निर्गमको नियतिले निचोरिएको वर्तमान
गतिशीलता मानव सभ्यताको विशेषता हो । हामी नित्य यात्रामा छौँ । नवीन खोजमा रमाउँछौँ । हिजोभन्दा आज फरक चाहन्छौँ । जे प्राप्त छ, त्यसमा स्थिर बसिरहन सक्दैनौँ । अझ् नयाँ अझ् नयाँको खोजमा दगुर्छौं । हिजो र आजलाई छाडेर भोलिको अझ परको यात्रामा उत्साही हुन्छौँ । नयाँपनमा सदैव नतमस्तक हुने मान्छे हिजो बेँसीबाट लेकतिर उक्लिन विवश थियो । जोगिनु थियो, उसलाई औलोको महाप्रकोपबाट । तराई खाली थियो शिखरभरि । बिस्तारै औलो अलप भएपछि हृदयभरि डाँडा बोकेर झर्न थाले मानिसहरू बेँसीतिर । पातलो हुँदै गयो डाँडाकाँडा मानव बस्तीले । शीतल डाँडाहरू छाडेर ओर्लिएका पाइतालाहरू बढ्दै गएपछि भरियो तराईका गरा–गरा ।
खोरिया फाँडेर बिस्तारै निर्माण हुँदै गए तराईका फराकिला फाँटहरूमा नयाँ नयाँ गाउँहरू । गतिशीलताको नियम लागु भएपछि खोरिया सदैव खोरिया मात्र रहेन । गाउँको सुन्दरतामा हरायो खोरियाको अस्तित्व । गाउँमा मात्र स्थायी भएर खुसी रहन सकेन मान्छे । बिस्तारै ऊ आफ्नो प्यारो गाउँ छोडेर सहर पस्न थाल्यो ।
सहर हुँदै ऊ मुगलान भासिन थाल्यो । देश–विदेश चहार्न थाल्यो । यो क्रम अब झन् तीव्र रूपमा फैलिँदो छ । अझ भन्यौँ डरलाग्दो गरी उर्लेको छ इच्छा, उपलब्धि र आवश्यकताको अगस्ति ।
हिजोको आधारभूत आवश्यकताले कायापलट गरेको छ । हिजोको मूल्य–मान्यता बासी हुँदै छ । हिजो सन्तानलाई साक्षर बनाउन पाउँदा कुबेर भएका पिता, आज डिग्रीको माला लगाउन पाउँदा पनि मरुभूमिको निस्सारतामा आफूलाई डुबाउँदै छन् । हिजो एसएलसी पास गर्दा अभिभावकको मुखमण्डलमा सहस्र सूर्य उदित हुन्थ्यो । सीमित उपलब्धिमा पनि खुल्थ्यो, सम्भावनाका अनेकौँ द्वार । निराशाको कालो बादल परपरसम्म मडारिँदैनथ्यो । आँखाभरि फुल्न आउँथे सन्तुष्टिका अनेकौँ मगमगाउने फूलहरू । पिताको निश्छल आँखामा सफलताको सागर पौडिन्थ्यो । सरलता, सन्तुष्टि, शान्तिको त्रिवेणीमा नित्य नुहाउन छाड्दैनथ्यो समय तर आज अतृप्तिको भुमरीमा हराएको छ सम्भावनाको सुन्दर समय ।
आफ्नै आँगनमा रोपेका सुन्दर सपना टुक्रा–टुक्रामा समेट्नुपर्दैनथ्यो । सन्तानलाई लोकसेवाको आनन्दी ढोकाभित्र छिराउन पाउँदा धन्य सम्झने तिनै माता र पिता आज मातृभूमिमा आफ्ना सन्तानको सपना उमार्न चाहँदैनन् । चिल्ला पात भएका सुन्दर बिरुवाहरू सारिँदै छन्, पराईको अपरिचित फूलबारीमा । कलिला फूल मात्र होइन सगरमाथा बोकेर सगरमाथाकै यात्रा गर्ने बलिष्ठ हात–पाखुरा पनि चलायमान छन् उष्णताको निरस भूगोलमा । हुर्किंदै गरेका ती सम्भावनाका पाइताला केही समय आफ्नै आँगनमा अडिन खोज्दा पनि पीरको पहाड खस्छ अभिभावकको छातीमा । उड्न र उडाउन नपाउँदा आँखा नउघ्रेका कलिला बचेरा मात्र होइन, फराकिलो दृष्टि बोकेका अभिभावक पनि अभागी ठान्न पुग्छन् आफूलाई । घर छाड्ने संस्कृति अब नौलो रहेन । निर्गमको खुला मैदानमा अनिश्चितताको आकाश ओढेर हामी उभिएका छौँ ।
सरलता, सन्तुष्टि र सहयोगमा हाँसेको सुन्दर मान्छे आज यन्त्र बन्दै छ । कस्तो विडम्बना, नवीनता ओढ्ने क्रममा मानवबाट मानवता हराएको चालै पाएन प्रबुद्ध मान्छेले । घर–आँगन खाली पारेर मृगतृष्णाको खेलमा रमण गर्दै छ । खेत–खलियान बाँझो पारेर तासको घरमा हाँस्दै छ । यी तमाम दृश्य देख्दा दुख्छ संवेदनशील हृदय । देखिन्छ निर्गमको लहरमा मातृभूमि छाडेर उर्लेको पलायनी मान्छेको भीषण बाढी । साँच्चै बाढीले केही देख्दैन । के युवा के वयस्क देशमा नबस्ने भूत सवार छ ।
एयरपोर्टको भीडले हामीलाई यथार्थको ऐना छर्लङ्ग देखाउँछ । यसै सन्दर्भमा गोकर्ण मल्ल उभिएका छन् एयरपोर्टमा । देख्छन् देश छोड्नेहरूको हुल र पिरोलिन्छन् । पलायनको डरलाग्दो बाढी थामिने कुनै छेकछन्द नदेखेर आफ्नी श्रीमतीसँग गुनासो पोख्छन्, ‘हाम्रा युवा सबै यसरी झन् बिदेसिने भए’सि हाम्रो देशमा हरेक बिहान निराशाबाहेक अरु नउदाउने भयो ।’ यही विचारको तरङ्गमा गोकर्ण मल्लले निर्गम उपन्यास हामी माझ लिएर आएका छन् । उत्प्रेरणाकी खानी आफ्नी श्रीमतीको वाणीलाई सार्थक तुल्याएका छन् । नमन छ, यस्ती सहृदयी र सहयोगी धर्मपत्नीलाई ।
उपन्यास पढेपछि म पनि सोचमग्न भएकी छु । अस्ति बाढीले मितेरी पुल भाँचियो । बाढीले बगायो मान्छेको सुन्दर बस्ती तर एउटा बलियो आशाले दीर्घ श्वास फेर्छ, ‘बाढी क्षणिक हो । पुनः बन्छ मितेरी पुल । पुनः बन्छ सडक तर देश छाडेर जाने ऊर्जावान् जनशक्तिलाई बगाउने र अरूकै भूमिलाई उर्वर पार्ने विनाशकारी बाढी हाम्रो देशमा कहिले थामिन्छ ?
यसै मेलोमा आज म निकै बहकिएकी छु । लेख्ने कुरा छाडेर कुराको पोयो लामै बाटेँ कि क्या हो ? मलाई माफ गर्नुहोला । अब विलम्ब नगरी म पुस्तकको चर्चा गर्नेछु । गोकर्ण मल्लद्वारा लिखित नवीनतम उपन्यास निर्गम भर्खरै बजारमा आएको छ । रत्ननगर वाङ्मय प्रतिष्ठान रत्ननगर नगरपालिका, चितवनले प्रकाशन गरेको यो कृतिमा देशको यथार्थ छायाचित्र छ । १७२ पृष्ठमा विस्तारित उपन्यासको भूमि नेपालदेखि अमेरिकासम्म फैलिएको छ । पात्र, परिवेश, स्थान, संवाद र समय बडो सान्दर्भिक छ । उपन्यासमा कल्पना छैन । देश, समाज र मनोविज्ञानको यथार्थ चित्रण छ । ग्रामीण परिवेशले कथाको भूगोलमा आकर्षण थपेको छ । उपन्यासमा सिङ्गो देश, समाज र विश्व अटाएको छ ।
एयरपोर्टको भीडले हामीलाई यथार्थको ऐना छर्लङ्ग देखाउँछ । यसै सन्दर्भमा गोकर्ण मल्ल उभिएका छन् एयरपोर्टमा । देख्छन् देश छोड्नेहरूको हुल र पिरोलिन्छन् । पलायनको डरलाग्दो बाढी थामिने कुनै छेकछन्द नदेखेर आफ्नी श्रीमतीसँग गुनासो पोख्छन्, ‘हाम्रा युवा सबै यसरी झन् बिदेसिने भए’सि हाम्रो देशमा हरेक बिहान निराशाबाहेक अरु नउदाउने भयो ।’
यहाँ चिन्तन छ, विचार छ, परिवार छ, संस्कार र संस्कृति छ, वातावरण छ, पर्यावरण छ, प्रकृति छ, विनाश छ र विज्ञान छ । साँच्चैभन्दा समयको शाश्वत शंंखनाद छ । उपन्यासको विषय मानस पिताको निगाहमा अमेरिका पढ्न गएको शिवनाथको कथा र व्यथा छ, अमेरिकन युवतीको साथ र सहयोग छ । नेपाल आगमन र निर्गमन छ । देशमा केही गर्छु भन्ने सपना देखेको केटो कसरी राजनीति, प्रशासन, समाजको अव्यवस्थामा फस्छ र ऊ पुनः अमेरिका फर्किन्छ भन्ने मुख्य कथामा अनेकौँ सन्दर्भ जोडिन आएका छन् । विभिन्न घटनालाई पात्रहरूमार्फत बडो विश्वसनीय तवरले स्पष्ट पारिएको छ ।
शुभारम्भका पाइला लेखेर आख्यान जगतमा आफ्ना अनुभवी पाइला राखेका गोकर्ण मल्लको कलममा वर्तमान समय बडो स्पष्टसँग गुञ्जिएको छ । सामाजिक यथार्थको धरातलमा मल्लको नवीन कृति मुस्कुराएको छ । देश छोड्नेहरूको यथार्थ कथाले पीडा दिन्छ । राजनीति र प्रशासनको कालो बादलभित्र युवाहरू निसास्सिएको तितो सत्य उद्घाटित भएको छ । राजनीति र प्रशासनबाट निस्किएको निसास्सिने पीडाको मुस्लो हृदयमा बोकेर देश छाड्न विवश छन् आजका युवा ।
_GXsd0lXftg.jpg)
हृदयमा आफ्नो देश, गाउँ र परिवारलाई सजाएर वेदनाका अनेकौँ छालमा हुत्तिँदै उडेका छन् । बाआमाहरू आफ्नो काखमा हुर्किएका सन्तानहरू पुनर्गमनको धमिलो आकाशमा उडेको देखेर मनको गहिरो घाउमा मलम लगाउन अभ्यस्त हुँदै भन्छन्, ‘बचेराको प्वाँख पलाएपछि उडेको त तिमीले देखेकै त छौ नि बुढी । तिम्रो छोरोले धेरै कुरा जानिसकेकाले धर्तीमा हिँड्न छाडेर आकाशमा उड्न खोज्दै छ । अब म उसलाई केही भन्ने पक्षमा छैन र केही भन्दिनँ बुढी... (पृष्ठ ३४ )।’
मल्लको कथामा समाजको बदलिँदो स्वरूप छ, सांस्कृतिक झट्का छ । नेपाली युवा आफ्नी मायालुले, अरूसँग पेपर म्यारिज गरेको देखेर तिल्मिलाएको छ । जब कि अलि अगाडि आमालाई परिवर्तनको पाठ सिकाउँछ तर पनि ऊ कसैसँग आफ्नी मायालुलाई बाँड्न सक्दैन । यसै सिलसिलामा उपन्यासकारले देशको पूर्वाधार विकास, प्राकृतिक विपदको अवस्थालाई चित्रण गर्दै जीवन दर्शनसँग पात्रहरूलाई जोड्दै लगेका छन्, ‘त्यसको शिरतिर पहिलेदेखि नै ठुलो गर्जनका साथ मुसलधारे पानी परेको कारणबाट उर्लेर आई फट्के नै बगाएको अवस्था थियो । ऊ खोलाको डिलैडिल हिँडेर अलि तलबाट तर्न ढुङ्गामा टेक्न खोज्दाखेरि चिप्लेकोसम्म त थाहा थियो उसलाई... (पृष्ठ ५२ ) ।’ यो प्रसङ्गमा उपन्यासकार नेपालको ग्रामीण भेगमा जनताहरूले भोग्नुपरेको कठिक यात्राको वर्तमान अवस्थालाई उजागर पार्छन् । हरेक वर्ष बाढी पहिरोले नित्याउने विनाशको जीवन्त चित्रण गर्न सफल भएका छन् ।
त्यसैगरी उपन्यासकारले यहाँ सम्बन्धको फराकिलो आकाश देखाएका छन् । दर्शनको जीवन्त दृश्य छ । प्रकृति, गुरु र आमाबाको मुखबाट जीवन जिउने सूत्र सजाएका छन्, ‘आफ्नो साथी को, कहाँ र कहिलेसम्म हुन्छ भन्ने कुरा मान्छेको वशमा हुँदैन किनकि त्यो कुरा अदृश्य शक्ति वा दैवको इच्छा अनुसार हुन्छ । कहिले आफ्नै मनमा नकारात्मक भाव आएर त कहिले साथी ठानिएको मनमा नकारात्मक भाव पैदा भइदिनाले वा अकस्मात् आइपर्ने घटनाले पनि त्यस्तो अप्रिय घटना हुन जान्छ’, (पृष्ठ ५८) ।
उपन्यासमा प्रकृति र पर्यावरणमा मोहित पर्यटकहरूको आशालाग्दो आगमन छ, जडिबुटीहरूको महत्त्व र प्रयोग छ, प्राकृतिक विपद्ले निम्त्याएको कहर छ, रङ्गभेदको डरलाग्दो मानसिकता छ, जातीय विभेदको पर्खाल भत्किएको छ । धर्म, संस्कृति, भाषा अब विश्वव्यापीकरणको फराकिलो दायरामा हराउँदै जाने परिवेश निर्माण हुँदै गएको अवस्था समेत उपन्यासमा चित्रित छ ।
देशको दारुण अवस्थालाई चित्रण गरिएका गम्भीर साहित्य यो वर्ष जन्मिएका छन् । पचास वर्षअघि मुगलान लेखेका गोविन्दराज भट्टराईले पचास वर्षपछि पनि मुगलानको कथा लेख्दै छन् । मेरो मन केहीबेर टक्क अडिएर सोच्न विवश भयो, ‘नेपोलियम बोनापार्ट भन्छन्— विश्वले दुःख भोग्नुको कारण खराब मानिसको आतङ्क नभई असल मानिसको मौनता हो ।’ तर पचास वर्षअघि मौनता तोडेका गोविन्दराज भट्टराईको आवाजले किन केही काम गरेन ? के असल मान्छेको आवाज नसुन्ने युगमा सायद म जन्मिएकी हुँ ? पुनः नयाँ मुगलान आएको छ के असल मान्छेको आवाज सुन्छ त अबको समय ?
सकारात्मक सोच्न हामी अभ्यस्त हुनैपर्छ । म आशावादी छु, हामी हर्षको समयमा छौँ । विश्व हाम्रो आँगनमा छ, हामी स्वतन्त्र छौँ । हामीसँग आवाजको शक्ति छ, हामी प्रविधिको युगमा छौँ । आशा गरौँ, असल मान्छेहरूले मौनता तोडेको समय छ । देश रित्तिएको यथार्थ कथा लिएर डाक्टर गोविन्दराज भट्टराईदेखि गोकर्ण मल्लसम्मले आवाज बुलन्द गर्दै छन् । त्यस्तै परदेशमा बसेका दाजु गुरुङ निरजोयामार्फत देश छाड्नेको व्यथा र कथालाई आवाज दिन्छन् गोकर्ण । फेरि पनि गोकर्णको ‘निर्गम’मार्फत मौनता मजाले तोडिएको छ ।
यहाँ मल्लले देशको राजनीति र प्रशासनको शाश्वत चित्र देखाएका छन् । देशमा सुशासन मात्र भए कोही भासिँदैनन् अरूको देश । देशमा अवसर नभएर उडेका छन् हाम्रा युवाहरू । पात्रलाई लेखकले यसरी बोलाएका छन् कि जहाँ आम युवाहरूको हृदयको व्यथा सुनिन्छ, ‘म मेरो योग्यता अनुसार यहीँ नै जागिर पाएँ भने बुबाआमाको काखमा र दाजुभाउजूको साथमा बस्छु नि ! पाए यतै विवाह गर्छु, नपाए उतैको कुरा बुझ्ने इमानदार मिलनसार साथीसँग विवाह गरुँला ! अर्को कुरा पनि अहिले नै भन्न चाहन्छु कि यो संसार त्यसमा पनि यो नेपाल हो, आफूले अहिले देखेको बाटो रातभरिमा भत्किसकेको हुन्छ, आफूले पाइन्छ भनेर बुक गरेर राखेको कुरा अर्कोले लुटेर लगिसकेको हुन्छ । अगाडि मित्र हुनेहरू थाहा नपाई अनाहकमै महाशत्रु बनिसकेका हुन्छन्, आफू भलो त जगत् भलो भन्ने तपाईंहरूले देखे–भोगेको जस्तो जमाना हैन । भोलिको भर हुँदैन । कसबाट षड्यन्त्र भइसक्छ थाहापत्तो हुँदैन’, (पृष्ठ ९४ ) ।
कस्तो विडम्बना, हिजो विश्व जगत्ले वीर गोर्खाली भनेर चिन्थ्यो । दुर्भाग्य नै भन्नुपर्छ, इमानदार नेपाली भन्ने पहिचान मेटिँदै छ । आज एक नेपालीले अर्को नेपालीलाई विश्वास गर्ने आधार भत्किँदै गएको डरलाग्दो अवस्थामा हामी बाँच्नुपरेको छ । विश्व समुदायले पनि अब शङ्काको आँखा उघार्दै छ ।
युवाहरू पलायन हुनुमा बेरोजगारी मात्र होइन, सामाजिक मूल्य–मान्यताले पनि लखेट्दै छ देश बाहिर हाम्रा युवाहरूलाई, ‘ऊ वर्षभरि नै आफ्नो गाउँपालिका, अन्य नगरपालिकाहरू, निर्माण कम्पनीहरू आदिमा धायो, निवेदन दियो, लोकसेवाको परीक्षा दियो तर दिनु मात्रै भयो उसलाई । कहीँ वैकल्पिक उम्मेदवारमा नाम निस्कियो । कतै निस्किएन । त्यस्तो किन भयो भनी बुझ्दा आफ्नै गाउँपालिकाले अमेरिकामा पढेको केटो धेरै समय बस्दैन भनेर गाउँप्रमुखको भान्जो छनोट गरेछ । नजिकको नगरपालिकाले स्वदेशी प्रोडक्सनलाई प्राथमिकता दिने भनेर पार्टीको कार्यकर्तालाई छानेछ; अन्य नगरपालिकाहरूले विषय अलि मिलेन भने रे; रोजगारदाता संस्था पार्टीसँगको आबद्धताको पत्र नभएकाले उसलाई पास गराउन गाह्रो भयो रे; कतै सिफारिस नपुगेर असफल हुनुपरेको रे; कतै प्रश्नपत्र पहिल्यै नै प्रतियोगीलाई लिक गराइएबाट उसको प्राप्ताङ्क कम भएर असफल भएको रे; कतै नजराना नपुगेर त कतै आवश्यक प्रक्रिया नपुगेका कारण त्यसो हुन गएको रे भन्ने सुनायो ।
हरेक बिहान भात खाएर जागिर खोज्न आशा लिएर घरबाट जान्थ्यो तर घर रित्तै आउँथ्यो सधैँ’ (पृष्ठ ९६) ।
युवा किन देश छोड्न विवश छन् भन्ने कुरालाई उपन्यासकारले बडो मिहिन ढङ्गबाट उतारेका छन् । साँच्चै भ्रष्टाचार, नातावाद कृपावादको घिनलाग्दो यथार्थ देखिएको छ ।
अर्को महत्त्वपूर्ण कुरा आफ्ना सन्तान पलायन भएर निस्सार भई एक्लै बस्दा पनि दम्भको पहाड उचाल्न छाड्दैन सेतै केश फुलेका हिमालहरू । अरूका सन्तान देशमा बस्दा अयोग्य भएर बसेका हुन् कि भन्ने गलत मानसिकता पनि निर्माण हुँदै गएको छ । विदेश जाने लहरमा अभिभावकहरू पनि सम्पन्नताको पगरी लगाउन चुक्दैनन् । अर्को दुःखलाग्दो अवस्था सिर्जना हुँदै छ । विदेश जानेहरूको पनि वर्ग निर्माण हुँदै छ । जातीय विभेद भत्किँदै गरेको अवस्थामा कसका सन्तान को को कुन कुन देश गएका छन् । देश अनुसार बिदेसिनेहरूलाई ए, बी भनेर समाजले वर्ग निर्धारण गर्दै छ यो निकै चिन्ताको विषय हो । यस्तो मानसिकताले समाजमा अर्को डरलाग्दो खाडल खन्दै छ ।
अमेरिका, क्यानडा, अस्ट्रेलिया जानेको मान–सम्मान बेग्लै हुने कतार, साउदी, मलेसिया, कोरिया जानेको वर्ग र जात नै अर्कै हुने सोच कति डरलाग्दो गरी आएको छ । यो सोच अझ कथित बौद्धिकहरूमा भरिँदै छ । उपन्यासकारले त्यो कुरालाई पनि सूक्ष्म रूपमा यहाँ देखाएका छन् ।
सतिभा पात्रलाई रङका आधारमा बिहेको प्रस्ताव गर्नु । त्यो किसिमको सहयोग गर्नु । आनन्दको विषय पक्कै होइन, गोरो रङसँग कति नजिक हुन खोज्छ एउटा कालो पीडित आत्मा । केटीको शरीरलाई छुन पाउने त कुनै छैन, त्यसमाथि सर्तको यति लामो लिस्ट छ । त्यो किसिमको सर्त राखेर कसैले कसैलाई आफ्नो मिर्गौला दिनु के प्रेम हो त ! कि आशक्ति हो ? मलाई त यस्तो लाग्यो, विभेदले निर्माण गरेको पागलपन हो ? त्यो हदसम्म गएर गोरो रङ प्राप्त गर्ने मानसिकता कति डरलाग्दो छ । त्यो मनोविज्ञान भोलि विदेश जाने वर्गभित्र उठ्न थाल्यो भने ? के होला हाम्रो समाजमा ?
अर्को राम्रो पाटो भनेको गोकर्ण मल्लले नारी पात्रलाई सम्मान गरेका छन्, सतिभा हुन् या पार्वती उनीहरूको अस्तित्वलाई जोगाएका छन् । हिजो तारानाथ शर्माको नेपालदेखि अमेरिकासम्ममा अमेरिका बस्ने केटा भनेर आफ्नी कलिली छोरी दिने चलन आज पचास वर्षपछि पनि हाम्रो समाजमा उस्तै–उस्तै छ । उपन्यासकारले यहाँ आफ्नी बाल्यकालकी साथीको प्रेमलाई छाडेर विदेश भासिएको शिवनाथले पछि सतिभाप्रति शङ्का उत्पन्न हुँदा पुनः पार्वतीलाई बिहेका लागि माग्न जाँदा जुन किसिमले नारीको स्थान निर्माण गरेका छन्, म दङ्ग परेँ । सहअस्तित्वको आवाज बुलन्द गरी उठेको छ उपन्यासमा । नारी अब जतिवेला मन लाग्यो उतिवेला उठाएर भिर्ने वस्तु मात्र होइनन् पुरुष जतिकै सामथ्र्यवान् छन् । छोरी पनि छोरासरह अध्ययन गर्न देश–विदेश जान सक्छन् । आफ्नो पहिचान निर्माण गर्न सक्छन् भन्ने सन्देश बडो शालीन तवरले प्रस्तुत गरेका छन् । पार्वती पात्रलाई अन्तिमसम्म पुग्दा लेखकले जानेर हो या नजानेर बिर्सिएका छन्, जुन कुरा मलाई खड्कियो । पार्वतीको अमेरिका पुगेपछिको जीवन थोरै देख्न पाएको भए यी आँखा धन्य हुने थिए ।
निर्गम हातमा परेपछि मेरो मस्तिष्कमा एउटा विम्ब चम्किलो भएर उदाएको थियो । लाग्यो, गोकर्ण मल्ल त हनुमान पो रहेछन् । हनुमानको गलत अर्थ पक्कै नलगाउनु होला । हनुमान यसर्थमा भनेकी हुँ कि हनुमानले आफ्नो आकार आफ्नो इच्छा अनुसार प्रकट गर्न सक्थे । विराट्मा अति भयंकर रूप धारण गर्न सक्ने र सूक्ष्मतामा अति सूक्ष्म भएर प्रकट हुने दिव्य गुण थियो हनुमानमा । ठ्याक्कै गोकर्ण मल्ल पनि उस्तै लाग्यो । शुभारम्भका पाइला देखेर मेरो सात्तो उडेको थियो, कति ठुलो आकारको कृति ! निर्गम देखेपछि म दङ्ग परेँ, पढ्दै गएँ, उपन्यासको भूगोल गोरखा जिल्लाको ग्रामीण परिवेश छ । जसलाई चित्रात्मक किसिमले देखाएका छन् । कथाहरू घटनाप्रधान छन् । चलचित्रको राम्रो स्रोत छ यो उपन्यासमा ।
प्रकृति, पहाडी जनजीवन र जडिबुटीको अध्ययन अनुसन्धान गर्ने रुथ कार्टर शिवनाथको घरमा आएका छन् । नेपालीहरू विदेश पस्ने पुरानो ढोका गोकर्ण मल्लले उघारेका छन् । विदेशीहरू नेपाल घुम्न आउने परम्परा आजको होइन । यसरी प्रकृति हेर्न आएका विदेशीहरू नेपाली बालबालिकालाई धर्मपुत्र तथा धर्मपुत्री बनाएर आफ्नो देशमा लैजाने परम्परालाई शिवनाथ पात्रले बोकेको छ । यहाँ विदेशीले चिनेको हाम्रो प्रकृतिलाई स्पष्टसँग देखाएका छन् ।
अन्त्यमा नठगीभन्दा विषय उम्दा हुँदाहुँदै पनि मलाई शैलीले उतिसाह्रो तान्न सकेन । सरलताभित्र सरसता कमै भेटिन्छ । कला पक्ष अलि शिथिल नै छ । तराईकी मान्छे, मिठा पान खान अभ्यस्त । यो उपन्यासमा मैले सादा पान चपाउनु प¥यो, त्यो पनि नजिकै थियो मिठा पान निर्माण गर्ने सम्पूर्ण सामग्री । मस्तिष्क रिँगायो, जब नेपाली साहित्यको कृति भनेर पढ्न थालेकी मैले अंग्रेजी र नेपालीको ठिमाहा साहित्य भेटेँ, म तिन छक्क परेँ ।
सोचेँ, के भाषाको मात्र अनुवाद हुन्छ होला र ! के भावको अनुवाद हुँदैन होला त ? मल्लले पात्रलाई स्थान दिएको स्पष्ट लेखेका छन् तर पात्रको भावनालाई लेख्ने नेपाली नै त हुन् नि ! अनि अमेरिकन केटीको ती भावलाई नेपाली भाषामै लेखेका भए कृति सुन्दर बन्ने थिएन र ? फेरि घोरिएँ, ‘मैले कसरी यहाँ प्रयोग भएका अङ्ग्रेजी शब्दलाई नराम्रो नै भनौँ भन्ने चिन्ताको रापमा रापिएँ ।
उपन्यासकारले स्पष्टीकरण पनि पात्रमार्फत नै दिएका छन् । पहिले सतिभालाई नेपाली बोल्न आउँदैनथ्यो र सोझै अङ्ग्रेजीमा बोलाए । रोमन लिपिमा मात्र नभई अङ्ग्रेजी अक्षरमै सतिभा बोलेकी छन् । यो प्रयोग हो कि भन्ने पनि मैले सोच्न पुगेँ तर नेपाली भाषामा देशभित्रैबाट बारम्बार प्रहार हुँदै आएको यथार्थबाट हामी परिचित नै छौँ । यति हुँदाहुँदै फेरि यस्ता किसिमका कृतिले कस्तो गति देला ?
अब विलम्ब नगरी बिट मार्छु ।
चाणक्य भन्छन्, ‘धनभन्दा उत्तम ज्ञान हो । कारण धनको रक्षार्थ व्यक्ति सदैव सचेत रहनुपर्छ तर ज्ञानले व्यक्तिको रक्षा स्वयं गर्छ ।’ अर्थको अर्थ सिकाएर आफ्ना कपाल पकाएका स्रष्टालाई मैले औँला देखाउनु पक्कै पनि न्यायोचित नहोला तर यो उमेरमा आएर धनभन्दा ज्ञानलाई प्राथमिकतामा राख्दै सरस्वतीको आराधनामा लागेका स्रष्टाप्रति सम्मान गर्दै आगामी दिनमा अझ सशक्त कृति आउन् भन्ने चाहना राख्दै आफ्नो कलमलाई यहीँ रोक्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण