उमेश अकिञ्चनका तीन कविता
१) सोल्टिनी सहर
यो गाउँको पुरानो गल्ली
तिम्रो सिउँदोको
टर्च बालेर
पुगुँ भन्थे
उमंगको अन्तरिक्ष
यो अरूणमाथि
ओछ्यान लगाउने घाम
निदाइरहेछ सधैँ
तितेपाती डाँडाको
सिरानी हालेर
यो एकलासको गाउँमा
कालो अक्षरको खेती
चकझैँ खिइँदै जाने
उमेरको मम्बत्ति सलेदो
भूगोल पढाउने सरको
पुरानो चस्मामा
पृथ्वी गोलो छ
कि ?
बदलियो परिभाषा
गोलो पृथ्वीमा
कहाँनिर बाङ्गिए
ई.सी.जी. जस्ता
आफन्त पाइतालाहरू
एउटा अनुत्तरित प्रश्न आइरहन्छ
आँखाको मोनिटरमा
बनेर दुर्लभ तस्बिर
कालो सुँगुरको पाठोलाई
चारो हालेर
ताराहरू गर्नको
त्यो जुनेली रात
थुन्सेमा बोकेको सेलरोटी
कठुवामा बोकेको जाँडझैँ
मिठा संयुक्त सपनाहरू
पुरानो भएछ सायद
सम्बन्धको किताब
तिम्रो ठुलो आँखाको
गाजलझैँ गाढा आत्मीयता
कर्कलाको पातमा लेखिएजस्तो
मान्छेको निरीह भाग्य
कुनै इलेक्ट्रोनिक मेसिनबाट
भरेका हरिया नोटभन्दा
सस्तो भएछ
गाउँले आँसु
यता मलाई
जिस्काएर गएजस्तो लाग्छ
सधैँ बहने
हावा
ढोल र झ्याम्टामा
नाचेको साकेवा सिली
मरूभूमिमा
हिँडिरहेको उँट सरह
घिसिरहेछु गाउँको धुलो बाटो
सोच्दै
नङको निबले लेख्छु भन्थ्यौ
हाम्रो
प्रेमको रक्तिम इतिहास
कुन पराइ मिनिक्युरमा
कैदी भए
तिम्रा मायाका नेलपोलिसहरू ।
जब तिमीले टेक्यौ
ममाथि
निरंकुश पाइला
मेरा सारा सपनाहरू
पुत्ला भएर जले
त्यही धुवाँमाथि
उडेर गयौ तिमी
सपनाको समुद्र सहर
म
आजसम्म
पुत्ला जलेको
कालो बाटो
सुनसान सुनसान हिँडिरहेछु
गमेर
कुन चुम्बकजस्तो
पाइला टेकेर पुगिन्छ
सोल्टिनी सहर ।
(कठुवा– जाँड रक्सी बोक्ने काठको सानो भाँडा । साकेवा– किरात राईहरूको महान पर्व ।)
००
२) मोनालिसा र मार्च ८
ओ ! इन्द्रेणी नायिका
सदियौँ कुजिएर
एउटा फोटो फ्रेममा
कति कुरिरहन्छौ
घाम र पानीको आगमन
म
दिन चाहन्छु तिमीलाई
नीलो आकाशमा
उड्दै गरेको चरा
तिमीले पोत्नुपर्छ मुस्कान समयको
तिमीले फेर्नुपर्छ परिभाषा सौन्दर्यको
तीव्र गतिमा आएर
हुँइकिएको बेपत्ता बतासले बोलेजस्तो
दिन चाहन्न
उधारो उपमा
जस्तो कि
‘रोपेको छु तिम्रो आँखामा
सपनाको संसार
छोपेको छु तिम्रो पछ्यौरीले
पीडाको कुरूप अनुहार
कोरेको छु तिम्रो हत्केलामा युग हिँड्ने गोरेटो
बरु
सम्झाउन चाहन्छु म
घरको चार दिवारभित्र
किन सीमित हुन्छौ
बटुल्दै
बगरमा टेकेका सम्झनाका डोबहरू
किन गनेर राख्छौ
एउटा मान्छेको उमेरभरि
कत्तिपटक अस्ताउँछ, घाम ?
अनि
हिँड्नु
छिमेकी दिदी नोरासँगै
मानिसहरूको भिडमा
एकजोर स्वतन्त्र पाइला
छाम्नु
चराले झैँ
हावामा मिसिएको स्वच्छन्द अनुहार ।
००
३) अक्षर इच्छा
फूलको पहाड बिसाएर जाँदै छु
यी लेख्दै गरेका कविताका पाना पल्टाएर
बहिरहनेछ बतास
सम्झनु
हावामा मिसिएको हुनेछ
मेरो रोकिएको आवाज
प्रेमले मलाई सम्झिनेहरूले
टाढा गएको साथीको याद सम्झिनु
हतारमा हिँडिरहेको यात्री
बाटोमा अलमलिन सक्छ
मैले माया दिन नसकेकाहरूले
एउटा रुखो अनजान यात्री
कुनै स्टेसनमा छुटेको सम्झिनु
जानुअघि
जिन्दगीले बुझ्न नसकेका प्रश्न
अधुरो छाडेर जाउँला
गतिशील पृथ्वीमाथि रोकिएको
एक जोर पाइला सम्झिनू
सङ्गीत साधक शान्ति ठटालको मखमली आवाज गुञ्जिरहनेछ
‘सम्हालेर राख, सँगालेर राख
फेरि फुल्ने हो कि होइन, जोबनको फूल’
स्मृतिको उही विशाल बाटो भएर ओइलिने
एक थुँगा घडीफूल
समयसँगै ओइलिएको सम्झिनू ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण