शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बेनीका तीन वटा धार्मिकस्थल जोड्ने सडक स्तरोन्नति सुरु

आइतबार, ०४ साउन २०८२, २३ : १७
आइतबार, ०४ साउन २०८२

सारांश

  • म्याग्दीको बेनी नगरपालिकामा गलेश्वर, पुलाश्रम र जगन्नाथ जोड्ने सडक स्तरोन्नति सुरु गरिएको छ।
  • गण्डकी प्रदेश सरकारले ३ करोड ५९ लाख ९८ हजार बजेटमा सडक स्तरोन्नति गर्न लागेको छ, जसले स्थानीयलाई लाभ पुर्‍याउनेछ।
  • यो सडक स्तरोन्नतिले मुक्तिनाथ जाने तीर्थयात्री र स्थानीय बासिन्दालाई सहज बनाउनेछ।

म्याग्दी । जिल्लाको बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नति गर्न सुरु गरिएको छ । गलेश्वर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार हो भने पछैमा हिन्दू धर्मग्रन्थ रामायणको पात्र रावणको जन्म भएको र परापूर्व कालमा ऋषि मुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए । जगन्नाथमा तत्कालीन पर्वत राज्यका राजा दिलीप बम मल्लले बनाएको शिखर शैलीको मन्दिर छ । 

म्याग्दी हुँदै मुस्ताङ जाने तीर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथमा भित्र्याउने, बसाइँ लम्बाउने र स्थानीयवासीको सहजताका लागि गण्डकी प्रदेश सरकारमार्फत गलेश्वरबाट पुलाश्रम जगन्नाथ भएर बेनी बजार जोड्ने सडक स्तरोन्नति गर्न थालिएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए । 

“गलेश्वरस्थित बेनी–जोमसोम–कोरला खण्डलाई फराकिलो पार्ने, ग्रेड र घुम्ती सुधार गर्ने, नाली, पर्खाल निर्माण र ढलान गर्ने योजना छ”, उनले भने, “अहिलेको ठेक्काबाट गलेश्वर–काउलेगौँडा क्षेत्रमा स्तरोन्नति हुनेछ । बाँकी खण्डमा स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गर्न प्रदेश सरकारमा पहल गरेका छौँ ।”

गण्डकी प्रदेश सरकारले रु तीन करोड ५९ लाख ९८ हजार बजेटको स्रोत सुनिश्चित गरेको उक्त आयोजना निर्माणका लागि बिबिपीएल बिएस डिएस धौलागिरि छनोट भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता भएको योजनामार्फत बेनी–९ मा ढलान र ग्राभेलसहित स्तरोन्नति हुने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए । उनका अनुसार तीन सय मिटर ढलान र एक हजार ७०० मिटर ग्राभेलसहित स्तरोन्नति हुनेछ । 

गत असारमा सम्झौता गरेको ठेकेदार कम्पनीले काउलेगौँडा–कोसेपानी क्षेत्रमा डोजर परिचालन गरेर सडक फराकिलो बनाउने काम थालेको छ । यो सडक सम्पन्न भएसँगै बेनी–९, १०, रघुगङ्गा गाउँपालिका–५, ६ र ८ नं वडाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।   

यसअघि बेनी नगरपालिकामार्फत गलेश्वर–काउलेगौँडा क्षेत्रमा करिब दुई किमी सडक स्तरोन्नति भएको थियो । गत कात्तिकमा दिवङ्गत भएकी गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले धार्मिकस्थल गलेश्वर, पुलाश्रम र जगन्नाथ जोड्ने यो सडकलाई बहुवर्षीय ठेक्का आह्वानका लागि प्रदेश सरकारसँग प्रस्ताव गरेकी थिइन् ।  

बेनी–पाखापानी सडकको नेप्टेचौरबाट काउलेगौँडा र किराखोरबाट तीनमाने हुँदै पछैतर्फ पनि प्रदेश सरकारमार्फत विभिन्न ठाउँमा ढलान भएको छ । प्रदेश सरकारमार्फत गत वर्ष स्रोत सुनिश्चितता भएको रु २० करोड बजेटबाट बेनी–पाखापानी सडकअन्तर्गत बेनी–९ को किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानी जोड्ने चार किमी सडक स्तरोन्नति भइरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले जानकारी दिए । 

म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हुँदा बेनी–पाखापानी सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले रु चार करोड बजेट विनियोजन गरेर रु २० करोडको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको थियो ।  

बेनीबाट किराखोरसम्मको सडक स्तरोन्नति गरेको बेनी नगरपालिकाले बेनी–पाखापानी सडकअन्तर्गत वडा नं ९ को वडा कार्यालयबाट गिठीनी पात्लेखेत हुँदै रघुगङ्गाको झिँ जोड्ने सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप