ओलम्पिक स्वर्ण पदक विजेता लौराको पाकिस्तानमा पर्वतारोहणका क्रममा मृत्यु
सारांश
- जर्मनीकी ओलम्पिक स्वर्ण पदक विजेता लौरा डाहलमाएरको पाकिस्तानको काराकोरम हिमशृङ्खलामा आरोहणका क्रममा मृत्यु भयो।
- ५,७०० मिटरको उचाइमा ढुङ्गा खसेर च्यापिएपछि उनको मृत्यु भएको हो, उद्धार प्रयास असफल भयो।
- उनको इच्छाअनुसार, परिवारले शव हिमालमै राख्न अनुरोध गरेको छ र उद्धार कार्य स्थगित गरिएको छ।
इस्लामावाद । जर्मनीकी दुई पटककी ओलम्पिक स्वर्ण पदक विजेता बायथलन खेलाडी लौरा डाहलमाएरको पाकिस्तानको काराकोरम हिमशृङ्खलामा भएको पर्वतारोहण दुर्घटनामा मृत्यु भएको छ। उनी ३१ वर्षकी थिइन्।
सोमबार करिब ५,७०० मिटर उचाइमा पर्वतारोहण गर्दै गर्दा उनीमाथि ढुङ्गा खस्दा च्यापिएर मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। साथमा रहेकी आरोहण साथी मारिना इभाले तत्कालै आपत्कालीन उद्धार टोलीलाई खबर गरेकी थिइन्।
घटनापछि जर्मनी र अमेरिकाबाट आएका पर्वतारोहण विशेषज्ञहरूको उद्धार टोलीले खोजी कार्य सुरु गरे पनि खराब मौसमका कारण उद्धार कार्य अवरुद्ध भएको थियो।
बुधबार डाहलमाएरको व्यवस्थापन कम्पनीले घटनाबारे जानकारी दिँदै २८ जुलाईकै दिन उनको मृत्यु भएको सम्भावना रहेको बताएको छ। डाहलमाएरको आधिकारिक इन्स्टाग्राममार्फत जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘उनी स्वयंले लेखेर छाडेका अन्तिम इच्छाअनुसार, यस्तो परिस्थितिमा अरूले आफ्नो ज्यान जोखिममा पारेर उद्धारको प्रयास नगरुन् भन्ने चाहना राखेकी थिइन्। त्यसैले उनका आफन्तहरूले पनि उनीको इच्छा अनुसार शव हिमालमै राखिनु पर्ने अनुरोध गरेका छन्।’
शव उद्धारका लागि गरिएको प्रयास २९ जुलाईको साँझमा स्थगन गरिएको हो। डाहलमाएरले २०१८ को प्योङच्याङ ओलम्पिकमा स्प्रिन्ट र पर्सुट दुवै स्पर्धामा जित हात पार्दै इतिहास बनाएकी थिइन्। पाँच वटा विश्व च्याम्पियनसिपमा उनले ७ स्वर्ण पदकसहित १५ वटा पदक जितेकी थिइन्। उनी सन् २०१९ मा प्रतिस्पर्धाबाट संन्यास लिएकी थिइन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण