भने ठुला पार्टीलाई निकै ठुलो चुनौती हुने उनको भनाइ छ ।
_GaqZ60gnD8.jpg)
भिजिट भिसा प्रकरणमा विपक्षीहरूले संसद् अवरुद्ध गरेकै समयमा माओवादीले दुई बुँदे सहमति गरिसकेपछि रास्वपाको क्रेज बढेको आचार्य बताउँछन् । ‘त्यसैबाट हौसिएर होला रास्वपाले अहिले हस्ताक्षर अभियान चलाएका छन्,’ उनले भने, ‘यो अभियानमार्फत उनीहरूले आफ्ना मतदातालाई पोजिसन लिन लगाएका छन् ।’
विश्लेषक रोका पनि रास्वपाप्रति जनताले विश्वास कायम राखेको बताउँछन् । ‘०७९ मै रवि लामिछानेलाई जनताले पत्याएकै हुन् नि,’ उनले भने, ‘नयाँ पार्टीले त्यति ठुलो उपलब्धि हासिल गर्नु सामान्य कुरा हो र ? रवि आफैँ अहिले स्क्यान्डलमा फसे, तर पार्टी छ, त्यहाँ अरू मान्छे छन् । ठुला दलहरूले जनताका मुद्दालाई बेवास्ता गरिरहेका छन् । यस्तो अवस्थाले रास्वपाजस्ता दललाई फाइदा नै गर्छ ।’
आचार्यले कांग्रेसभित्र पनि शेरबहादुर देउवासँगसँगै पार्टी पनि सकिने हो कि भन्ने चिन्ता गर्ने धेरै रहेको बताए ।
उनी मेक्सिकोमा जस्तै ०८४ को निर्वाचनमा नयाँ दल सत्तामा आउन सक्ने सम्भावनालाई पनि नकार्न नमिल्ने बताउँछन् । मेक्सिकोमा ‘मोरेना’ भन्ने पार्टीले लगातार दुई पटक राष्ट्रपति निर्वाचनमा जित हासिल गरेको उदाहरण दिँदै उनले भने, ‘नयाँ राजनीतिक शक्ति स्थापित हुनै सक्दैनन् भन्ने भाष्य आफैँमा गलत हो । जनताले चाहे भने नयाँ राजनीतिक शक्तिलाई पनि बहुमत दिएर सत्तामा पुर्याउन सक्छन् ।’
विश्लेषक आचार्यले आफू विभिन्न जिल्लामा पुग्दा सामान्य मानिसदेखि विभिन्न दलका कार्यकर्तासँग छलफल गर्ने गरेको जिकिर गर्दै भने, ‘गाउँगाउँमा कांग्रेस, एमाले, माओवादीको विकल्पमा व्यापक बहस छ ।’
_PAO0ilimEF.jpg)
अहिले भइरहेको बेथितिलाई थितिमा ल्याउन नयाँ राजनीतिक शक्ति, पुरानाको विकल्प खोज्न थालिएको उनले बताए । ‘यो अवस्थाको फाइदा नयाँ राजनीतिक शक्तिले लिन सक्छन्,’ उनले भने, ‘बालेन, हर्क साम्पाङजस्ता दलविहीन जनप्रतिनिधि पनि सशक्त छन् । अर्कोतिर रास्वपाले ठुला दललाई चुनौती दिइरहेको छ । यी सबै एक ठाउँमा आएको खण्डमा आगामी निर्वाचनमा ठुला दललाई सशक्त चुनौती दिन्छन् ।’
यसबारे कांग्रेस, एमालेका नेता बेखबर भने नरहेको आचार्यको तर्क छ । ‘त्यो चिन्ता कांग्रेस, एमालेलाई पनि छ । हामीलाई ठुलो चुनौती छ भन्ने नबुझेको त कांग्रेस–एमालेमा कोही पनि छैन,’ उनले भने । यसका बाबजुद जनताको विश्वास जित्ने काममा ठुला दलको ध्यान नगएको उनले बताए ।
राजनीतिक आस्थाबाट च्यूत भएर सैद्धान्तिक, वैचारिक धरातलबाट बाहिर पुगेको अवस्थामा दलभित्र स्वाभाविक रूपमा शक्ति संघर्ष हुने रोकाले बताए ।
ठुला दलमा जनताको मुद्दा बोक्ने, जनसरोकारका विषय सम्बोधन गर्ने, देशको आर्थिक, सामाजिक विकास गर्ने विषय प्राथमिकतामै पर्न छाडेको विश्लेषक रोकाको भनाइ छ । यसको कारण खुलाउँदै उनले अगाडि भने, राजनीति जब आस्थाबाट बाहिरिन्छ, सैद्धान्तिक, वैचारिक कुराबाट राजनीति फरक धारमा जान्छ भने मानिसको स्वार्थले काम गर्ने हो ।’
यो अवस्थामा जनताले माने पनि, नमाने पनि पदमा पुग्ने, अवसर लिने, क्षमता होस् या नहोस्, नेतृत्वमा पुग्ने सोच हुने रोका बताउँछन् । ‘फलानो मभन्दा राम्रो संगठनकर्ता हो, बढी खट्न सक्छ, मभन्दा बढी योगदान गरेको मान्छे हो भन्ने कुराचाहिँ त्यतिबेला सोचिन्छ जब राजनीतिमा राजनीतिक आस्था, सैद्धान्तिक, वैचारिक धरातल बलियो हुन्छ,’ उनले भने, ‘अहिले ठुला भनिएका पार्टीमा सैद्धान्तिक, वैचारिक धरातल कमजोर छ ।’
पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किनुको कारण पनि यसैको सेरोफेरोमा रहेको रोकाको भनाइ छ । ‘ओलीबाट आर्थिक वा आन्तरिक स्वार्थ पूरा गर्न त सम्भव हुन्छ, तर ओलीसँगसँगै एमाले पनि सकियो भने आफ्नो पनि भविष्य सकिन्छ भन्ने चिन्ता एमालेभित्र केहीमा छ,’ उनले भने, ‘ओलीका विरुद्ध विद्या भण्डारी आउनुपर्ने मूल कारण भनेकै यही हो ।’
राजनीतिक आस्थाबाट च्यूत भएर सैद्धान्तिक, वैचारिक धरातलबाट बाहिर पुगेको अवस्थामा दलभित्र स्वाभाविक रूपमा शक्ति संघर्ष हुने रोकाले बताए ।

आचार्य पनि एमालेभित्र तल्लो तहमै नेता–कार्यकर्तामा शक्ति संघर्ष चरम रहेको बताउँछन् । तलैसम्म ‘भर्टिकल डिभाइडेड’ रहनुका साथै नेता–कार्यकर्ताको सामाजिक प्रतिष्ठा पनि तल पुगेको उनले बताए । ‘नयाँ पुस्ता आउन सकेको छैन । पुरानो पुस्ता बदनाम छ । नेतृत्वसँग सहमत नभएकै कारण कारबाहीमा पर्ने परिपाटीले पनि एमालेका कार्यकर्ता निराश छन्,’ उनले भने, ‘यो अवस्थामा विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किएकी हुन् ।’
आचार्यले कांग्रेसभित्र पनि शेरबहादुर देउवासँगसँगै पार्टी पनि सकिने हो कि भन्ने चिन्ता गर्ने धेरै रहेको बताए । यद्यपि, पार्टीको मियो बन्ने गरी नेता स्थापित हुन नसकेको उनको भनाइ छ । यही कारणले गर्दा पार्टीभित्र शक्ति संघर्ष चुलिने र त्यसको फाइदा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिले उठाउन सक्ने उनले प्रस्ट पारे ।
प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसमेत कमजोर अवस्थामा पुगेका कारण नयाँ शक्तिका लागि सम्भावनाको ढोका खुलेको आचार्यले बताए । ‘माओवादी इमानदार र उनीहरूको अनुहार सफा भएको भए यो फाइदा माओवादीले पनि लिन सक्थ्यो,’ उनले भने, ‘स्ववियु निर्वाचनको नतिजाले पनि त्यो देखिएको छ । तर, नेताको चालचलन, उनीहरूको अनुहार, बोली र व्यवहारमा देखिएको भिन्नताका कारण माओवादीप्रति पनि जनताको विश्वास छैन ।’
अर्का विश्लेषक रोकाले माओवादीको जनाधार घट्दै जानुको कारण खुलाए । ‘अहिले माओवादी हराएजस्तो छ,’ उनले भने, ‘माओवादीले सशस्त्र संघर्षको समयमा कसरी ८० प्रतिशत भूभाग नियन्त्रणमा लिएको थियो भने समाजमा सामाजिक न्याय स्थापित गर्छन्, सम्भ्रान्तहरूको कब्जामा रहेको राजनीतिलाई सर्वसाधारणको हातमा पुर्याउँछन् भन्ने थियो । त्यस आधारमा मान्छेले माओवादीलाई समर्थन गरेका थिए ।’
राजनीतिक रूपमा माओवादीले ठुलै काम गरेको उनको भनाइ छ । ‘समावेशीता, सङ्घीयताको श्रेय माओवादीलाई नै जान्छ, तर सत्तामा पुग्ने बित्तिकै माओवादी जसरी लुछाचुँडीमा लाग्यो, सामाजिक न्याय स्थापना गर्न सकेन,’ उनले भने, ‘कांग्रेस र एमालेभन्दा आफू कति भिन्न भन्ने सवालमा माओवादी अनुत्तरित रह्यो । उनीहरूसँग अहिले पनि त्यो प्रश्नको उत्तर छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण