सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सञ्चालनमा आयो ‎हुम्ला-मुगु जोड्ने बेलिब्रिज

बुधबार, १४ साउन २०८२, १९ : ४२
बुधबार, १४ साउन २०८२

‎‎सुर्खेत । हुम्ला र मुगुलाई सीधा सडक सञ्जालमा जोड्ने लोतीखोला बेलिब्रिज सञ्चालनमा आएको छ । 

मंगलबार एक विशेष समारोहबीच कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पुलको औपचारिक उद्घाटन गरे । यो पुलको निर्माणसँगै हुम्लाबाट पर्यटकीय स्थल रारा ताल, प्रदेश राजधानी सुर्खेत र पवित्र तीर्थस्थल कैलास मानसरोवरसम्मको यात्रा सहज बनेको छ । 

‎उद्घाटन समारोहमा बोल्दै पूर्व मुख्यमन्त्री शाहीले यसलाई एक ऐतिहासिक उपलब्धि बताए । ‎उनले भने, 'यो बेलिब्रिज उद्घाटन भएसँगै मुगुको सुन्दर रारा ताल, प्रदेश राजधानी सुर्खेत र लिमी लाप्चा हुँदै कैलास मानसरोवरसम्मको ढोका खुलेको छ ।' 

शाहीले यो पुलले हुम्लाको चंखेली गाउँपालिकाका स्थानीयलाई मात्र नभई समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । 

‎कर्णाली नदीमाथि निर्माण गरिएको यो पुल प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय, हुम्लामार्फत बनेको हो । ‎कार्यालयले कङ्ग्री निर्माण सेवासँग २०८१ मंसिर २३ गते सम्झौता गरी निर्माण अघि बढाएको थियो । 

‎करिब पाँच महिनाको छोटो अवधिमा निर्माण सम्पन्न भएको यो बेलिब्रिज ४ करोड ९८ लाख रुपैयाँको लागतमा बनेको हो । यसको लम्बाइ ४२ मिटर, उचाइ १० मिटर र चौडाइ ३.१५ मिटर रहेको छ । 

‎चंखेली गाउँपालिकाको वडा नम्बर २ र ४ लाई जोड्ने यो पुलले स्थानीयको दैनिक आवतजावतलाई सुगम बनाउनेछ ।‎ साथै, यसले जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्दै पर्यटन प्रवर्द्धन, व्यापार विस्तार र स्थानीय उत्पादनको बजारीकरणमा समेत उल्लेख्य सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप