‘मेरो बुबाले नै यो काम राम्रो छैन, रोग लाग्छ, नगर भन्नुहुन्थ्यो,’ फोहोर व्यवस्थापन क्षेत्रमा काम गर्दै आएका कमल लामा घलान भन्छन्, ‘गाउँमा जाँदा पनि तिमी फोहोरमा काम गर्ने मान्छे भन्थे, राम्रो मान्दैनथे । तल्लो स्तरको काम भनेर हेला गर्थे ।’
१२ वर्षको उमेरमा मकवानपुरबाट काठमाडौँ पस्दा उनी एक्लै थिएनन्, साथमा उनका नौ वर्षीय भाइ मोहन थिए । गाउँमा जग्गाजमिन केही थिएन, आमा–बा सुकुमबासी । सपनाको सहर काठमाडौँमा उनले सुरुमा गलैँचा कारखानामा काम गरे । पछि फोहोर व्यवस्थापन क्षेत्रमा लागेका कमलले अहिले ललितपुरको चापागाउँमा घर ठड्याएका छन् । कुनै बेला उनीसँग साइकल किन्ने पैसा थिएन, अहिले आफ्नै मोटरसाइकल र गाडी छ । कुनै बेला काठमाडौँमा उनी काम खोज्दै भौँतारिन्थे, आज उनले ३५ जना जतिलाई रोजगारी दिएका छन् ।

केही दिनअघि हामी बुढानीलकण्ठ नगरपालिका– १३, कपनस्थित कमलको कम्पनीमा पुग्दा प्लास्टिकका खातैखातबिच काम गरिरहेकी थिइन्, मकवानपुरकी आशिका घलानले । १२ कक्षाको परीक्षा दिएर बसेकी उनी कमलको कम्पनीमा दुई वर्षदेखि कार्यरत छिन् । पुरानो बोराबाट पुनः प्रयोग गर्ने डोरी बनाउने काममा उनी तल्लीन थिइन् । मकवानपुरकी बिरुमाया नेसुरले पनि यहाँ काम गरेको दुई वर्ष भयो । यस्तै, पहिले यहाँ फोहोरमैला व्यवस्थापनको क्षेत्रमा काम गर्ने मकवानपुर बकैयाका बाबुलाल सिंह अहिले यहीँ गाडी चलाउँछन् ।
कमलले औपचारिक शिक्षा कक्षा २ सम्म मात्र पढ्ने मौका पाएका थिए । परिवारको आर्थिक अवस्थाका कारण पढाइलाई अगाडि बढाउन नपाएका कमलले चालक बन्ने रहर पालेका थिए । यद्यपि समय र संघर्षले उनलाई फोहोरबाट मोहोर कमाउने बनायो ।
‘मेरो बुबाले नै यो काम राम्रो छैन, रोग लाग्छ, नगर भन्नुहुन्थ्यो,’ फोहोर व्यवस्थापन क्षेत्रमा काम गर्दै आएका कमल लामा घलान भन्छन्, ‘गाउँमा जाँदा पनि तिमी फोहोरमा काम गर्ने मान्छे भन्थे, राम्रो मान्दैनथे । तल्लो स्तरको काम भनेर हेला गर्थे ।’
काठमाडौँमा सुरुवाती दिनमा उनले चिनेकै दाइको पसलमा काम गरेका थिए । पछि मीतबुबा जगत घलानले उनलाई काम दिए, जहाँ उनले मासिक पाँच सय रुपैयाँ तलब लिएर गलैँचा बुन्थे । तीन वर्ष काम गरेपछि मीतबुबाले कमलको परिवारलाई मकवानपुरको गाउँमा जग्गा जोडिदिए । अहिले गाउँको त्यही जग्गामा उनको परिवारले आश्रय लिइरहेको छ ।
मीत बुबाको ऋण तिर्नकै लागि उनले बढी कमाइ हुने फोहोरमैला व्यवस्थापन गर्ने कम्पनीमा काम सुरु गरेका थिए । त्यहाँको कमाइले घर खर्च चलाउन मात्र ठिक्क हुन्थ्यो, बचत त्यति हँुदैनथ्यो । सात वर्षअघि ‘मेक्सिमेट’ नामक एक संस्थासँग मिलेर काम गर्ने मौका पाए । त्यहाँ फोहोर व्यवस्थापनको ठेक्का लिएर तीन वर्षजति काम गर्दा केही बचत भयो, अनि आफ्नै कम्पनी चलाउने निष्कर्षमा उनी पुगे । यसरी आजभन्दा चार वर्षअगाडि उनको कम्पनी दर्ज भयो, ‘एसएम कवाड’ । एक लाख रुपैयाँ लगानीबाट कमलले कवाड पेसामा हात हाल्दा सुरुमा आफन्त वा चिनजानका कसैले रुचाएका थिएनन् ।
जसले जसरी लिए पनि, नकारात्मक प्रतिक्रिया दिए पनि कमल आफ्नो कर्ममा लागिरहे । उनको कारखानामै पुगेर मेयरले समेत उनलाई सम्झाएका थिए— व्यवस्थित रूपमा काम गर्नुहोला, वरपर प्रदूषण फैलन नदिनुहोला । बिस्तारै समाजले पनि उनको कामलाई बुझ्दै गयो, मानिसहरुले उनलाई सम्मानको दृष्टिले हेर्न थाले । ‘हामीले बुझाउन सक्नुपर्ने रहेछ । स्थानीयवासीले बिस्तारै बुझ्दै जानुभयो,’ उनी भन्छन्, ‘अहिले म आफ्नो काममा सन्तुष्ट छु ।’
_51QT5DpfRW.jpg)
फोहोरमैला व्यवस्थापन क्षेत्रमा काम गर्दा अहिलेसम्म उनलाई कुनै रोग लागेको छैन । हरेक बिहान–साँझ उनले आफँै सरसफाइ गर्छन्, झाडु लगाउँछन् । काम गर्दा उनी र स्टाफहरूले मास्क, पन्जा लगायत सुरक्षा अपनाउँछन् ।
एसएम कवाडका संस्थापक कमलले निजी क्षेत्रबाट फोहोरमैला संकलन, व्यवस्थापन तथा पुनः प्रयोगका क्षेत्रमा काम गरेबापत विभिन्न संस्थाबाट सम्मानित भइसकेका छन् । केहीअघि युरोपियन युनियनको आर्थिक सहयोगमा क्रियसन नेपालद्वारा ग्रिनसिफ्ट परियोजना सञ्चालनमा आएको थियो । यसै परियोजना अन्तर्गत निजी फोहोरमैला उद्यम तथा अपसाइक्लिङका लागि ‘एसएम कवाड’ उत्कृष्ट ६ कम्पनीभित्र छनोट भयो । जसबापत ‘एसएम कवाड’ले नगद २० लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ । प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन, चक्रीय अर्थतन्त्र र वातावरणीय दिगोपनाका लागि गरेको अनुकरणीय र प्रेरणादायी कामका लागि युरोपियन युनियन र क्रियसन नेपालले एसएम कवाड र कमल लामाको कामलाई धन्यवाद व्यक्त गरेको थियो ।

यो अनुदान पाउनुमा कमलकी छोरी मुनाले उनलाई यस काममा सहयोग गरेकी थिइन् । आफ्नो कामको मूल्यांकन भएकामा उनलाई अत्यन्त खुसी लागेको छ ।
प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापनका क्षेत्रमा ठुलो सम्भावना रहेको बताउँछन् कमल । उनका अनुसार कामलाई सानो वा ठुलो रूपमा हेर्नुहुँदैन । यस क्षेत्रमा सम्भावना निकै ठुलो छ । आफूले हात हालेको कामप्रति उनी सन्तुष्ट छन् । त्योभन्दा खुसी छिन् आमा लालकुमारी । बुबा रत्नले यो धर्ती छोडिसके ।
फोहोरमैला, कवाडको क्षेत्रमा काम गर्न चाहनेहरूलाई कमल हौसला दिन्छन् । यस क्षेत्रमा आर्थिक रूपमा राम्रो कमाई हुने र प्रशस्त सम्भावना भएको उनी बताउँछन् । कसैलाई आवश्यक पर्दा सल्लाह, सुझाव दिन आफू तयार रहेको उनी बताउँछन् ।
प्रतिक्रिया