शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पत्रकार भेटघाट

कसैले माग्दैमा खुरुक्क राजीनामा दिन्नँ : झलनाथ खनाल

शनिबार, १७ साउन २०८२, १६ : ५७
शनिबार, १७ साउन २०८२

सारांश

  • झलनाथ खनालले राजीनामा दिन कसैले भने पनि नदिने बताएका छन्, पार्टी छाड्ने कल्पना नगरेको उनको भनाइ छ।
  • उनले पार्टी अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै पार्टी सञ्चालन गर्न नसक्नेहरू आफैँ बाटो लाग्न सक्ने बताए।
  • एमाले विभाजनको औचित्य पुष्टि हुन नसकेको विषयमा विवाद भएपछि खनाल र नेपालबीचको खटपट सार्वजनिक भएको हो।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कसैले आफ्नो राजीनामा माग्दैमा आफू खुरुक्क राजीनामा दिएर नहिँड्ने बताएका छन् । शनिबार काठमाडौँमा पत्रकार भेटघाट गर्दै नेता खनालले आफूले पार्टी छोड्ने कुरा कल्पना समेत  नगरेको बताए । 

‘विद्रोह गरेर बनाएको पार्टीलाई वैचारिक र सैद्धान्तिक रूपले सुदृढ गर्नुपर्नेछ । यसलाई त रूपान्तरित गर्नुपर्ने छ । यो पार्टीबाट भाग्ने, राजीनामा दिएर हिँड्ने त म कल्पना नै गर्दिन’, खनालले भने, ‘मलाई कसैले राजीनामा दे भन्दैमा म खुरुक्क राजीनामा दिएर हिँड्दिनँ ।’ 

नेता खनालले पार्टी अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै कसैलाई यो पार्टी चाहिएको छैन भने आफै हिँड्न सक्ने समेत बताए । ‘पार्टी सञ्चालन गर्न सक्ने क्षमता छैन, पार्टीमा बसेर काम गर्न सक्ने क्षमता छैन भने त्यस्ता मान्छे आफै बाटो लागे हुन्छ तर झलनाथ खनालले त्यस्तो काम जान्दैन’, खनालको भनाइ छ । 

नेकपा एमाले विभाजनको औचित्य पुष्टि हुन नसकेको भन्दै खनालले एक टेलिभिजनमा अन्तरवार्ता दिएपछि अध्यक्ष माधव नेपालले यदि त्यसो भए खनालले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका थिए । खनालले नेपाललाई जवाफ फर्काउँदै नेपालले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए । त्यसपछि दुई नेताबिचको खटपट सार्वजनिक भएको थियो ।

पत्रकार भेटघाटमा नेता खनालले यदि आफूले बोलेका वा लेखेका कुरामा समस्या छ भने पार्टी बैठक बोलाएर बहस छलफल गर्न सकिने समेत बताए ।

नेता खनालले माधव नेपालमा जस्तोसुकै सरकारमा जहिले पनि सहभागी हुने, वर्गीय हित विपरितका सरकारमा सहभागी भएर  आत्मसमर्पण गर्ने, चुनावमा पनि कांग्रेस लगायतसँग साँठगाँठ गर्दा समस्या भएको बताए । साथै उनले पार्टीमा आफूले वैज्ञानिक समाजवादको विचार अघि सारे पनि त्यो विचार र दृष्टिकोण नै पार्टीले सार्वजनिक नगरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप